बाँके । पश्चिम नेपालका बजार तथा ग्रामीण बस्तीमा अवैध गुट्खाको कारोबार बढेको छ । जसमा मेघाश्री नाम गरेको गुट्खाले त राजश्व नै छली गरेर बिक्री वितरण गर्दै आएको खुलेको छ । गुुट्खामध्येकै स्वास्थ्यका लागि सबैभन्दा हानिकारक मानिने मेघाश्रीले नेपालगन्ज र यस पश्चिमका बजारमा राजश्व छलेर बिक्री गरेको छ ।
सरकारले आर्थिक वर्ष २०७१/०७२ देखि लागू हुने गरी सूर्तीजन्य पदार्थमा कडाइ गरे पनि कार्यान्वयन पक्ष फितलो भएका कारण मेघाश्री गुट्खा तथा सूर्तीजन्य पदार्थको अवैध कारोबार मौलाउँदै गएको छ । सूर्तीजन्य ऐन २०६८ ले सार्वजनिक स्थालमा चुरोट, बिँडी, गुट्खा र कंकड सेवनमा रोक लगाएको छ ।
तर, कानुनमा व्यवस्था भएअनुसारको काम गुट्खा उत्पादकले पालना गरेको देखिँदैन । पछिल्लो समय कैलालीबाट उत्पादन हुँदै आएको मेघाश्री र सुपर पावर भन्ने सूर्ती उद्योगले सरकारको कानुनी व्यवस्थाको खिल्ली उडाउँदै पश्चिम नेपालका बजार तथा गाउँमा कब्जा जमाएको छ । सरकारका सम्बन्धित निकायबाट समयमा बजार अनुगमन नहुँदा अहिले बजारमा राजश्व छलेर बिक्री भइरहेको मेघाश्रीको खुलेयाम कारोबार भइरहेको छ ।
यसको पछिल्लो उदाहरणका रूपमा केही ददिन अघि राजस्व छली लैजाँदै गरेको १४० बोरा गुट्खा बरामद भएको थियो । कैलाली जिल्लास्थित श्रीदेउती गुट्खा इण्डष्ट्रिजबाट लक्ष्मी टेड्रिङ कोहलपुरमा उक्त गुट्खा पठाउन लागेको विल प्राप्त भएको कोहलपुर प्रहरीले बताएको छ । बरामद गरिएको मेघाश्रीको मुल्य अन्दाजी १२ लाख रहेको थियो । यसबाट पनि मेघाश्रीले अवैद्यरूपमा सरकारलाई राजश्व छलेर कारोबार अघि बढाएको स्पष्ट भएको छ ।
सहर तथा गाउँका चिया पसल, किराना पसल र होटलहरुमा समेत त्यस्ता खैनी तथा गुट्खाहरु बिक्रीवितरणको लागि राखेको भेटिन्छ । माग बढेसँगै अवैधरुपमा विना स्टिकर उत्पादन भएका गुट्खा जहीँतहीँ भेटिन थालेका छन् । उक्त गुट्खा अहिले खुल्लमखुल्ला बिक्रीवितरण भइरहँदा समेत सरकारी निकाय मौन छ । एकदमै हानिकारक मानिएको उक्त मेघाश्रीका बारे बुझन खोज्दा श्रीदेउती गुट्खा इण्डष्ट्रिजका कुनै पनि प्रतिनिधीसँग सम्पर्क हुन सकेन ।
सत्यपाटी - ।