सूचनाको शक्ति - The Power Of Information

        

शिक्षामा माफियाको दबदवा, ‘बोर्डिङमा बर्सेनि शुल्क बढ्छ, गुणस्तर किन बढ्दैन ?’

बाँके । बाँकेको नेपालगन्जमा शैक्षिक माफियाहरूको बिगबिगी देखिएको छ । शैक्षिक माफियाहरूले बोर्डिङ् खोली शिक्षा दिने निहुँमा ब्रम्हलुट गर्दै आएका छन् । नेपालगन्जको शैक्षिक क्षेत्र माफियाको कब्जामा रहेको छ । उनीहरूले शिक्षालाई व्यापारको रूपमा अघि बढाएका छन् ।

बाँकेस्थित शिक्षा कार्यालय यसको रोकथाममा उदासिन छ । नेपालगन्जमा नाम चलेको कतिपय निजी विद्यालयले बर्सेनी शुल्क बृद्धि गर्ने गरेका छन् । यसले अभिभावक मर्कामा परिरहेका छन् । शुल्क महँगो लिने यस्ता विद्यालयको शैक्षिक गुणस्तर भने बर्सेनी खस्किदै गएको छ । राज्यको नीति विपरित कतिपय निजी विद्यालयले पोशाख, पाठ्यपुस्तकमै सिण्डिकेट लागू गरेका छन् ।

शिक्षाका निहुँमा ब्रम्हलुट गर्दै आएका कतिपय माफियाले आफना कुकर्महरू बाहिर आउन नदिने केही मिडियालाई समेत प्रभावमा पारेको खुलेको छ । उनीहरू मिडियामा लगानी गरेर मिडियालाई काम र विज्ञापन दिएर आफ्ना कुकर्म लुकाइरहेका छन् । स्थानीयस्तरमा मिडिया खोलको मिडिया मालकहरू पनि दुई समयको विज्ञापन पाउने आशामा लाखौ मूल्यका शैक्षिक माफियाका समाचार नछापी लुकाउने काममै सक्रिय भइरहेको नागरिक गुनासो छ ।

एउटा संवाददाताले शैक्षिक माफियाको समाचार लेख्यो भने मिडिया सञ्चालकले स्पष्टिकरण लिने र समाचार रोक्ने प्रबृतिको नेपालगन्जमा पनि विकास हुँदै गएको देखिएको संवाददाताहरू बताउँछन् । दुईसयको विज्ञापन आउने आशामा यसरी मारिने समाचारले लाखौ नागरिकको सूचना पाउने अधिकार बञ्चित भइरहेको नागरिकले बताए । अर्कोतिर शैक्षिक माफियाको मनोमानीले शिक्षामा विसगति मात्रै बढेको छैन शिक्षा चकलेट बेचेझै व्यवसायमा परिणत भइसकेको अधिकारकर्मी भोला महत बताउँछन् ।

इन्सेकका प्रदेश पाँच संयोजक समेत रहेका अधिकारकर्मी महत फेसबुक स्टाटसमा लेख्छनस् ‘नेपालको संविधानको मौलिक हकमा माध्यमिक तहसम्मको शिक्षा निस्शुल्क पाउने हक छ, अहिले सरकारी विद्यालयमा भर्ना पाउनै गाह्रो छ, सामुदायीक विद्यालयमा अनेक थरीका शीर्षकमा लिने शुल्कबाहेक पनि कक्षा ७ को मासिक शुल्क रु.३ हजार ५०, गत वर्ष यो शुल्क २१ सय थियो, यो वर्ष बढाएर रु. ३०५० पु¥याएको रे !

अरु कक्षाहरूको पनि व्यापारीहरूले यही अनुपातमा बढाएकै होलान् । यो अचाक्ली र बेतिथिको अनुगमन गर्ने आधिकारीक निकाय खै । जागौ र उठौ र बेतिथिका बारेमा संगठित हौं ।’ नेपालगन्जमै नाम चलेका विद्यालयले शैक्षिक क्षेत्रको नाममा व्यापार गर्दै आएको उनले बताए । उनकाअनुसार यहाँका नाम चलेका भनिएका निजी विद्यायले बर्सेनी शूल्क बृद्धि गर्ने तर, शैक्षिक गुणस्तरमा सुधार नगर्ने गरेका छन् ।

नेपालगन्जमा महँगो र कमसल हुने हुँदा रूपैडियाबाट पोशाक खरिद गर्नुपरेको छ । कापी कलम रूपैडियामै खरिद गरेपनि पाठ्यपुस्तक भने नेपालगन्जमै किन्दै आएका छन् । नागरिक अगुवा कृष्णजंग शाह अधिकारकर्मी महतको स्टाटसमा कर्मेन्ट गर्दै ‘शिक्षा लुटेराको हातमा परेको’ बताउँछन् । निजी विद्यालय सञ्चालक हेमन्तराज काफ्लेले उक्त स्टाटसमै विद्यार्थी आफ्नो विद्यालयतिर पठाईदिन अधिकारकर्मी महतसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार ०९:२४