सूचनाको शक्ति - The Power Of Information

        

एकै परिवारका सदस्य फरक–फरक भूमिकामा

आठौँ राष्ट्रिय खेलकुद

कुमार श्रेष्ठ । बाँके । आठौँ राष्ट्रिय खेलकुद ढोकामै आइपुगेको छ । खेलाडी, प्रशिक्षक र पदाधिकारीहरु आ–आफ्नो उपस्थितिलाई ‘यादगार’ बनाउन लागि परेका छन् । यही माहोलमा सुटिङ खेलमा पारिवारिक राज गरेका पार्वती थापाका परिवार फरक–फरक भूमिकामा आठौँमा होमिएका छन् ।

सन् १९८८ को सियोल ओलम्पिक खेलेकी पार्वतीका नाममा राष्ट्रिय पदकको चाङ नै रहेको छ । छोरीमान्छे घर बाहिर निस्किनु हुँदैन भन्ने जमानामा उनले ओलम्पिक खेलेकी थिइन् । अहिले उनी प्रशिक्षकको भूमिकामा छन् । वि.सं. २०४६ मा करारबाट सुरु भएको प्रशिक्षकको जिम्मेवारी २०५२ सालमा आएर स्थायी भएको थियो ।

प्रशिक्षक थापाले आठौँमा आफ्नो क्षेत्रमा धेरै भन्दा धेरै पदक जिताउन मेहनत गरिरहेकी छन् । प्रशिक्षक थापालाई सुटिङको सामाग्री नहुँदा अलिकति तनाव भएको छ । उनी भन्छिन्, ‘बिग्रेको बन्दुकले अभ्यास गरेका छौँ । तर, पनि मेडलको आशा मारेका छैनौँ ।’ पार्वतीका भाई नरेन्द्र थापा यतिबेला मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रदेश ५ का उपाध्यक्ष छन् ।

उनी पनि सुटिङका अन्तर्राष्ट्रिय खेलाडी हुन् । आठौँको व्यवस्थापनलाई भब्य र सभ्य बनाउन नरेन्द्र लागेका छन् । एसियन गेम्सको अनुभव बटुलेका नरेन्द्रको नाममा तीन वटा राष्ट्रिय स्वर्ण पदक छन् । ‘नेपालगन्जलाई केन्द्रविन्दुमा राखेर भएको आठौँलाई सफल बनाउने हामी सबैको दायित्व रहेको छ,’ नरेन्द्रले भने, ‘हामी पदाधिकारी त दिनरात घोटिएकै छौँ ।’

पार्वतीकी बहिनी कृष्णा यतिबेला जोडतोडका साथ अभ्यासमा छन् । उनी छैठौँ र सातौँ राष्ट्रिय खेलकुदकी गोल्डमेडलिष्ट हुन् । आठौँमा पनि स्वर्णपदक जितेर ह्याट्रिक गर्ने लक्ष्यका साथ कृष्णा अभ्यासमा छन् । ‘आफ्नै ठाउँमा भएको आठौँमा पनि स्वर्ण पदक जित्न लागि परेकी छु,’ कृष्णाले भनिन्, ‘त्यसका लागि विहान र बेलुका कडा अभ्यास गरिरहेकी छु ।’

नेपालगन्जबाट अर्का गोल्डमेडलिष्ट बदरुद्दिन अन्सारीले पनि आठौँमा प्रतिस्पर्धा गर्दैछन् । उनी छैठौँ राष्ट्रियका गोल्डमेडलिष्ट हुन् । सुटिङ खेल भन्ने बित्तिकै नेपालगन्जको घरबारीटोलको नाम अगाडि आइहाल्छ । थापा परिवारमात्रै होइन, घरबारीटोलबाट अनिता श्रेष्ठले सुटिङमा ओलम्पिक खेलिन् ।

सन् १९९२ को बार्सिलोना ओलम्पिकको २५ औँ संस्करणमा अनिताले भाग लिएकी थिइन् । सन् १९९१ मा कोलम्बोमा भएको साफको पाँचौं संस्करणमा अनिताले सुटिङमा स्वर्ण पदक जितेकी थिइन् । घरबारीटोलबाट नै ओलम्पिक खेल्नेमा भारोत्तोलनका सुरेन्द्र हमाल, सुटिङका पार्वती थापा र अनिता श्रेष्ठ छन् । सुटिङका लागि नेपालगन्ज हब नै मानिन्छ ।

दुई–दुई जना ओलम्पियन जन्माएको नेपालगन्जले राष्ट्रिय पदकधारी धेरै जन्माएको छ । पार्वतीका तीन भाइबन्धुले आ–आफ्नो समयमा सुटिङमा राज नै गरे । नेपालगन्जमा सुटिङ रेञ्ज बन्नु पनि ओलम्पियन जन्मिएकाले हो । भौतिक पूर्वाधार निर्माणमा आठौँ राष्ट्रियले धेरै इट्टा थपिदिएको छ । थापाबन्धुका लागि आठौँ राष्ट्रिय अझ यादगार यस मानेमा हुँदैछ कि तीन जना दिदी, भाइ, बहिनी फरक–फरक भूमिकामा आठौँमा होमिएका छन् ।

 

#देश सञ्चार

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलवार ०८:११