बाँके । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज भव्य समारोहका बीच उद्घाटन गरिएको छ । चैत २७ गतेबाट शुरु भएको प्रतियोगिताको आज औपचारिक कार्यक्रम गरी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जस्थित महेन्द्र रंगशालामा प्रतियोगिताको उद्घाटन गरेकी हुन् ।
प्रतियोगिताको उद्घाटन समारोह हुने भएपछि निर्धारित समयभन्दा दुई घण्टा अगाडि नै खेलाडी, प्रशिक्षक, पत्रकार, खेलकुद पदाधिकारी र सर्वसाधारणको रंगशालामा पुगेका थिए । साँझ ६ बजे प्रतियोगिताको उद्घाटन समारोह गर्ने भनेता पनि अपरान्हको चारबजे नै रंगशाला प्रवेश गर्नेको घुइँचो रहेको थियो ।
‘आठौ राष्ट्रिय खेलकुद, हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने नाराका साथ शुरु भएको प्रतियोगितको राष्ट्रपति भण्डारी साढे ६ बजे समारोहस्थल पुगेपछि नेपाली सेनाको संगित धुन बजाएपछि उद्घाटनको रौनक छाएको थियो । राष्ट्रपति भण्डारी पुग्नेवितिकै सात वटा प्रदेश, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र गैरनेपाली आवासिय संघ (एनआरएन) गरी ११ टोलीले मार्चपास गरेका थिए ।
मार्चपासको अग्रपक्ति र पछिल्लो पक्तिमा शसस्त्र प्रहरीका १२८ जनाबाट टोली रहेको थियो भने बीचमा सातै प्रदेश, नेपाली सेना र नेपाल प्रहरीका खेलाडीहरु सहभागि रहेका थिए । मार्चपासमा नेपाली राष्ट्रिय झण्डा, आठौ खेलकुदको झण्डा, मस्कट र लोगो सहित खेलाडी सहभागि भएका थिए ।
उद्घाटन समारोहमा ६ औ र ७ औ प्रतियोगितामा एथलेटिक्सतर्फ स्वर्ण पदक विजेता कृष्णा थालो राष्ट्रिय झण्डा वोकेका थिए । मार्चपासपछि प्रदेश नं. ५ का कलासंस्कृति झल्कने थारु, मगर, गुरुङ्ग, मधेशी, मुस्लिम, शिख समुदायले नाच, कला प्रस्तुत गरेका थिए ।
उक्त कला संस्कृतिले चासो पूर्वक राष्ट्रपति भण्डारी सहित युवा तथा खेलकुदमन्त्री जगतवहादुर विश्वकर्मा, प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले हेरेका थिए । करिव दुई घण्टासम्म संचालन भएको उद्घाटन समारोह साँझ पर्दाझै रौनक भरिएको थियो । साढे ६ बजेबाट शुरु भएको प्रतियोगितामा साढे ८ बजेसम्म संचालन भएको थियो ।
जुनेली रातसंगै प्याराफिटमा वलेका बत्तिले उद्घाटनलाई मनमोहक बनाएको थियो । प्रतियोगितामा खेलकुदमन्त्री तथा प्रतियोगिता मुल आयोजक समारोहका अध्यक्ष जगतवहादुर विश्वकर्माले प्रतियोगिताको झण्डोत्तोलन गरेका थिए । यस्तै उद्घाटन समारोहमा खेलाडीका तर्फबाट जुडोका युथ ओलम्पियन सोनु भट्ट र निर्णायकका तर्फबाट भारोत्तोलन खेलका पूर्व अन्तराष्ट्रिय खेलाडी समसुद्दिन सिद्धिकीले सपथ खाएका थिए ।
समारोहमा सांसद कोमल वलीले मञ्चमा खेलकुदसम्बन्धि गीत गाएपछि झनै माहोल तातेको थियो । सांसद वलीको गीतसंगै खेलाडीहरु नाचेका थिए । यस्तै साँझ पर्दै गर्दा नेपाली सेनाको खुकुरी नाच ‘खुकुरी ड्रिल’ र यहाँका विद्यार्थीको मार्चपिटीले समारोहलाई अझ भव्य बनाएको थियो । समारोहमा विराटनगरबाट शुरु गरिएको ‘ओलम्पियन टर्च’लाई रंगशालामा खेलाडीहरुले धुमाउनु भएको थियो । ११ जना खेलाडीले उक्त टर्च वालेर रंगशाला बरिवरि धुमाएका थिए ।
विराटनगरबाट शुरु गरिएको उक्त टर्च सातै वटा प्रदेशमा पुगि बुधबार नेपालगञ्ज ल्याइएको थियो । आठौ खेलकुदको उक्त टर्च घुमाइसकेपछि ओलम्पियन खेलाडी सुरेन्द्र हमालले ज्योति प्रज्वलन गरेका थिए । समारोहको अन्त्यमा सहभागिलाई मनोरञ्जन प्रदान गर्नका लागि आतिशबाजी (पटाका पटकाइएको) गराइएको थियो । आधा घण्टासम्म आकाशमा आतिशबाजी गदै दर्शकलाई मनोरञ्जन प्रदान गरिएको थियो ।
सत्यपाटी - ।