सूचनाको शक्ति - The Power Of Information

        

भन्सार नतिरेरै नेपालमा भारतीय गाडीको ओहोरदोहोर

बाँके । बाँकेमा पछिल्ला केही वर्षयता भारतीय गाडीको प्रयोग बढ्दै गएको छ । नेपालगन्ज भारतको बहराइचसँग सीमा जोडिएका कारण सहजै ओहोरदोहोर गर्न सकिने भएकाले यसको प्रयोग बढ्दै गएको हो ।

यसरी गुड्ने अधिकांश गाडीले भन्सारमा राजस्व दाखिला नगरेरै निर्वाधरुपमा गाडी गुडाउँदै आएका छन् । भारतीय नम्बर प्लेटका सवारीसाधनमा अंकुश लगाउनेतर्फ कसैको ध्यान जान सकेको छैन । विनाभन्सार जिल्लामा निर्वाधरुपमा भारतीय गाडीको प्रयोग बढेको छ ।

सीमामै रहेको बाँके प्रहरी मुकदर्शक बनेर बसेको आरोप स्थानीयले प्रहरीमाथि लगाएका छन् । पछिल्लो समय सदरमुकाम नेपालगन्ज, कोहलपुर, खजुरा र आसपासका क्षेत्रमा भारतीय गाडीको प्रयोग व्यापकरुपमा भइरहेको छ ।

जसका कारण जिल्लामा आपराधिक घट्ना, दुर्घटनामा वृद्धि भएको र बेथिति बढ्दै गएकोे भन्दै प्रहरीमाथि प्रश्न उठ्न थालेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौडेल भारतीय गाडीको विषयमा छलफल भइरहेको बताउँछन् ।

विना भन्सारमा भारतीय गाडीमाथि कडाई गर्ने हो भने आपराधिक घट्नामा कमी आउने, दुर्घटना कम हुने र राजस्वसमेत उठ्ने भएकाले आपूm चाँडै नै यसको अनुगमन तथा नियन्त्रणमा लाग्ने उनले बताए ।

आर्थिक अध्यादेशमा भारतीय गाडी नेपाल प्रवेश गर्दा अस्थायी पैठारी अन्तरगत शुल्क बुझाएर वर्षमा ३० दिनमात्र चलाउन पाउने प्रावधान छ । तर, नियम विपरित यस्ता गाडी पाँच÷६ वर्षदेखि निर्वाधरुपमा जिल्लामा चल्दै आएका छन् ।

यसअघि जिल्ला प्रहरी कार्यालयले सीमा क्षेत्रमा बढ्न सक्ने अपराधका घटनालाई मध्यनजर राख्दै जिल्लाभित्र भन्सार राजस्व तिरेर प्रवेश गरेका गाडीको फोटोसहित अभिलेख राखी कडाइ गर्ने भनेको थियो । सरकारी बेवास्ताका कारण हालसम्म यो कार्यान्वयनमा आउन सकेको छैन ।

भन्सारमा भारतीय गाडी अहिले चेकजाँचसमेत हुन छाडेकोप्रति स्थानीय चिन्तित बन्न पुगेका छन् । जथाभावी विनाभन्सार प्रवेश गर्ने र नियमविपरित चलाइने भारतीय गाडीलाई कारबाही हुनुपर्ने स्थानीय खुमानन्द अर्यालको माग छ ।

प्रदेश सरकारका मन्त्री, दलका नेता, स्थानीय सरकारका प्रमुखहरुले समेत निर्वाधरुपमा भारतीय गाडीको प्रयोग गर्ने गरेकाले समेत प्रहरीलाई यसको प्रयोगमा अंकुश लगाउन अफ्ठ्यारो परेको प्रहरीले जनाएको छ ।

आपूmहरुले भारतीय गाडी फेला पारेको बखतमा नियमानुसार कारबाही गर्दै आएको जमुनास्थित प्रहरी चौकीका इन्चार्ज बसन्त बस्नेतले बताउनुभयो । भारतीय कार, जिप, बस, टयाक्टर, ट्रक प्रयोग गर्दा दैनिक रु.४५२ भन्सार राजस्व तिर्नुपर्ने नियम छ । मोटरसाइकलको रु.१०० र तीन पाङ्ग्रे सवारीको रु.३०० तिर्नुपर्छ ।

ट्रयाक्टरको रु.२०० र ट्रेलरसमेत भए रु.४०० राजस्व तिर्नुपर्छ । कडाइ नभएका कारण अधिकाशंले भन्सारबिनै भारतीय गाडी चढने गरेका छन् । कानूनतः राजस्व तिरेर नेपाल प्रवेश गर्ने भारतीय गाडी एक महिनाभन्दा बढी नेपाली भूमिमा बस्न नपाउने व्यवस्था छ । ३५ दिनसम्म भन्सार राजस्वविनै बसेको पाइए गाडी जफत हुने प्रावधान रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार १४:०६