सूचनाको शक्ति - The Power Of Information

        

अघोषित लोडसेडिङ्ग, गर्मीमा सास्ती

रीता लामा । दाङ्ग । एकजना ग्राहकले सामाजिक सञ्जालमा लेखे ‘अनियमित विद्युतले मेरो फ्रिजमा राखेको फलफुल कुहियो, यसको क्षतिपूर्ति कसले दिने ?’ अर्काले लेखे ‘झ्वाट्ट विद्युत आउने र जाने गर्दा विद्युत सट भएर बल्व फुट्यो कोठामा आगलागी भयो । खाट, पर्दा, सिरक डसना सबै जले । मानवीय क्षति भएन ।’

गर्मी सुरु भएसँगै यसरी दैनिकरुपमा अघोषित लोडसिडिङको सास्ती जनताले व्यहोर्नुपरेको छ । कहिले ‘लो’ त कहिले ‘हाइ’ भोल्टेजमा विद्युत आउँदा ग्राहकको विद्युतिय सामाग्रीमा नोक्सानी समेत पुगिरहेको छ, भने विभिन्न घटना घटिरहेका छन् । बुधवारमात्रै विहान ७ बजेदेखि साँझ साढे पाँच बजेसम्म विद्युत गयो । बीचबीचमा धिपिक्क, धिपिक्क विद्युत आउने बाहेक काम लाग्ने तरिकाले ५ मिटेन पनि विद्युत आएन ।

विहिवार पनि विहानदेखि साझँसम्म छिनमा आउने छिनमा जाने भैरह्यो । जसको कारण यो उखरमाउलो गर्मीमा ग्राहकहरुले नत फ्रिज, पंखा, एसीको प्रयोग गर्न पाएका छन् नत नियमित कामकाज गरेर दैनिकि चलाउन पाएका छन् । यस्तो प्रकारको अघोसित लोडसेडिङले उद्योग, कलकारखाना त मारमा परेकै छन । ल्याव, ग्रिल, फोटोकपि, फोटो स्टुडियो, डेरी उद्योग, छापाखाना, संचारमाध्यम समेतले व्यापार व्यवसाय गर्न पाएका छैनन् ।

विद्यालयमा हुने कम्युटर शिक्षा, सरकारी कार्यालयको नियमित काममा समेत बाधा पुगेको छ । होटेलहरुलाई ग्राहक राख्नै समस्या भैरहेको छ । घोराहीको एक किराना पसलका संचालकले विद्युत नआउँदा फ्रिज विक्रीको लागि राखिएको करिव २० लिटर दुध फाटेर नोक्सानी वेहोर्नुपरेको बताए । विद्युत नहुँदा नियमित विक्री हुने पेय पदार्थसमेत चिसो हुन नपाएपछि विक्री गर्न नपाएको उनको गुनासो थियो ।

अनियमित विद्युतले व्यापारीलाई मात्र होइन किसानहरु समेत मारमा परेका छन् । उत्पादनको लागि पर्याप्त सिँचाई गर्नुपर्ने भए पनि विद्युतकै कारण सिँचाइको लागि पानी तान्ने मोटर चलाउन नसक्दा समस्या भएको घोराही १८ मसिनाका रविलाल चौधरीले बताए । यस्तै दिउँसोको समयमा कम्युटर कक्षा संचालन गरिरहेका इन्सिच्युटहरुले समेत नियमित कक्षामा अवरोध आइरहेको बताएका छन् ।

अहिले जिल्लाको तापक्रम करिव ३८ डिग्री सेल्सिएस पुगेको छ । उस्तै परे दिउसोको समयमा घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन । तर विद्युत नहुँदा उम्सोको कारण कोठा वा अफिसभित्र थुनिएर बस्न सक्ने अवस्था पनि छैन । केही समय अगाडी कुसुम–हापुरे प्रसारण लाइन अन्तरगत बबईको च्याटी खोलामा १३२ केभिएको विद्युत प्रसारण लाइनको प्रधिकरणका प्रमुख कुलमान घिसिङ र उर्जामन्त्री बर्षमान पुनले उद्घाटन गरेको थिए ।

उद्घाटनको क्रममा उनीहरुले जिल्लामा धेरै भन्दा धेरै विद्युतीय समाग्री प्रयोग हुने उद्योगधन्दा खोल्नको लागि आग्रह गरेका थिए । तर हापुरेको उक्त १३२ केभिएको विद्युत तुलसीपुरबाट नआउदा र लमहीबाट आउने भनिएको १३२ केभिएको विद्युत पनि यहाँको प्रसाणमा जोडिन ढिला हुदाँ उद्योग त के घरमा वत्ति बाल्ने समसया भएको छ । जसको कारण यहाँका जनताहरुले अघोषित लोडसेडिङको मार खेपी रहेको छन् ।

छिनछिनमा विद्युत जानुको कारणबारे बुझ्दा घोराही विद्युत प्रसारण केन्द्रका सूचना अधिकृत बमहादुर बुढाथोकीले सिस्टम बचाउनको लागि भए पनि केही मिनेट विद्युत बन्द गर्नुपरेको बाध्यता सुनाए । उनले अहिले लमहीबाट आउन ३३ केभिएको लाइनले मात्र घोराही र तुलसीपुर क्षेत्रमा पुर्याउनु परेको हुँदा समस्या भएको बताए । ‘गर्मीमा विद्युत सबैलाई चाहिएको छ तर विद्युत पुग्दैन,’ उनले भने, ‘सिस्टम बचाउनको लागि भए पनि बन्द गरेका छौ ।’

देश लोडसेडिङ मुक्त घोषणा भैसकेको हुँदा लोडसेडिङको तालिका सार्वजनिक गर्न नमिल्ने बताए । यस्तै लमहीबाट घोराही आउने १३२ केभिएको विद्युत लाइन घोराहीको प्रसारण केन्द्रमा जोड्ने प्रयास भैरहेको हुँदा पनि विद्युत बन्द गर्नुपरेको बताए । साथै उक्त विद्युत घोराही जोडिएमा लोडसेडिङ पूर्णरुपमा हट्ने विद्युत कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार १२:०३