सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा बढ्दो क्रिकेट क्रेज, खेलाडी र प्रशिक्षकलाई पिरलो

सुर्खेत । पछिल्लो सयम कर्णाली प्रदेशमा क्रिकेट क्रेज बढेको छ । हिमाली र पहाडी भूगोलको समीश्रण कर्णालीमा क्रिकेटप्रतिको चासो बढ्दै गएको छ। क्रिकेट विकासका लागि जिल्ला क्रिकेट संघ भए पनि कर्णालीमा खासै विकास भने हुन सकेको थिएन । तर, पछिल्लो समय निजी क्षेत्र स्वयम् सक्रिय बनेपछि कर्णालीको क्रिकेटमा रौनकता थपिएको छ ।

गत साल भएको कर्णाली प्रिमिएर लिग (केपीएल) एक सहकारी संस्थाले आयोजना गरेको थियो । उक्त लिगपश्चात् कर्णालीको क्रिकेटको विकासकै लागि भनेर कर्णाली क्रिकेट एकेडेमी स्थापना गरी काम अघि बढाइएको छ । एकेडेमीले क्रिकेट खेलाडी उत्पादन गर्नेदेखि खेलको विकासमा टेवा र्पुयाउने गरी काम गर्ने एकेडेमीका अध्यक्ष जीवन शाही बताउँछन् ।

‘समग्र कर्णालीको क्रिकेट खेलको विकासका लागि हामीले कर्णाली क्रिकेट एकेडेमी भनेर स्थापना गरेका छौँ,’ उनले भने, ‘खेलाडी उत्पादन गर्ने, अभ्यास गर्ने लगायत क्रिकेटको थप स्तरोन्नति गर्नकै लागि हो ।’ भर्खर स्थापना भएको एकेडेमीले विभिन्न चुनौतीका बाबजुद पनि केपीएलको दोस्रो संस्करण सम्पन्न गरेको छ ।

एकेडेमीले यो पटक दुई विभागीय टिमसहित राष्ट्रिय खेलाडीहरूलाई समेत प्रतियोगितामा उपस्थित गरायो । कर्णालीमै उत्पादन भएका रवीन्द्रजंग शाही, जितेन्द्रसिंह ठकुरी लगायतका खेलाडी यु–१९ राष्ट्रिय खेल समेत खेलिसकेका छन् । केपीएलको अन्तिम दिन दर्शकको ओइरो लाग्यो । कर्णाली–११ लाई पाखा लगाउँदै न्यु होराइजन बुटवलले फाइनल खेल्ने पक्का गरेको थियो ।

त्रिभुवन आर्मीले एपीएफलाई हराउँदै फाइनल भिडेको थियो । उक्त खेल हेर्न दर्शक निकै उत्साहित थिए । भिडले सुरक्षाकर्मीलाई दर्शक मिलाउन भ्याईनभ्याई थियो । प्रतियोगिताको अन्य दिन खासै दर्शकको उपस्थिति नभए पनि फाइनलको दिन भने दर्शक खचाखच थिए । जसले गर्दा पनि कर्णालीमा क्रिकेट क्रेज बढेको प्रस्ट हुन्छ ।

खेल्नेदेखि खेलाउनेसम्मलाई खेल मैदानको पिरलो

देश/विदेशमा लोकप्रिय बनेको क्रिकेट खेलका लागि उचित खेल मैदान सुर्खेतमा छैन । स्थानीय र प्रदेश सरकारले समेत क्रिकेट मैदान निर्माणमा कुनै चासो नदेखाएपछि निजी क्षेत्र आफैं खेलमैदान निर्माण गर्न जुटेको छ । उचित खेलमैदान नभएकै कारणले प्रदेशमा हुने साना तिना खेल प्रतियोगिता सञ्चालन गर्न समेत समस्या भएको केपीएल आयोजक कर्णाली क्रिकेट एकेडेमीका शाही बताउँछन् ।

एकेडेमीले निजीस्तरबाटै आफ्नो लगानीमा वीरेन्द्रनगरस्थित कालिनचोक खेलमैदानलाई थप मर्मत सुधार गर्न जुटेको थियो । एकेडेमीले अहिले तत्काल ४ लाखको लागतमा मर्मत सुधार गरेको दाबी छ । दिन प्रतिदिन क्रिकेटप्रति क्रेजले बढ्दै गए पनि गतिलो खेल मैदान नहुँदा खेलाडीहरुहरुलाई समस्या हुने गरेको यु–१९ राष्ट्रिय प्रतियोगिताका खेलाडी तथा कर्णाली–११ का कप्तान रवीन्द्रजंग शाहीले बताए ।

‘विशेष गरेर संघीय राजधानी र शहरी क्षेत्रमा बढी खेलिने क्रिकेटको लोकप्रियता पछिल्लो समय पहाडी हुँदै हिमाली क्षेत्रसम्म लोकप्रिय बनेको छ,’ शाहीले भने, ‘सुर्खेतमा आयोजना हुने क्रिकेट खेलका लागि उपयुक्त खेल मैदान छैन । हामी जस्ता खेलाडीलाई समस्या भएको छ । अहिलेको खेलमैदान खेलाडीका लागि पर्याप्त छैन । निजी क्षेत्रले यत्तिको खेल मैदान बनाउनु भनेको पनि राम्रो हो । सरकारी तवरबाट कर्णालीको क्रिकेट विकासका लागि उचित खेलमैदानको बन्दोबस्त गर्न जरुरी देखिन्छ ।’

पछिल्लो समय क्रिकेटप्रतिको क्रेज बालबालिकादेखि युवा र वृद्धासम्म उस्तै छ । गतवर्ष पहिलोपटक सञ्चालन भएको कर्णाली प्रिमियर लिगमा प्रतियोगिताको फाइनल खेल हेर्न करिब पाँच हजारको सङ्ख्यामा दर्शक मैदानमा पुगेका थिए । कर्णाली प्रिमियर लिगका संयोजक रेशम शाही भने, ‘नियमित रूपमा प्रतियोगिता सञ्चालन गर्न सक्ने हो भने यो सङ्ख्या अझै बढ्नेछ ।’

जिल्ला किक्रेट संघ सुर्खेतका अध्यक्ष श्रीधर केसीले उचित खेल मैदान नहुँदा खेलाडी समस्यामा परेको बताउँछन् । खेल मैदान निर्माणकै लागि भनेर वीरेन्द्रनगर सदरमुकाममा जग्गा पाउन नसकिएको केसीले बताए । उनले भने, ‘उपत्यका नगर विकास समिति जग्गा नै छैन भन्छ, कसरी खेलमैदान निर्माण गर्ने, खेलको विकासमा निकै चुनौती थपिएको छ ।’

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतवार ०९:३४