सूचनाको शक्ति - The Power Of Information

        

आठौं राष्ट्रिय खेलकूद समाजिक सद्भावको पर्व : कावा राष्ट्रपति पुन

बाँके । कार्यवहाक राष्ट्रपति नन्दबहादुर पुनले आठौं राष्ट्रिय खेलकूद सामाजिक सद्भावको पर्व भएको बताएका छन् । नेपालगन्जस्थित महेन्द्र रंगशालामा आयोजित प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै उनले मुलुकले संघीय व्यवस्थालाई समेत मजबुत गराएको बताए ।

राष्ट्रलाई स्वस्थ राख्न खेलकूद अपरिहार्य भएको बताउँदै उनले अन्तराष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरुलाई शसक्त भुमिका निर्वाह गर्न हौसला दिए । उनले भने, ‘नेपालको राष्ट्रिय झण्डालाई विश्वसामू फहराउन खेलकूदको विकास जरुरी छ । खेल क्षेत्रमा सरकारले थप लगानी गर्न आवश्यक छ ।’

सरकारले निर्धारित समयमै खेलकूद सम्पन्न गरेकोमा सरकारप्रति धन्यवाद ज्ञापन गर्दै बाँकी रहेका पूर्वाधारहरुलाई सम्पन्न गर्नका लागि पनि अनुरोध गरे । उनले बाँकी रहेका भौतिक पूर्वाधारका काम सम्पन्न गर्दै १३ औं दक्षिण एसियाली खेलकूदको तयारीमा जुट्न आग्रह गरे ।

आठौंको समापनसँगै नवौं राष्ट्रिय खेलकूदको तयारी सुरु भएको जनाउँ दिँदै त्यसका लागि तयारी थाल्न खेलाडी तथा सम्वद्ध निकायलाई आग्रह गरे । सम्बोधनका क्रममा कार्यवहाक राष्ट्रपति पुनले आठौं खेलकूदमा सहभागी खेलाडी, प्रशिक्षक तथा आयोजकलाई धन्यवाद दिएका छन् ।

बैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको आठौं राष्ट्रिय खेलकुदको समापन उपराष्ट्रपति पुनले समापन गरेका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा वलीले समापन गर्नेगरी कार्यक्रम तय भएको थियो ।

कावा राष्ट्रपति पुन आज कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा बास बस्ने र भोली बर्दियाको बाँसगढी नगरपालिकास्थित केदारेश्वर धामको औपचारिक उद्घाटन गरी भोली नै काठमाडौं फर्किने कार्यक्रम तय भएको बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार १८:२१