सूचनाको शक्ति - The Power Of Information

        

भारत लैजाँदै गरेका चार बालकको उद्दार

बाँके । दलालमार्फत भारत लैजाँदै गरेका चार जना बालकको उद्दार गरिएको छ । नेपाल भारत सीमानाका रुपैडिहा हुँदै सिमला लैजान लागिएका बालकको जमुनाहाबाट उद्दार गरिएको हो ।

उद्दार गरिएका बालकहरु जाजरकोट जुनिचाँदे गाउँपालिका–५ गर्खाकोट घर भएका जयलाल बस्नेत, यज्ञ बस्नेत, कृष्ण बस्नेत र राम परियार छन् । उनीहरु अन्दाजी १३ देखि १५ बर्ष उमेरका रहेका छन् ।

महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्दै आएको ज्ञान नेपालले शंकास्पदरुपमा जान थालेको जानकारी पाएपछि सोधपुछ गरेको थियो । दलालले भारतको सिमलामा राम्रो काम लगाइदिने भन्दै आफुहरुलाई भारत लैजान लालेको बालकहरुले बताएका थिए ।

उद्दारपछि उनीहरुलाई सिविन नेपाल नेपालगन्जको जिम्मा लगाइएको छ । दलालले भने पहिले नै सीमानाका पार गरिसकेकाले थप बुझ्न नसकिएको ज्ञान नेपालका सहजकर्ता सपना विष्टले जानकारी दिइन् ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार १५:३४