काठमाडौं । देशभर विस्फोट र आक्रमणका घटना बढ्दै जानु र दोषी पत्ता नलाग्नुले निर्वाचन सुरक्षामा गम्भीर चुनौती खडा भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गरी सुरक्षा अवस्था निकै कमजोर रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
‘प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको दोस्रो चरणको दिन नजिकिँदै गर्दा तेह्रथुम, स्याङ्जा, सर्लाही, पाल्पा, डडेल्धुरा, कैलाली, जिल्लाका साथै राजधानीमै उम्मेदवार तथा दलका चुनावी कार्यक्रमलाई लक्षित गरी बम आक्रमण भई उम्मेदवार तथा दर्जनौं सर्वसाधारण व्यक्तिहरु घाइते भएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, आयोगको विज्ञप्तिमा भनिएको छ, ‘बम आक्रमणका घटनाहरु वृद्धि हुँदै जाँदा समेत वास्तविक दोषी पहिचान हुन नसक्नुले निर्वाचन सुरक्षामा गम्भीर चुनौती खडा भएको देखिन्छ ।’
आयोगले दोषीहरु पहिचान गर्न र निष्पक्ष तथा भयरहित रुपमा निर्वाचन हुने वातावरणको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सोमबार बुढानीलकण्ठको चपली हाइटमा नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई लक्षित गरी बम आक्रमण भएपछि सुरक्षा अवस्थामा थप आलोचना भइरहेको छ । विस्फोटमा थाापासहित ११ जना घाइते भएका छन् । हरेक दिन उम्मेदवारलाई लक्षित गरी आक्रमण भइरहे पनि अधिकांश विस्फोटको घटनाका दोषीहरु पक्राउ परेका छैनन् ।
।