सूचनाको शक्ति - The Power Of Information

        

अब्बल बन्दै सामुदायिक विद्यालय

बाँके । सामुदायिक विद्यालयमा पढेका विद्यार्थीको पढाइ राम्रो हुँदैन भन्ने आम अभिभावकको सोचाइमा परिवर्तन आउन थालेको छ । बाँकेका कतिपय सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा ल्याई अब्बल देखाउन सफल भएकाले यतिबेला अभिभावक सामुदायिक विद्यालय खोज्दै हिँड्न थालेका छन् ।

खजुरा र बैजनाथ लगायतका गाउँपालिकाका कतिपय विद्यालयले विद्यार्थी बोक्नका लागि गाडी खरिद गरेका छन् । कतिपय विद्यालयमा अंग्रेजी माध्यममा पढाई सञ्चालन गरिएको छ । विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र समुदायबीचको राम्रो अन्तरसम्बन्धका कारण सार्वजनिक विद्यालयहरूले केही वर्षयता व्यवस्थापन र गुणस्तर दुवैमा उल्लेख्य सुधार हासिल गर्दै आएका छन् ।

जसले गर्दा अभिभावकमा सार्वजनिक विद्यालयप्रतिको सोच बदलिएको छ । खजुराको आदर्श मावि डीगाउँ, ज्ञानोदय नमूना मावि खजुरा र जनता नमूना मावि सन्तकुटी र बैजनाथको जीगाउँमा रहेको प्रभात माध्यामिक विद्यालयले अंग्रेजी माध्यम सुरु गरेपछि विद्यार्थीको संख्या बर्षेनि बढिरहेको छ । आदर्श माविका प्रधानाध्यापक राजेन्द्र सापकोटाले संस्थागत विद्यालय छोडेर विद्यार्थीहरु आदर्श माविमा भर्ना भएको जानकारी दिए ।

आदर्श माविले नर्सरीदेखि कक्षा पाँचसम्म अंग्रेजी माध्यममा पढाई सुरु गरेको छ । विद्यार्थीलाई विद्यालयसम्म सकुशल ल्याउन र घरसम्म पुर्याउनका लागि आदर्श माविले गतबर्ष बस खरिद गरेपछि यसबर्ष विद्यार्थीको संख्या झनै बढ्ने प्रअ सापकोटाको अनुमान छ । आदर्श लगायतका कतिपय विद्यालयले संस्थागत विद्यालयजस्तै पिङ, झुला लगायतका खेल सामग्री सामुदायिक विद्यालयमा राखिएका छन् ।

बाँकेमा रहेकामध्ये धेरै सामुदायिक विद्यालयले हरेक वर्षको एसइईमा सतप्रतिशत उत्तिर्ण गराउन सफल हुँदै आएको तत्कालिन जिल्ला शिक्षा कार्यालयको रेकर्डले पनि देखाउँछ । बाँकेका कतिपय निजी स्कुललाई सरकारीसँग प्रतिस्पर्धा गर्न धौ–धौ छ । कम शुल्कमा निजी स्कुलको भन्दा राम्रो शिक्षा, भविष्यमा उच्च शिक्षा अध्ययनका लागि सरकारले दिने छात्रवृत्ति लगायतका अवसरले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको चाप बढिरहेको छ ।

कतिपय सामुदायिक विद्यालयले शिशु कक्षादेखि नै अंग्रेजी माध्यममा पढाउने गरेका छन् । अहिले अभिभावकले आफ्ना छोराछोरीलाई बोर्डिङ स्कुलबाट निकालेर सरकारी विद्यालयमा भर्ना गर्ने क्रम बढेको छ । सरकारले निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयका विद्यार्थीका लागि उच्च शिक्षा अध्ययनका विभिन्न अवसर र छात्रवृत्तिमा प्राथमिकता दिन थालेपछि माथिल्लो कक्षामा पुगेका विद्यार्थीलाई सरकारी विद्यालयमा भर्ना गर्ने क्रम बढेको छ ।

‘हामीले राम्ररी व्यवस्थापन गरेर विद्यालय चलाएका छौं, रिजल्ट राम्रो छ, अध्ययनका लागि आवश्यक पूर्वाधारयुक्त छ, धेरै मिहिनेत गरेर पढाउँछौं भने आफ्नै छोराछोरीलाई किन अन्यत्र पढाउने ?’ प्रधानाध्यापक सापकोटाले भने, ‘कुनै निजी विद्यालयभन्दा हामी कुनै कुरामा कम छैनौं ।’ अधिकांश नेपालीको आयस्तर न्यून छ । त्यसैले महँगो विद्यालयमा पढाउन सक्ने हैसियत कमैको हुन्छ ।

तर, विज्ञापन र प्रतिस्पर्धाले धेरै अभिभावक निजी विद्यालयमै पढाउनुपर्ने वा विद्यार्थी पनि निजीमा पढ्दा मात्र राम्रो हुन्छ भन्ने बाध्यता वा भ्रममा अभिभावक रहेको बाँकेका सामुदायिक विद्यालयका शिक्षकहरू बताउँछन् । राम्रो छनोट गर्न सक्ने हो भने निजीले थोपर्ने व्ययभारबाट मुक्त हुन सकिन्छ । किनकी सामुदायिक विद्यालयमा शैक्षिक शुल्क निजीको तुलनामा धेरै नै सस्तो भएको उनीहरूको भनाई छ ।

‘बढी शुल्क लिने विद्यालय राम्रो हो कि भन्ने पर्छ तर त्यस्तो होइन, सामुदायिक विद्यालयहरूले कम शुल्क लिएर पनि राम्रो अध्यापन गराइरहेका छन् । सामुदायिकमा तालिमप्राप्त शिक्षक बढी छन्,’ शिक्षा विकास तथा समन्वय इकाई बाँकेका निमित्त प्रमुख उद्धव श्रेष्ठले भने, ‘त्यसैले व्यवस्थापन राम्रो भएका विद्यालयका शिक्षकको गुणस्तरमा प्रश्न गर्नुपर्ने अवस्था छैन ।’

समय–समयमा सरकारले नै त्यस्ता शिक्षकलाई तालिमको व्यवस्था गर्ने भएकाले उनीहरूमा अतिरिक्त योग्यता हुन्छ सामुदायिक विद्यालयबाट अध्ययन गर्नेहरू सरकारीलगायत जागिरका क्षेत्रमा बढी जाने गरेका छन् । लोकसेवा आयोगको पछिल्लो तथ्यांकअनुसार बर्षेनि करिब ६ लाखको हाराहारी आवेदन पर्ने गरेको छ । त्यसमा पनि सामुदायिक विद्यालय पढेर उच्च शिक्षामा गएकाहरूकै बाहुल्यता छ ।

सामुदायिक विद्यालयमा विभिन्न प्रकारका छात्रवृत्ति सुविधा हुन्छन् । समुदायको स्रोतबाट समेत चल्ने भएकाले त्यहाँ विभिन्न आर्थिक कोष बनाएर विद्यार्थीहरूका लागि छात्रवृत्ति राख्ने गरिन्छ । त्यसबाहेक सरकारले नै तोकिदिएको करिब तीन प्रतिशतलाई दिनैपर्ने छुट्टै छात्रवृत्ति त छँदैछ । पछिल्लो समयमा सरकारले सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयको रूपमा विकास गर्ने नीति लिएको छ ।

एक निर्वाचन क्षेत्रमा कम्तीमा एक प्राविधिक शिक्षालयको योजना सरकारको छ । त्यही योजना अन्तरगत माध्यमिक तहमा हाल २४० वटा विद्यालयमा प्राविधिक विषय पढाइ हुन्छ । तीमध्ये ६० वटाभन्दा बढी विद्यालयमा पनि प्राविधिक पढाइ हुन थालेको छ । प्राविधिक अन्तरगत विद्यालय तहबाट कृषि, कम्प्युटर, सिभिल इन्जिनियरिङ लगायतका विषय पढाई हुन थालेपछि प्राविधिक विषय पढ्ने विद्यार्थीका लागि सामुदायिक विद्यालय उपयुक्त बन्न थालेका छन् ।

प्राविधिक विषय पढ्न धेरै ठूलो अतिरिक्त शुल्क तिर्नुपर्दैन । नियमित शुल्ककै हाराहारीमा पढ्न पाइन्छ । कतिपय सामुदायिक विद्यालयहरुमा भने व्यवस्थापकीय कमजोरी रहे पनि पछिल्लो समयमा सुधार्दै गएको पाइन्छ । अहिले शिक्षाको सबै अधिकार स्थानीय तहमा सरेको छ । स्थानीय तहहरुले निजी तथा सरकारी विद्यालयको अनुगमन गर्न थालेपछि धेरै सामुदायिक विद्यालयले व्यवस्थापकीय कमजोरीहरुलाई सुधार्दै गएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार ०५:३६