सूचनाको शक्ति - The Power Of Information

        

बर्षभरी ६ दिन बिदा दिने प्रदेश सरकारको निर्णय

बुटवल । प्रदेश ५ सरकारले २०७६ सालमा ६ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारले ४ दिन प्रदेशका सबै जिल्लामा र २ दिन जातजाति तथा समुदाय अनुसार बिदा दिने निर्णय गरेको हो ।

बकर इद, माघी र माघे सक्रान्तिमा माघ १ र २ गते, प्रदेश स्थापना दिवशमा फागुन ३ गते प्रदेश सरकारले विदा दिनेछ । यस्तै स्थानीय चाडपर्वलाई मध्यनजर गरी स्थानीय तहको निर्णयअनुसार एकदिन र रमजानमा विदा दिइनेछ ।

बैठकले प्रदेश ५ सरकारले विभिन्न प्राकृतिक विपदमा ज्यान गुमाएका ५१ जनाका हकवालालाई १ लाखका दरले राहत उपलब्ध गराउने भएको छ । बाढी डुवान, करेन्ट, आगालागी, खोलाले बगाएको, पहिरो, चट्टयाङ लगायतका विपतमा परी ज्यान गुमाएका परिवारका सदस्यहरुलाई राहत दिइने सरकारका प्रवक्ता तथा भैतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बताए ।

बैठकले राप्ती गाँउपालिका वडा नं.७ वसन्तपुरमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण, बुटवल उपमहानगरपालिका वडा नं. १३ जवई खोला मैदानमा उजिर सिंह रंगशाला निर्माण गर्ने र घोराही उपमहानगरपालिमा १६ तरौटेमा रहेको नेत्रलाल अभागी रंगशालाको स्तरवृद्धि गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार १६:४९