सूचनाको शक्ति - The Power Of Information

        

नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती, आजैदेखि सीमा नाका बन्द

बाँके । भारतमा हुन लागेको लोकसभा निर्वाचन तथा सीमा क्षेत्रको सुरक्षालाई ध्यानमा राखेर नेपाल–भारत सीमा क्षेत्रको दशगजामा दुई देशका सुरक्षा निकायले संयुक्त गस्ती गरेका छन् । नेपाल–भारत सीमा क्षेत्रको जंगे पिलर नं २६ देखि २९ सम्म संयुक्त गस्ती गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाह र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) बटालियन नम्बर ४२ को कम्पनी ई मुन्सीपुर्वाका कम्पनी कमाण्डर सुकुमार देवबर्माको संयुक्त कमाण्डमा गस्ती गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक शाहले सीमा क्षेत्रमा हुनसक्ने अपराधिक गतिविधि रोक्न र दुई देशबीचको भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउन यस्तो खालको संयुक्त गस्ती गरिँदै आएको जानकारी दिए ।

उनले नेपालमा निर्वाचन हुँदाको बखतमा पनि दुबै देशका सुरक्षा निकायले यसरी नै संयुक्त सुरक्षा गस्ती हुने गरेको र अहिले भारतमा पनि लोकसभाको निर्वाचन हुँदै गरेको अवस्थामा सीमा क्षेत्रको अवस्था बुझ्नको लागि संयुक्त गस्ती गरिएको बताए ।

बटालियन नम्बर ४२ का कमाण्डर देवबर्माले सीमा क्षेत्रको सुरक्षाको जिम्मेवारी पाएका सुरक्षा निकायले आ–आफ्नो क्षेत्रमा संयुक्तरुपमा यसरी सुरक्षा गस्ती गर्दा सीमा क्षेत्रमा अपराधिक गविबिधी रोकिने, सीमा क्षेत्रको सुरक्षा हुने र दुबै प्रति शौहर्दता व्यक्त हुने भएकोले यस्तो खालको संयुक्त गस्तीको महत्व र प्रभावकारिता छुट्टै खालको हुने विश्वास व्यक्त गरे ।

संयुक्त गस्तीमा २५ जना नेपाली सुरक्षाकर्मी र भारतका तर्फबाट १६ जनाको सहभागिता रहेको थियो । निर्वाचनको बेला होस वा अन्य समयमा सीमा क्षेत्रबाट हुनसक्ने विभिन्न अपराधिक गतिबिधि रोक्नको लागि हरेक महिनामा दुई–तीन पटकसम्म यसरी संयुक्त गस्ति गरिदै आएको दुबै देशका सुरक्षा निकायका अधिकारीको भनाई रहेको छ ।

यसैबीच भारतको उत्तर प्रदेशमा आगामी मे ६ तारिख अर्थात् बैशाख २३ गते हुने लोकसभा निर्वाचनको लागि आजै बेलुकी ६ बजेदेखि २३ गते बेलुकी ६ बजेसम्म नेपाल–भारत सीमा नाका बन्द गरिएको छ । भारतमा हुने लोकसभा निर्वाचनका लागि आज बेलुकी ६ बजेदेखि नेपाल–भारत सीमा नाका ४८ घण्टा बन्द हुनेछ ।

लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सिमा समन्वय समितिको ५१ औं बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो । बाँकेका प्रमूख जिल्ला अधिकारी मदन भुजेलले भारतको उत्तरप्रदेश राज्यको बहराइचमा हुने लोकसभा निर्वाचनका लागि नाका बन्द हुन लागेको जानकारी दिए ।

सीमा नाका बन्द हुँदा अत्यावश्यक र बिरामी बोकेका एम्बुलेन्स दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आवतजावत गर्ने बाहेक अन्य आवतजावत ठप्प हुने प्रजिअ भुजेलले बताए । निर्वाचनका बेला घुसपैठ नहोस् भनेर दुवै देशमा निर्वाचन हुँदा सीमा नाका बन्द गरिँदै आएको छ ।

नेपालबाट ठूलो संख्याका नेपालीहरु भारतीय बजारमा किनमेल गर्न जाने गर्दछन् । तीन दिन नाका बन्द हुँदा थाहा नपाएर आउने नेपालीले नाका दुःख पाउन सक्ने भएकाले जिल्ला प्रशासन कार्यालय बाँकेले एक दिनअघि नै सूचना जारी गरेको छ ।

४८ घण्टा सीमा नाका बन्द हुँदा नेपाल दाल, चामल, तेल हरियो तरकारीजस्ता दैनिक उपभोग्य वस्तुदेखि विलासिताका सामानमासमेत भारतमा नै निर्भर हुँदा आयात निर्यात प्रभावित हुनेछ । लोकसभा निर्वाचन नजिकिँदै जाँदा भारतीय सुरक्षाकर्मीले सीमा नाका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाई गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार १०:०३