सूचनाको शक्ति - The Power Of Information

        

सुरु भयो ‘खेलकूदको महाकुम्भ’, आज पाँच खेल

बाँके । छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन करिब ५ वर्ष लाग्यो । पटक पटक मिति सर्दै जाँदा बल्लतल्ल पूर्वाञ्चलमा ०७३ पुसमा प्रतियोगिता सम्पन्न भयो । सातौंको समापनसँगै आठौंको आयोजना गर्ने जिम्मा मध्यपश्चिमलाई आइलाग्यो ।

प्रतियोगिता आयोजनाका लागि राष्ट्रिय खेलकूद परिषदले ०७५ मंसिर २१ देखि २८ गतेसम्मको मिति तोक्यो । अन्तिम समयमा सो मितिमा प्रतियोगिता हुन नसक्ने भन्दै माघ २५ देखि फागुन ३ गतेसम्मलाई नयाँ मिति तोकियो । सो मितिमा पनि सम्पन्न हुन नसक्ने भएपछि फागुन २५ गतेदेखि प्रतियोगिता सुरु हुने गाँईगुँई हल्ला चल्यो ।

प्रतियोगिता सर्दै जाँदा खेलप्रेमीहरु माझ अविश्वास बढ्दै गयो । सातौं धकेलिएजस्तै धकेलिने चिन्ता सबैमा थियो । तर, राखेपले बैशाख ५ देखि ११ गतेसम्म गर्ने घोषणा गरेर निर्माणका कार्यमा तीव्रता दिएसँगै आठौंलाई सफल बनाउन बाँकेबासी उत्साहपूर्वक खटिएका छन् । उद्घाटन र समापन नेपालगन्ज रंगशालामा हुने प्रतियोगिता रोकिने आंशकाहरु निकै टाढा भइसकेका छन् ।

राखेपले आयोजना गर्ने कुनै पनि ठूला प्रतियोगिता तोकिएको मितिमा सम्पन्न नभएका यसअघिका रेकर्डहरु तोड्दै सातौं सम्पन्न भएको दुई बर्षमै आठौं सफल बनाउने अभियानलाई तीव्र बनायो । यसअघि तोकिएकै समयमा प्रतियोगिता सम्पन्न गर्ने दाबी गरेका खेलकूद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम वली अघिल्ला दुई वटा मिति सर्नुमा बजेटको ढिलाइका कारण भएको बताउँछन् ।

उनी भन्छन्, ‘बजेट समयमै आएन । बजेट नआउँदा पूर्वाधार निर्माणमा ढिलाइ भयो, बाध्य भएर मिति सारिएको हो ।’ करिब तीन महिना पूर्वाधार निर्माणको कार्य ठप्प हुँदा अहिले पूर्वाधार निर्माणमा थप भार परेको उनको भनाई छ । ‘असार, साउन र भदौ तीन महिना बजेट अभावको कारण निर्माण कार्यहरु अघि बढ्न सकेन । अहिले निर्माणका कामहरु तीव्ररुपले भइरहेका छन्,’ उनले भने ।

‘घरेलु खेलकुदको ओलम्पिक’जस्तै राष्ट्रिय खेलकुद प्रतियोगितालाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी चयनको प्रमुख आधारका रुपमा पनि लिइन्छ । प्रदेश ५ का अध्यक्ष वलीले भने, ‘आजदेखि खेलहरु सञ्चालन हुँदैछन् । खेलकुद मन्त्रालय, राखेप, प्रदेश समिति र सम्पूर्ण बाँकेबासी आठौंको महायज्ञमा होमिनुभएको छ । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि हामी लागिपरेका छौं ।’

नेपालको प्रतिनिधित्व गर्दै सबैभन्दा बढि अन्तर्राष्ट्रिय पदक जित्ने नेपालगन्जका भारत्तोलन खेलाडी शमसुद्दिन सिद्धिकीले भने, ‘यसपटक भौतिक पूर्वाधार निर्माणको हिसावले कोशेढुङ्गा नै सावित भएको छ ।’ चौथो खेलकुदमा नेपालगन्ज रङ्गशाला र कभर्डहल कै भरमा सम्पन्न भएको स्मरण गर्दै सिद्दिकीले आठौंमा भौतिक पूर्वाधार निर्माणको हिसावले धेरै काम भएको बताए ।

भारत्तोलनमा ६ रजत र ९ काश्य पदक जितेका सिद्दिकीले चौथो खेलकुदमा खेलाडीलाई पुरस्कार रकमको पनि ब्यवस्था नभएको स्मरण गर्दै भने, ‘विगत र वर्तमान धेरै फरक छ । अहिले खेलाडीका लागि पुरस्कार रकम व्यवस्था गरिएको छ । यसले खेलाडीहरुको आत्मबलसँगै सफलताका लागि थप प्रोत्साहन गर्छ ।’ चौथो खेलकुद अभावका बीचमा सम्पन्न भएको उनले स्मरण गरे ।

सक्रिय खेल जीवनबाट राजनीति र खेलसम्वद्ध संघसंस्थामा रहेका सिद्दिकी नेपालगन्जमा हुने आठौं खेलकुदमा निकै उत्साहित देखिएका छन् । नेपालगन्जमा बिभिन्न खेलकुदका संरचना निर्माण हुँदा पूर्वखेलाडीहरु उत्साहित भएको बताउँदै सिद्दिकीले गर्मीले नेपालगन्जमा खेलकुद गर्न कुनै कठिनाई नहुने दावीसमेत गरे । गृष्मकालिन ओलम्पिक नै हुन्छ भने नेपालगन्जमा चैत बैशाखमा खेल हुन सक्दैन भन्नुको कुनै तुक नभएको उनको भनाई छ ।

सिद्दिकीले विगतमा छैठौं खेलकुदका क्रममा काठमाडौंमा सडकमा टेन्ट लगाएर भारत्तोलन प्रतियोगिता भएको उदाहरण दिँदै उनले भने, ‘नेपालगन्जमा सबैभन्दा स्तरीय हुन्छ ।’ आठौं खेलकुद सम्पूर्ण खेलाडी तथा आम नागरिकहरुका लागि राष्ट्रिय महोत्सव भएको भन्दै सिद्दिकीले यस प्रतियोगितालाई भव्य बनाउन पूर्वखेलाडीहरुको पनि भूमिका महत्वपूर्ण र अपरिहार्य रहेको बताए ।

२०५४ सालमा नेपालगन्जमा भएको चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा सिद्धिकीले भेरी अञ्चलका तर्फबाट प्रतिनिधित्व गर्दै भारत्तोलनमा स्न्याच, क्लिन एण्ड जर्क र टोटल गरी तीनवटा स्वर्ण जितेका थिए । दुई पटक नेपालको सर्वाधिक बलियो ब्यक्तिको उपाधि जितेका भारत्तोलन खेलाडी सिद्दिकी नेपालका तर्फबाट एशियन खेलमा समेत सहभागिता जनाएका थिए ।

प्रदेश ५ मा हुने आठौं खेलकुदमा ३५ खेल समावेश छन् । सातौं राष्ट्रिय खेलकुदमा समावेश गरिएको खेल स्नुकरलाई हटाएर अहिले पाराग्लाइडिङलाई राखिएको छ । प्रतियोगिता अन्तरगत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् ।

त्यसैगरी दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् । यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङ टेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ । बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ ।

प्रदेश नं ५ मा प्रतियोगिता आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौँमा गर्न लागिएको छ । प्रतियोगितामा सहभागी २ हजार ८२५ पुरुष खेलाडी र २ हजार ३८६ महिला खेलाडी सहभागी हुँदैछन् भने ६४० प्रशिक्षक र ४६१ टिम ब्यवस्थापक रहने छन् । प्रतियोगिता संचालन गर्न ९२२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक र ४७१ स्थानीय निर्णायक रहने राखेपले जनाएको छ ।

प्रतियोगितामा खेलाडीले ३७२ स्वर्ण, ३७२ रजत र ५६३ काश्यका लागि प्रतिस्पर्धा गर्ने छन् । व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामुहिकतर्फको विजेताले ७ हजार पाउने छन् । त्यस्तै राष्ट्रिय कीर्तिमान भङ्ग गर्नेले २५ हजार पाउने छन् । सातौंमा रजत र कांस्य विजेतालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएकोमा यसपल्ट कटौती भएको छ । स्वर्ण विजेतामा भने अघिल्लोपल्ट भन्दा ५ हजार थपिएको हो ।

प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय टिम त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र एक एनआरएनए टिमका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसका साथै वैशाख ५ मा उद्घाटन हुने भए पनि १३ खेलका स्पर्धा आज चैत २७ देखिनै सुरु हुनेछन् । ब्याडमिन्टन, बास्केटबल, हक्की, सुटिङ र प्याराग्लाइडिङको स्पर्धा चैत २७ देखि सुरु हुनेछ । बक्सिङ र सफ्ट टेनिसका खेल चैत २९ देखि सुरु गरिनेछ ।

आजदेखि प्रतियोगिता सुरु

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आजदेखि प्रतियोगिताका विभिन्न पाँच खेल खेलहरु सञ्चालन हुने भएका छन् । दाङको घोराही कभर्ड हलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगन्जको मंगलप्रसाद उमाविमा पुरुष हक्की, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

नेपालगन्जमा हुने पुरुषतर्फको हक्की प्रतियोगितामा सात प्रदेश र दुई विभागिय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लव र नेपाल आर्मीको त्रिभुवन आर्मी क्लव १६२ जना खेलाडीले प्रतिष्पर्धा गर्ने हक्कीका प्रमूख प्रशिक्षक विजयन्त शर्मा (पन्टु)ले जानकारी दिए । महिलातर्फका हक्की प्रतियोगितामा ६ वटा टिमले मात्र प्रतिष्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा ५ नं. प्रदेश र कर्णाली प्रदेशको सहभागिता नहुने भएको हक्की प्रतियोगिताका प्राविधिक प्रमुख रञ्जन थापाले जानकारी दिए ।

महिला हक्की प्रतियोगितामा १०८ जना खेलाडीले सहभागिता जनाउने भएका छन् । महिलातर्फ हक्की प्रतियोगिता भने ३० चैतदेखि गतेदेखि शुक्र मावि खजुरामा हुने थापाले बताए । उनका अनुसार, प्रतियोगितामा सहभागी हुने खेलाडी, ब्यवस्थापक र प्रशिक्षक नेपालगन्ज आइसकेका छन् भने प्रतियोगिताको सबै तयारी पूरा भइसकेको छ ।

यस्तो छ हक्कीको खेल तालिका

हक्की प्रतियोगिताका लागि खेल तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको तालिका अनुसार, समूह ए मा नेपाल आर्मी, गण्डकी प्रदेश, प्रदेश नं. २, ३ र नेपाल पुलिसको टोली रहेको छ । समूह वी मा प्रदेश नं. ५, १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश टोली रहेका छन् । प्रतियोगिताको पहिलो दिन आज तीन खेल हुने भएको छ ।
मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु)का अनुसार बुधवार विहान ७ बजे पहिलो खेल नेपाल आर्मी र नेपाल पुलिसबीच हुनेछ भने, दोस्रो खेल प्रदेश नं. २ र प्रदेश नं. ३ बीच तथा तेस्रो खेल प्रदेश नं. ५ र प्रदेश नं. १ वीच हुने छ । २८ चैतमा हुने पहिलो खेल गण्डकी प्रदेश र नेपाल पुलिस, दोस्रो खेल नेपाल आर्मी र प्रदेश नं. २ तथा तेस्रो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश वीच हुने शर्माले जानकारी दिए ।

उनका अनुसार २९ चैतमा गण्डकी प्रदेश र २ नं. प्रदेशबीच हुने भएको छ भने दोस्रो खेल नेपाल पुलिस र ३ नं. प्रदेशबीच प्रतिष्पर्धा हुनेछ भने तेस्रो खेल ५ नं. प्रदेश र कर्णाली प्रदेशबीच खेल हुनेछ । बैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३० चैतमा प्रदेश नं. ५ र सुदूरपश्चिम प्रदेश, प्रदेश नं. १ र कर्णाली प्रदेशबीच दोस्रो र नेपाल आर्मी र प्रदेश नं. ३ बीच हुने भएको छ ।

त्यसैगरी, बैशाख १ गते पहिलो खेल नेपाल आर्मी र नेपाल पुलिसबीच हुनेछ भने, दोस्रो खेल गण्डकी प्रदेश र ३ नं. प्रदेशबीच तथा तेस्रो खेल १ नं. प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने पनि प्रमूख प्रशिक्षक शर्माले जानकारी दिए । बैशाख २ गते एउटा खेलमात्र खेल २ नं. प्रदेश र नेपाल पुलिसबीच हुनेछ । बैशाख ३ गतेदेखि सेमीफाइनलका खेल हुनेछन् भने ४ गते फाइनल खेलसँगै पुरुषतर्फको हक्कीका खेलहरु सकिने छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार ०६:१५