बाँके । आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत नेपालगन्जमा आजबाट हक्की प्रतियोगिता सुरु भएको छ । नेपाल आर्मी र गण्डकी प्रदेशबीच भएको पहिलोे खेल बराबरीमा टुङ्गिएको छ । सुरुवातदेखि नै आर्मीले गण्डकी प्रदेशलाई दवावमा राखे पनि कुनै गोल गर्न सकेन ।
दुवै टिमले गोल गर्न नसकेपछि १÷१ अंक बाँडिएको छ । आर्मीले ११ पेनाल्टी कर्नर पाए पनि गोल गर्न नसकेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु)ले जानकारी दिए । गण्डकी प्रदेशले एउटा पनि पेनाल्टी कर्नरको अवसर पाएन । आजै भएको अर्को खेलमा प्रदेश नं. ३ का विरुद्ध प्रदेश नं. २ ले पाँच गोल गरेको छ ।
खेल अवधिभर प्रदेश नं. ३ लाई दवावमा राखेको २ नं. प्रदेशका खेलाडी मनोज शाहले २४ औँ मिनेटमा पहिलो गोल गरे । खेलको ३८ औँ मिनेटमा २ नं. प्रदेशका गोविन्द अधिकारीले दोस्रो गोल गरे । खेलको ५२ औँ र ५४ औँ मिनेटमा २ नं. प्रदेशका क्याप्टेन हरविन्द्र सिंहले दुई गोल गरे । आक्रामक बनेको २ नं. प्रदेशका खेलाडीले बललाई आफ्नो कोर्टतर्फ आउन दिएनन् ।
निरन्तर दवावमा राख्दै २ नं. प्रदेशका खेलाडी गोविन्द अधिकारीले ५६ औँ मिनेटमा अर्को गोल गरि आफ्नो टिमलाई अग्रता दिलाए । प्रतियोगितामा २ नं. प्रदेशले ६ पेनाल्टी कर्नर पाउँदा ३ नं. प्रदेशले एउटा मात्र पेनाल्टी कर्नर पाएको मुख्य प्रशिक्षक शर्माले जानकारी दिए ।
भोलीको पहिलो खेल गण्डकी प्रदेश र नेपाल पुलिस, दोस्रो खेल नेपाल आर्मी र प्रदेश नं.२ तथा तेस्रो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने मुख्य प्रशिक्षक शर्माले जानकारी दिए । उनका अनुसार बैशाख ३ गतेदेखि सेमीफाइनलका खेल हुनेछन् भने बैशाख ४ गते फाइनल खेल हुनेछ ।
सत्यपाटी - ।