सूचनाको शक्ति - The Power Of Information

        

‘स्टिङ अप्रेसन’ गर्न अख्तियारले दिएको तीन लाख घुस हरायो, वकिल पनि अनुसन्धानमा !

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने कर्मचारीविरुद्ध ‘स्टिङ अप्रेसन’ अभियान सञ्चालन गर्दै भ्रष्टाचार मुद्दा चलाउने काम गर्दै आएको छ । घुस लिने कर्मचारीलाई मुद्दा चलाउन उसले सेवाग्राहीलाई घुस रकम दिँदै आएको छ ।

सो घुस रकम सेवाग्राहीले घुस लिने कर्मचारीलाई बुझाउने गरेका छन् । यसका लागि उसले दिएका पैसाका नोटको फोटोकपी गरी रेकर्ड राख्दै आएको छ । यसरी घुस लिने कर्मचारीलाई उजुरीकर्ताको सहयोगमा रकम दिएर गरिने कारबाहीलाई ’स्टिङ अपरेसन’ भन्ने गरिएको छ ।

तर उच्च अदालतका एक कर्मचारीलाई स्टिङ अप्रेसनका लागि भन्दै अख्तियारले दिएको तीन लाख रुपैयाँ नै हराएको पाइएको छ । मुद्दा मिलाउन वकिलको ल फर्मबाट पक्राउ परेका उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलासका टाईपिस्ट नायब सुब्बा पदमा कार्यरत कुष्णकुमार पाठकलाई ३ लाख घुससहित नियन्त्रणमा लिएको अख्तियारले विज्ञप्ती जारी गरेको थियो ।

तर अख्तियारले उक्त रकम पाठकसँग तत्काल फेला पार्न सकेको थिएन । अख्तियारको बुटवल सम्पर्क कार्यालयले पाठकलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो । पाठकले मुद्दा जिताइदिने भन्दै घुस मागेपछि सेवाग्राही अख्तियारको कार्यालय पुगेका थिए ।

अदालतको मुद्दा मिलाउन एक कर्मचारीले घुस मागेको जानकारी गराएपछि स्टिङ अप्रेसन गराउन भन्दै फोटोकपी गरेर ३ लाख रुपैयाँ दिएको थियो । अख्तियारको यही योजनाअनुसार अख्तियारको टोलीले सेवाग्रही र पाठकलाई निगरानी गर्न थाल्यो ।

टाईपिष्ट नासु पाठक अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लेनदेन गर्न नेपालगन्जको चार बाहिनीचोकमा रहेको श्री लयर्स च्याम्बरमा पुगे । सेवाग्राहीले पाठकलाई रकम दिए । त्यसको केही समयमा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लियो । तर पाठकसँग अख्तियारले रकम फेला पारेन ।

पछि थप अनुसन्धान गर्दा पाठकले उक्त रकम आफ्ना छोरालाई दिएर फरार गराएको रहस्य खुल्यो । पाठकको चलाखी देखेर अख्तियारको टोली नै अचम्ममा पर्यो । अख्तियारको बुटवलको सम्पर्क कार्यालय नेपालगन्जका कार्यालय प्रमुख गणेश गैरेका अनुसार नियन्त्रणमा लिएको कागज गराएर केन्द्रीय कार्यालय काठमाडौं पठाइएको छ ।

वकिलको ल फर्म (नेपालगन्ज चारबाहिनी चोकस्थित श्री लयर्स च्याम्बर)बाट घुससहित रंगेहात अदालतका कर्मचारी पक्राउ पर्नुले अदालतभित्र हुने भ्रष्टाचार र वकिलको संलग्नताबारे पनि अख्तियारले अनुसन्धान थालेको छ । थप अध्ययनका लागि पाठकलाई विशेष अदालतबाट १० दिनको म्याद थप भएको छ ।

यसअघि पाठक विशेष अदालतमै कार्यरत रहेका थिए । समयक्रममा उनी सोही अदालतमा भ्रष्टाचार मुद्दाको अभियुक्त भई आइपुगेका छन् । यसअघि काठमाडौ जिल्ला अदालतका एक कर्मचारी रंगेहात घुससहित पक्राउ परेका थिए । मुद्दा मिलाई दिने बहानामा कर्मचारी ट्रेड युनियनका नेता नै पक्राउ परेपछि न्यायाधीश समेत विवादमा तानिएका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार १३:२८