सूचनाको शक्ति - The Power Of Information

        

खुद्रा रुपैयाँ नभएको बहानामा ग्राहक लुट्दै विद्युत प्राधिकरण !

बाँके । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको विद्युत महसुल भुक्तानी काउन्टरमा बसेका कर्मचारीहरुले चानचुन रकम फिर्ता नदिएर आफ्नै खल्तीतिर हाल्ने गरेको उपभोक्ताले गुनासो गरेका छन् । एकदेखि चार रूपैयाँसम्म कर्मचारीले फिर्ता दिदैनन् ।

रकम फिर्ता माग्दा खुद्रा छैन, एकछिन पर्खनुस्, अहिले खुद्रा छैन भन्ने जवाफ दिने गरेको उपभोक्ताको गुनासो छ । नेपालगन्ज उपमहानगरपालिको फुलटेक्राबाट सोमबार विद्युत् महशुल बुझाउन आएका सज्जन सिद्धिकीले पनि आफूले बिल तिरेपछि पाउनुपर्ने रकम फिर्ता नपाएको बताए । बाँकेमा प्राधिकरणका दुई वटा शाखा केन्द्र रहेका छन् ।

नेपालगन्ज शाखाले हेर्ने क्षेत्रमा साढे ५२ हजार उपभोक्ता रहेको प्राधिकरणका नेपालगन्ज प्रमुख रामदुलार यादवले बताए । उनकाअनुसार नेपालगन्ज शाखाले नेपालगन्ज, खजुरा, जानकी, डुडुवा र नरैनापुर हेर्ने हो । कोहलपुर, वैजनाथ र रापती सोनारी कोहलपुर फिडर शाखाले हेर्दै आएको उनी बताउँछन् ।

उनका अनुसार दैनिक औषत एक हजारको हारहारीमा उपभोक्ताले विधुतमा महशुल बुझाउँछन् । फिर्ता आउने रकम औषतमा दुई रूपैयाँ मात्रै राख्ने हो भने पनि प्रतिदिन दुई हजार र मासिक ६० हजार हुन आउँछ । जुन वार्षिक ७ देखि साढे ७ लाख रुपैयाँ हुन आउँछ । उक्त रकम विद्युतका कर्मचारीले एकआपसमा बाँड्ने गरेको स्रोत बताउँछ ।

‘सरकारी कार्यालयमा काउन्टरमा खुजुरा पैसा आवश्यक पर्छ भन्ने कर्मचारीलाई थाहा छैन र ? सिक्का पैसा बैंकबाट ल्याएर राखे खुद्रा हुदैन र ? दिनकै सयौं उपभोक्ता विल बुझाउन आउँछन् । एक–एक रुपैयाँ गरेपनि महिनामा त हजारौं रुपैयाँ जम्मा हुन्छ,’ उनले भने, ‘प्राधिकरणमा सानो रकममा ठूलो ब्रह्मालुट हुँदोरहेछ ।’

प्रायः उपभोक्ताले पाउने चानचुन रकम पाउदैनन्, यसको हिसाब गर्ने हो भने बार्षिकरूपमा लाखौ रकम कर्मचारीको खल्तीमा पुग्छ । आाफुले ग्राहकले पाउनुपर्ने चानचुन रकम ग्राहकलाई दिने र चानचुन रकम नभएको खण्डमा ग्राहकको विद्युत् खाता नम्बरको खातामा जम्मा गरीदिन कर्मचारीलाई निर्देशन दिएको प्राधिकरण प्रमुख यादव बताउँछन् ।

उनका अनुसार अहिलेसम्म यस बिषयमा लिखित उजुरी कुनै पनि उपभोक्राबाट आएको छैन । उनले भने, ‘यदि लिखितरूपमै उजुरी आएको अवस्थामा सम्बन्धीत कर्मचारीमाथि कारवाही हुन्छ । उजुरीबिनै कसलार्य कसरी र कुन आधारमा कारवाही अघि बढाउनु ।’

तर, कर्मचारीले चानचुन रकम फिर्ता नदिने र उपभोक्ताको खातामा पनि जम्मा नगर्ने गरेको उपभोक्ता बताउँछन् । सबै उपभोक्तलाई ग्राहक खाता नम्बरमा जम्मा हुन्छ भन्ने कुरा पनि थाहा नहुन सक्ने भएकाले सरकारी कर्मचारीको दायित्व अनुसार आफैले कि पैसा फिर्ता दिनु पर्ने कि सोधेर खातामा जम्मा गरीदिनुपर्ने कतिपय उपभोक्ताहरु बताउँछन् ।

यसरी प्राधिकरणमा खुलेआम सेवाग्राहीको रकम लुट्ने काम भइरहेको छ । फिर्ता आउनुपर्ने खुद्रा रकमको विषयमा विद्युत कर्मचारी र उपभोक्ताबीच चर्काचर्की नै हुने गरेको कारकाँदोका गोपाल खत्री बताउँछन् । फिर्ता रकम माग्दा कतिपय कर्मचारी त रिसाएर पैसा नभएको भन्दै जे मन लाग्छ त्यही गर्न उल्टै धम्की दिने गरेको उनी बताउँछन् ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलवार ११:२३