बाँके । नेपालगन्ज उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेका परीक्षा केन्द्रको अनुगमन गरी ठूलो मात्रामा चिट बरामद गरेको छ । अनुगमनका क्रममा अधिकांश परीक्षा केन्द्रमा सेटिङ्मा चिट चोराउनेदेखि गार्ड राख्नेसम्मका काम भएको भेटिएको छ । उपमहानगरपालिकाले मंगलबार बिहानै भएको परीक्षामा अनुगमन गरेको थियो ।
उपमहानगरभित्रकै परीक्षा केन्द्रमा शिक्षकदेखि विद्यार्थीले संस्थागत रूपमै योजनाबद्ध तरिकाले चिट चोर्ने/चोराउने काम गरेको देखिएको उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाले बताए । उनकाअनुसार मंगलबार मोर्डन, सरस्वती, एबिसी रेजिडेन्टल, होप एकेडेमी, एमपी लगायतका आधा दर्जन परीक्षा केन्द्रबाट एक डोको चिट बरामद गरिएको छ ।
उपमहानगरपालिका क्षेत्रमा नाम चलेका सरकारी विद्यालयले माध्यमिक तहको परीक्षा सेटिङ्मा सञ्चालन गरिरहेको मेयर राणाले बताए । शैक्षिक गुणस्तर सुधारका लागि अनुगमन गरिएको बताउँदै डा राणाले केही केन्द्राध्यक्षले बाझाबाझ गरेको समेत तितो यथार्थता सुनाए ।
मंगलबार कक्षा १२ को विज्ञानतर्फको भौतिकशास्त्र विषयको परिक्षा अनुगमनका क्रममा नगर प्रमुख डा धवलशम्शेर राणा नेतृत्वको टोलीले सात वटा परिक्षा केन्द्रबाट तीन थैली चिट बरामद गरिएको छ । उपप्रमुख उमा थापा, प्रवक्ता प्रमोद रिजाल, नगर शिक्षा ईकाई समिति प्रमुख गोर्खबहादुर थापा र वडा अध्यक्ष दिपक बर्मालगायतको बरामद गरेको चिट पत्रकारमार्फत सार्वजनिक गर्यो ।
परीक्षामा सम्वन्धित विद्यालयका शिक्षक गार्ड बस्न नपाउने व्यवस्था भएपनि यहाँ रकम चलखेलमा कतिपय विद्यालयहरुले आफ्नै शिक्षकलाई गार्ड राख्दै विद्यार्थीलाई चिट चोराउने काम गरिरहेको खुलेको छ । उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले शैक्षिक गुणस्तरमा खेलाँची नगरियोस् भन्ने उद्देश्यले अनुगमन गरिएको र यस्ता कार्यलाई निरुत्साही गर्नु पर्नेमा जोड दिए ।
बाँकेमा नाम चलेकै परीक्षा केन्द्रबाट चिट बरामद भएको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए । उनले निजी विद्यालयका विद्यार्थीले परिक्षा दिइरहेको केन्द्रमा अझैं वेजोग देखिएको भन्दै चिट चोर्ने र चोराउने काम संस्थागतरुपमै भएको जिकिर गरे ।
प्रवक्ता रिजालका अनुसार धम्बोझी उमावि, नारायण उमावि, महेन्द्र उमावि, मोर्डन पब्लिक हाइस्कुल, मंगलप्रसाद उमावि परीक्षा, सरस्वती उमावि, एविसी रेजिडेन्टल, होप एकेडेमी केन्द्रबाट चिट बरामद भएको बताए । तर केन्द्रध्यक्षहरुले भने मर्यादितरुपमै परीक्षा चलिरहेको बताएका छन् ।
नारायण उमावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष तरूणबाबु गौतम र धम्बोझी उमावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष बामदेव सुवेदीले परीक्षा एदकमै मर्यादीत र व्यवस्थित रूपमा चलेको दाबी गरे । जनशक्तिले नभ्याएको खण्डमा मात्र परीक्षामा सामेल विद्यालयको बाहेकका शिक्षकको सहयोग मात्र लिनु भनिएको शिक्षा अधिकारी गोर्खबहादुर थापा बताए ।
कक्षा १२ को परीक्षामा बाँके जिल्लाबाट ६ हजार ६०३ सहभागी छन् । बैशाख २६ गतेसम्म सञ्चालन गरिने परीक्षामा नियमिततर्फ ७ हजार ७८१ र आंशिकतर्फ ४ हजार २४४ गरी जम्मा १२ हजार २५ जना विद्यार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डका प्रमुख गीरमान थापा बताउँछन् ।
यता, नेपाल शिक्षक महासंघ बाँकेले परीक्षामा उपमहानगरपालिकाका मेयर राणाको नेतृत्वमा कानुन विपरित परीक्षा केन्द्रमा जबरजस्ती प्रवेश गरेको आरोप लगाएको छ । महासंघ बाँके अध्यक्ष पवनकुमार यादवद्वारा जारी ध्यानाकर्षण पत्रमा मेयर राणाको नेतृत्वको टोलीका कारण परीक्षामा भय र त्रासको वातावरण सिर्जना भएको भन्दै अनाधिकृत तरिकाले गरिएको अनुगमन बन्द गर्न आग्रह गरिएको छ ।
सत्यपाटी - ।