सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जका यौन अखडामा प्रहरीको मजबुत संरक्षण, यौन दलाल उस्तै सक्रिय

सत्य विशेष रिपोर्ट

बाँके । नेपालमा कानुन वैधानिक बाटोबाट ‘सेक्स बजार’ प्रतिबन्ध छ । कानुनले प्रतिबन्ध गरेका विषयमा स्थानीय प्रशासनले त्यसलाई चल्न दिने अवस्था पनि छैन । अन्य शहरहरुमा जस्तै नेपालगन्जमा पनि यसको अवैध बजार रहेको छ । लामो समयदेखि नेपालगन्ज सेक्स बजारका लागि सदावहार ठाउँ हो । साँझ परेपछि नेपालगन्जका सडकमा ग्राहक र यौनकर्मी मात्रै होइन यौन दलाल पनि उत्तीकै सक्रिय हुन्छन् ।

ग्राहक र यौनकर्मी, यी दुई पक्षको बीचमा बसेर नाफा खाइदिनु उनीहरूको धन्दा हो । आफूलाई ‘गाइड’ पनि भन्ने उनीहरूबाट ग्राहक लुटिन्छन्, यौनकर्मी ठगिन्छन् । ‘कुनै वस्तु किनबेच गर्दा किन्ने र बेच्नेका बीच कुरा मिलाई नाफा खाने व्यक्ति’ दलाल हो भन्छ, नेपाली बृहत् शब्दकोश । महिलाको शरीरलाई वस्तु ठान्ने तिनै दलालहरूको बिगबिगी छ, नेपालगन्जका केही यौनधन्दा हुने स्थानहरुमा ।

दलालहरू यौनकर्मीलाई ग्राहक जुटाइदिने र ग्राहकलाई यौनकर्मीसम्म पुर्याइदिने काम मात्रै गर्दैनन्, दुवै पक्षलाई लुट्ने काम पनि गर्छन् । त्यसो त यौन दलाल गर्नेहरुमा सादा पोशाकमा रहेका घुमुवा प्रहरी पनि उत्तीकै सक्रिय देखिन्छ । यस्ता दलाल विभिन्न आवरणमा छ्यापछ्यापती भेटिन्छन् । रात्रीकालीन व्यवसाय सञ्चालन भइरहेका स्थान वरपर दलालहरूको राज नै चल्छ । उनीहरू यौनकर्मी र व्यवसायीले भन्दा धेरै नाफा कुम्ल्याउँछन् ।’

भारतीय ग्राहक निकेश कुमार र नेपाली दलाल विकास क्षेत्री (दुवैको नाम परिवर्तन)बीच पहाडी गाउँले केटी मिलाइदिने भन्दै बार्गेनिङ्ग चल्यो । २० हजारबाट सुरु भएको बार्गेनिङ्ग १५ हजारमा टुंगियो । नेपालगन्जकै एक होटलमा निकेशलाई लगियो र पहाडी गाउँले केटी भन्दै थारु थरकी केटी बोलाइयो । भारतीय ग्राहक निकेशसँग १५ हजार लिइसकेका विकासले पाँच हजार केटीलाई दिए ।

निकेश र विकासबीच भएको सम्झौताअनुसार १५ हजारमा केटी बोलाइदिने र होटलको खानपान र कोठाभाडा भारतीय ग्राहकले नै तिर्नुपर्ने सहमति भएको थियो । सोही बमोजिम केटीलाई बोलाएर रातभर निकेशसँगै बस्न भन्दै ५ हजार रुपैयाँ ती केटीलाई दिए । १० हजार रुपैयाँ आफ्नो खल्तीमा हाल्दै उनी अर्को ग्राहक खोज्न हान्निए । विकासजस्ता धेरै यौन दलाल नेपालगन्जमा सक्रिय छन् ।

विकासले नेपालगन्जका केही होटलमा घुमुवा प्रहरीको पहिचान बनाइसकेका छन् । तर उनी घुमुवा प्रहरी भने होइनन्, तर उनको संगत र उठबस भने नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका घुवाहरुसँग धेरै नै हुने गरेको पाइन्छ । विकास नेपाल प्रहरीका भगौडा भएको बुझिएको छ । वास्तविक घुमुवाहरुलाई खानपान र खाजा खर्च दिएर चित्त बुझाउन सकेका विकासले उनीहरुकै आडमा विकासको यौन दलाली चलिरहेको छ ।

त्यसो त प्रहरीले पनि यौन व्यवसायलाई दलाल संरक्षण गरिरहेको पाइन्छ । प्रहरी आफै पनि त्यस्ता होटल, रेस्टुरेन्ट, क्याबिन, बारका सञ्चालकहरु निश्चित कमिसन लिएर यौन व्यवसायलाई अघोषितरुपमा बैधानिकता दिइरहेको पाइएको छ । प्रहरीले यौन व्यवसायलाई अघोषित वैधानिकता दिएकै कारण यौन दलाल, यौनकर्मी तथा केही होटल सञ्चालकहरुको व्यवसाय फष्टाएको छ ।

यौन व्यवसायलाई नियन्त्रण गर्न नसक्दा पर्यटन व्यवसाय नै लज्जित हुन पुगेको एक होटल सञ्चालकले बताए । ‘प्रहरीकै संरक्षणमा यौन धन्दा चलिरहेको छ,’ होटल सञ्चालकले भने, ‘यौनकार्यदेखि विभिन्न गलत कामका नाममा ग्राहकलाई लुटपाट गर्ने दलाललाई प्रहरीले नै संरक्षण गरिरहेको छ ।’ उनका अनुसार वडा प्रहरी कार्यालयको कार्य क्षेत्र रहेको नेपालगन्जमा वडा प्रहरीकै मिलेमतोमा यौन व्यसायलाई बढावा दिने काम भइरहेको छ ।

‘यौनकर्मी तथा यौन व्यवसाय गर्नेलाई कारबाही गरेर तह लगाउनुको साटो संरक्षण गरिरहेको छ,’ अर्का एक होटल व्यवसायीले भने, ‘हामीलाई भने साँझ थोरै अबेर भए सटर बन्द गर्न भन्दै थर्काउँछ । तर प्रहरीले संरक्षण गरिरहेका होटलमा भने बाहीर ढोका बन्द गरेर भित्र अनैतिक कामहरु भइरहेका हुन्छन् ।’ साँझतिर नयाँ सडक क्षेत्रमा सडकैभरि दलाल भेटिन्छन् ।

बाटोमा हिँडिरहेको बटुवालाई उनीहरू ‘दाइ, गेष्ट हाउस चाहियो ?’ भनिरहेका हुन्छन् । उनीहरू गेष्ट हाउसमात्र मिलाइदिँदैनन्, यौनकर्मी पनि मिलाउँछन् । ‘ग्राहकलाई हेरेरै हामी उनीहरूको आवश्यकता बुझ्छौँ,’ नयाँ सडकमा भेटिएका एक दलालले भने, ‘अनि केटी मिलाइदिन्छौं, गेष्ट हाउस व्यवस्था गरिदिन्छौं, अनि आफ्नो बाटो लाग्छौं, यसबाट आफूलाई केही कमाई भइहाल्छ ।’

यस्ता यौन दलालले तीनतिरबाट फाइदा लिन्छन्, महिला, ग्राहक र व्यवसायीसँग । सुरुमै ग्राहकबाट निश्चित रकम असुल्छन्, होटलबाट पनि केही कमिसन पाउँछन् । यौनकर्मी महिलाको हातमा भने मुस्किलले २५ प्रतिशत रकम मात्र पर्ने गरेको र अरू दलालले नै खाने गरेको बुझिएको छ । ग्राहक नै नपाउनुभन्दा थोरै रकम भए पनि हात पर्ने भएपछि यौनकर्मी महिलाहरु ग्राहकको यौन प्यास मेटाउन तयार हुने गरेको एक होटल सञ्चालकले बताए ।

नेपालगन्जका कुन क्षेत्रमा यौनजन्य गतिविधि हुन्छन् भन्नेमा प्रहरी बेखबर छैन । तर अघोषितरुपमा सञ्चालित ती क्षेत्रहरुमा प्रहरीकै मजबुत संरक्षण छ । यौनजन्य गतिविधि हुने ती क्षेत्रहरु वडा तथा जिल्ला प्रहरी र घुमुवाका साथै सशस्त्र प्रहरीका घुमुवाको पनि कमाइ खाने भाडोका रुपमा प्रयोग हुने गरेका छन् । प्रहरी संरक्षणमा अघोषित रेडलाइट एरियाजस्तो बनेका साधारण खाजा पसलमा समेत यौनकर्मका लागि युवती तयार हुन्छन् ।

यौन व्यवसाय ठिक छ या छैन बहसकै बिषय हो । कति आफ्नै खुशीमा यौन व्यवसायी भएका छन् त कति बाध्यताले यौन कर्म गरिरहेका छन् । आफ्नै मनमञ्जुरीमा यौन कर्म गर्नेहरु आफ्नो कर्मबाट खुशी होलान् तर, समाजमा बाध्यताले यौन कर्म गर्नेहरु भने पिडामा बाँचिरहेका छन् । नेपालगन्ज ऐतिहासिक र पुरानो शहर हो । यो धेरै किशोरकिशोरीको सपना फुलाउने शहर पनि हो । तर, यहाँ धेरै किशोरीहरुको सपना त्यसै ओइलाइरहेको पनि सत्य हो ।

सपना सजाउन नेपालगन्ज आएका कतिपय महिलाहरु नारकिय जीवन विताउन पनि बाध्य छन् । नेपालगन्जका होटलहरुमा धेरै महिलाहरुको सपना ओइलिरहेको छ । बसपार्क, न्युरोड, पुष्पलाल चोक, राँझा क्षेत्रका होटलहरुमा प्रहरी संरक्षणमै अघोषित यौन अखडाहरु सञ्चालनमा छन् । ती अखडाहरुमा धेरै युवतीहरु कुनै न कुनै रुपमा फसेका छन् । जानेर या नजानेर यौन अखडाहरुमा फसेका युवतीहरु यतिखेर अनेकौं पीडा खेप्न बाध्य छन् ।

होटलमा आउने ग्राहकसँग समय विताउनुपर्ने, ग्राहकको माग अनुसार शारिरिक सेवा दिनुपर्ने यस क्षेत्रका होटलमा काम गर्ने महिलाको दैनिकी नै हो । कति महिला आफ्नै खुशीले यौन कर्म गरिरहेका होलान् तर, अन्जानमा यौन कर्म गर्न पुगेका किशारीहरु आफ्नो दुखेसो यसरी पोख्छन् । यसरी गाउँबाट किशोरीहरु शहर आइपुग्छन् । सुन्दर सपना बोकेर शहर आएका किशोरीहरु जानेर या नजाने यौन कर्ममा फस्छन् ।

नजानिँदो रुपमा नेपालगन्ज क्षेत्र यौन अखडाको शहर जस्तै बन्न पुगेको छ । नेपालगन्जमा करिब ३ सयको हाराहारीमा यौन व्यवसायी रहेको अनुमान गर्न सकिन्छ । त्यसमध्ये १४ देखि २५ वर्ष उमेर समुहका बालिका तथा किशोरीहरु यौन कर्ममा संलग्न छन् । यस क्षेत्रमा यौन कर्ममा संलग्न किशोरीहरु आफुले ग्राहकलाई दिने सेवाबारे बताउँछन् । धेरै किशोरीहरु साथीसंगीको लहलहैमा यौनकर्म गर्न बाध्य भएको बताउँछन् ।

प्रहरी भने यौन व्यवसाय समाप्त पारेको ठोकुवा गर्छ तर, यौन व्यवसाय झनै मौलाएको छ । वास्तवमा भन्ने हो भने प्रहरीकै कारण यौन नेपालगन्जमा यौन व्यवसाय मौलाएको छ । मिठो खाने, राम्रो लगाउने, छोटो अवधिमा धेरै पैसा कमाउने सपना बोकेर गाउँवाट शहर पसेका धेरै किशोरीहरु अन्जानमा यौन कर्ममा फसेका छन् । विभिन्न कारण यौन कर्ममा फसेका कति किशोरीहरु चेतिएका पनि छन् ।

नेपालगन्जमा पछिल्लो समय यौनकर्मी किशोरीहरुको संख्या बढ्दो छ । क्याविन रेष्टुरेण्ट तथा होटलमा जोखिम मोलेर काम गर्दै आइरहेका किशोरीहरुको संख्या उच्च छ । यौन कर्ममा संलग्न किशोरी तथा महिलाहरु विभिन्न किसिमको यातना भोग्नसमेत बाध्य रहेका छन् । यहाँ सञ्चालित होटलहरुमा भइरहेको यौन व्यवसायलाई हेर्ने हो भने प्रहरीको पूर्ण संरक्षण रहेको अनुमान गर्न सकिन्छ ।
एक होटल सञ्चालिकाले भनिन्, ‘जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयसँग सेटिङ्ग मिलाइसकेका छौं । वडा प्रहरी कार्यालयलेभने अनुसारको डिमाण्ड पुरा गर्न नसक्दा बेलाबेलामा हामीलाई तनाव दिइरहेको छ ।’ उनले केही रकम दिएरै जिल्ला र प्रदेशलाई सेटिङ्ग मिलाएको बनाए पनि कति रकम भन्ने खुलाइनन् । ‘हामीले सक्नेभन्दा वडा प्रहरीको डिमाण्ड धेरै छ, त्यसैले पनि सेटिङ्ग मिलाउन सकेका छैनौं,’ उनले भनिन् ।

ती होटल सञ्चालिकाले जिल्ला र प्रदेशबाट आउने प्रहरीलाई रक्सी मासु र केटीसम्म मिलाइदिने गरेको बताउँदै भनिन्, ‘प्रहरीले कहिलेकाहीं आएर मासु र रक्सी खान्छन्, अनि यौन इच्छा पूरा गर्छन्, जान्छन् । उनीहरु होटलबाट निस्किँदा केही रकम पनि दिएर पठाउँछौं । वडा प्रहरीको माग धेरै भएकाले पुरा गर्न नसक्दा वडाबाट आउने प्रहरीले सताउँछन् ।’ उनको यो भनाईले प्रहरीले भनेको रकम पाउँदा संरक्षण र नपाउँदा सास्ती दिने गरेको प्रमाणित हुन्छ ।

प्रहरीले भनेजस्तो नभए यौनकर्मी महिलाहरुलाई दुख दिने गरेको छ । ‘पहिलो दिनमा फोन नम्बर माग्छन्,’ एक यौनकर्मी महिलाले भनिन्, ‘साहुलाई नभनी जान मिल्दैन, फेरि गएन भने तेरोमा रेड हान्छु भनेर धम्की दिन्छन् ।’ नेपालगन्जमा यौनकर्मी राखेर रेस्टुरेन्ट व्यवसाय चल्ने ठाउँ अधिकांश वडा प्रहरी कार्यालयको कार्यक्षेत्रमा पर्छन् । वडा प्रहरी कार्यालयमा नयाँ इन्चार्ज आएसँगै विभिन्न बहानामा होटल व्यवसायीहरुलाई दुख दिने गरिएको छ ।

सुरुमा छापा मार्ने र विस्तारै रकम असुलीमा लाग्ने गरेको एक होटल व्यवसायी बताउँछन् । यसरी यौनकर्मी र केही रेस्टुरेन्ट व्यवसायीसँग रकम खान पाउने भएकाले वडा प्रहरी कार्यालय नेपालगन्जमा इन्चार्ज भएर आउन पहुँचवाला नै हुनुपर्छ । ‘हाम्रो त जम्मा चार जना केटीमात्र छन,’ एक व्यवसायीले भने, ‘मेरोबाट प्रहरीले पैसा त लैजान्न तर कहिलेकाहिँ खान आउँछन्, र केटी पनि लिएर जान्छन् ।’

वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले भने यौनजन्य कार्य नियन्त्रण गर्ने क्रममा लागि प्रहरीले बार्गेनिङ्ग नगरेको बताए । ‘हामीले यौनधन्दा हुने स्थानमा निगरानी रिरहेका छौं । ती स्थानमा धेरै पटक छापा पनि हानेका छौं,’ प्रहरी निरीक्षक डाँगीले भने, ‘वडाबाट बार्गेनिङ्ग गर्ने आँट कसले गर्यो ? बार्गेनिङ्ग सम्भव छैन । जिल्ला र प्रदेशले समेत बार्गेनिङ्ग गरेको पत्ता लाग्यो भने पनि छोड्नेवाला छैन ।’

गैरकानुनी धन्दा

देह व्यापारलाई नेपालमा गैरकानुनी रुपमा लिईन्छ । नेपालको संविधानले नै देह व्यापार सम्बन्धि प्रावधान उल्लेख गरेको छ, र जसमा नेपालको सिमा भित्र हुने कुनै पनि किसिमको देह व्यापारलाई गैरकानुनी भन्दै सजायको व्यवस्था गरेको छ । नेपालमा यसलाई सामाजिक अपराधको रुपमा लिएको मात्रै होईन समाजमा विकृति फैलाएको ठहर गर्दै यसकार्यमा सहभागी हुनेहरु समाजमा नकारात्मक दृष्ट्रिकोणबाट प्रताडित छन् ।

समाजको विकृतिको रुपमा लिइने भएपनि कतिपय स्थानमा परम्परागत देह व्यापारको रुपमा आज प्रयान्त जारी रहेको छ । सरकारले नेपालमा गैर कानुनी देह व्यापारलाई रोक्न जे जस्तो ऐन नियम तथा कानुनहरु बनाएको र कार्यान्वयन गरेको भए पनि त्यसले देह व्यापारमा कमी ल्याउनुभन्दा थप विकृति फैलाएको छ । कतिपय मानिसहरुले यो पेशालाई रहरले भन्दा पनि वाध्यताले अपनाएको देखिन्छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार ११:३२