सूचनाको शक्ति - The Power Of Information

        

बुद्ध एयरको नेपालगन्ज–दिल्ली उडान, किन दिएन भारतले अनुमति ?

बाँके । उडान र अवतरणमा बढी समय लिने भएकाले भारतले बुद्ध एयरलाई उडान अनुमति नदिएको बुझिएको छ । बुद्धसँग एटीआर ७२–५०० जहाज छन् । ती जहाजले उडान र अवतरणमा बढी समय लिने भएकाले भारतले अनुमति नदिएको बुझिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम भन्छन्, ‘बुद्ध एयरसँग सीआरजेट ७०० विमान भइदिएको भए भारतले ‘स्लट’ दिन सक्थ्यो ।’ नेपाल–भारत उडानका लागि नागरिक उड्डयन प्राधिकरणसँग दुई वर्षदेखि अनुमति मागिरहेको श्री एयरलाइन्ससँग मात्रै सीआरजेट विमान छन् । तर श्रीले हालसम्म अनुमति पाएको छ ।

‘प्राधिकरणले श्रीलाई अनुमति दिइरहेको छैन । विमानकै कारण बुद्धलाई भारतले अनुमति नदिएको हो भने श्रीसँग त्यो जहाज छन् । उसलाई प्राधिकरणले किन दुई वर्षदेखि अनुमति नदिएर झुलाइरहेको हो ?’ नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले प्रश्न गर्दै भने । प्राधिकरणले श्रीलाई चार्टरको अनुमति दिएपनि सेडुलको अनुमति दिएको छैन ।

महानिर्देशक गौतमले नेपालगन्ज–दिल्ली उडानका लागि रुटको समस्या नरहेको बताए । उनका अनुसार, भारत महेन्द्रनगरबाट १६ देखि २४ हजार फिट उचाई दिन तयार रहेको छ । बुद्धले भारतबाट स्लट नपाउँदा नेपालगन्ज–दिल्ली उडान हुन सकेको छैन । महानिर्देशक गौतमले बुद्धले अनुमति पाएमा छिटो भन्दा छिटो नेपालगन्ज विमानस्थलको स्तरोन्नति हुने बताए ।

नेपालगन्ज विमानस्थललाई २०४० सम्ममा अन्तर्राष्ट्रिय मापदण्डको बनाउन ‘मास्टर प्लान’ बनाइएको छ । अहिले विमानस्थल १६६ विगाहा क्षेत्रफलमा फैलिएको छ । त्यसमा सय विगाहा जमिन थप्ने, तत्काल नै दुई सय मिटर रन वे थप्ने र भविष्यमा यसलाई दुई हजार ६०० मिटर बनाउने, विमानस्थललाई पूर्वतिर बिस्तार गर्ने, डुडुवा खोलालाई डाइभर्सन गर्नेलगायतको मास्टर प्लान बनाइएको छ ।

विमानस्थल विस्तारका लागि १२ अर्ब ५० करोड लाग्ने अनुमान गरिएको छ । विमानस्थललाई पूर्वतिर बिस्तार गर्ने हो भने अहिले नै जग्गा खाली गराएर मुअब्जा दिनु पर्ने मेयर राणाले प्रस्ताव गर्नुभयो । उहाँले २० औं वर्षअघिका व्यक्तिले अहिलेसम्म मुअब्जा पाउन नसकेको भन्दै छिटोभन्दा छिटो मुअब्जा दिन महानिर्देशक गौतमसँग आग्रह गरे । गौतमले यस विषयमा काठमाडौं फर्केपछि कुरा गर्ने अश्वासन दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले विमानस्थललाई बिस्तार गर्नै पर्ने भएकाले अहिले नै मुअब्जा दिएर जग्गा खाली गराउँदा राम्रो हुने सुझाव दिए । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष कृष्ण कार्कीले विमानस्थलसँग रोडको पश्चिममा रहेको ४६ विगाह जमिनले गर्दा शहरीकरण हुन नसकेकाले उचित व्यवस्थापन गर्न आग्रह गरे ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार ०६:५६