सूचनाको शक्ति - The Power Of Information

        

सरकारी गाडीको दुरूपयोग : जिससको गाडी गुलरियाबाट खाजा खान नेपालगन्ज !

बाँके । नेपालगन्जदेखि बर्दिया सदरमुकाम गुलरिया ३५ किलोमिटरको दरीमा छ । गुलरिया त्यसै पनि सुविधा सम्पन्न ठाउँ हो । नेपालगन्जमा पाइने धेरै सुविधाहरु गुलरियामै पनि पाइन्छन् । शैक्षिक, साँस्कृतिक, पर्यटकीय हिसाबले मात्रै नभई होटर रेष्टुराँहरु सुविधा सम्पन्न नै छन् ।

रेष्टुरेन्टमा पाइने सेकुवा, भुटन, छोइला, मःम लगायतका धेरै परिकारहरु नेपालगन्जकै तुलनामा स्तरीय र स्वादिष्ट पाइन्छन् भने सँगै अल्कोहलजन्य पदार्थ नपाउने कुरै भएन । तर, उस्तै खाजा खानका लागि सरकारी कर्मचारीदेखि जनप्रतिनिधि नेपालगन्ज आउनैपर्छ भन्ने छैन । सामान्य खाजा गुलरियामै पनि पाइन्छ ।

खाजा खानकै लागि बर्दियाबाट सरकारी गाडीको दुरूपयोग गर्दै नेपालगन्ज आउनुपर्ने कारण नै छैन । तर बर्दियाका सरकारी निकायका गाडीको दुरुपयोग वर्षौंदेखि यसरी नै हुँदै आएको छ । अझ नीति बनाउने र त्यसलाई कार्यान्वयन गराउने भूमिकामा रहेका उपल्लो तहका कर्मचारीबाटै सरकारी गाडी चरम दुरूपयोग हुने गरेको छ ।

सरकारी सम्पत्ति दुरूपयोग राज्य कोषमाथि दोहन हो । दुरूपयोग नियन्त्रण गर्न सरकारले तदारूकता नदेखाउनु भने विडम्बनापूर्ण छ । दलका नेता, सरकारी कर्मचारी विभिन्न पदाधिकारीले सरकारी गाडी आवश्यकताभन्दा बढी प्रयोग गरिरहेका छन् । खासगरी सरकारी निकायमा गाडी प्रयोगका विषयमा नीति नभएकैले दुरुपयोग बढेको देखिन्छ ।

बर्दियाको जिल्ला समन्वय समितिका पदाधिकारी र कर्मचारीले सरकारी गाडीको चरम दुरूपयोग गरेका छन् । जिसस सभापति समेतको सहभागीतामा त्यहाँका लेखापाल, इन्जिनियर र ओभरसियरले सरकारी गाडीको दुरूपयोग गरेको भेटिएको छ । बिहीबार साँझ होण्डाई कम्पनीको रातो रंगको सेतो नम्बर प्लेटको गाडी नेपालगन्जको वीपी चोकमा रोकिएको थियो ।

जहाँ नेपालगन्जका चलेका गण्डकी, फेवा र सिर्जना लगायतका रेष्टुरेन्टहरु छन् । उक्त गाडीबाट दुई जना सरकारी पोशाकधारी कर्मचारी र दुई जना गैरपोशाकमा सानदारका साथ झरे । चाकलले गाडी नेपालगन्ज उपमहानगर अघिको पार्किङमा लगेर राखे । ती कर्मचारी गण्डकी होटलभित्र पसे र रमाए ।

गण्डकी होटलमा अझै सरकारी गाडी जसमा नियमन गर्ने निकायका प्रमुखसहित देखेपछि बल्ल थाहा भो यसरी हुँदोरहेछ सरकारी सम्पतिको दोहन । यतिसम्मकी गुलरियाबाट खाजा खानमात्र उनीहरू बा १ झ ७२४८ नम्बरको गाडीमा नेपालगन्ज आएका रहेछन् । जुन गाडी जिल्ला समन्वय समिति बर्दियाको थियो ।

पहुँचवालाले अनावश्यकरुपमा यसरी गाडी प्रयोग गरेर राज्य कोषमा आर्थिक भार थोपरिरहेका छन् । प्रस्ट मापदण्ड नभएकाले गाडी सुविधाका लागि दबाब दिने, नमाने सम्बन्धित कर्मचारीलाई सरुवा गरिदिनेजस्ता गैरजिम्मेवार कार्यसमेत कतिपय पदाधिकारी र कर्मचारीबाट हुने गरेका छन् ।

अझ सरकारी सवारीसाधन परिचालनसम्बन्धी एकीकृत निकाय र तथ्यांकसमेत नहुनु उदेकलाग्दो छ । सरकारी कार्यालयको प्रयोजनका लागि करोडौमा खरिद गरिएका सरकारी सवारी साधनहरु कार्यालयका उच्च अधिकारीले व्यक्तिगत र घरायासी मात्र नभई मदिरा पिउन होटल जाँदासमेत प्रयोग गर्दा यस्तो दुरुपयोग बढेको हो ।

सवारीसधानको सदुपयोग वा दुरुपयोग भएको छ भन्नेवारे कुनै निकायले अनुगमन गरेको छैन । बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूङ्गवाङ्गले बिहीबार जिससका कुनैपनि व्यक्तिले प्रशासनबाट बाहिर जिल्ला जानका लागि गाडी प्रयोगको अनुमति नलिएको बताए । उनले यस बिषयमा बुझने र यदि कर्मचारीले नै त्यस्तो गरेको भेटिए कारवाही गर्ने बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार १३:३१