सूचनाको शक्ति - The Power Of Information

        

अभ्यासमा ट्राफिक प्रहरी, हातको इसाराले ट्राफिक ब्यवस्थापन, ७२ सवारी कारवाहीमा

फाइल तस्वीर

बाँके । दिनहुँजसो चोक परिवर्तन, समय उस्तै उस्तै । नेपालगन्ज बजारमा सवारी हाँकिरहेका चालकहरु भने अनौठो मानिरहेका हुन्छन् । कहिले पुप्पलाल चोक, कहिले धम्बोझी चोक त कहिले बीपीचोक अनि कहिले साँझ त कहिले विहान ।

काठमाडौंका व्यस्त चोकहरुको ट्राफिक व्यवस्थापनजस्तै झल्को दिने गरी ट्राफिक व्यवस्थापनलाई तालिममा रहेका ट्राफिक प्रहरीले सघाइरहेका छन् । बाँकेमा सवारी साधनको संख्या बढिरहेकोले ट्राफिक व्यवस्थापनलाई निकै कठिनाई बनाइरहेको छ ।

अभ्यासमा रहेका ट्राफिक प्रहरीले पैदल यात्रुलाई जेब्राक्रसबाट कसरी पार गर्ने भन्नेसँगै चालक, सहचालक तथा सहयोगीलाई पनि ट्राफिक नियमहरुका बारेमा सिकाइरहेका हुन्छन् । त्यसो त यहाँका नागरिक भने ट्राफिक नियमप्रति अभ्यस्त भइसकेका छैनन् ।

ट्राफिक प्रहरीले अघि नबढ्न संकेत गर्दा पनि केही सवारीसाधनहरु जेब्रा क्रसिङभन्दा अघि बढ्न खोज्छन् अनि तालिमे ट्राफिक प्रहरीले नियम पढाउँछन् । धेरै अटेरी गरी ट्राफिक नियम मिच्नेलाई केहीलाई रोकेर कारवाही पनि गर्छन् ।

युवा अधिकारकर्मी विशाल रानामगरले सामाजिक सञ्जाल फेसबुकमा विचार पस्कँदै भनेका छन्, ‘मेरो शहरमा ट्राफिक व्यवस्थापनको यो अभ्यास देखियो । अब चोकचोकमा रातो, पहेलो, हरियो बत्ति (ट्राफिक लाइट) देख्ने इच्छा छ । कहिले पुरा होला ?’

उनले नेपालगन्जमा ट्राफिक बढेको महसुस गर्दै थपे, ‘अब हामीलाई रातो, हरियो र पहेँलोको आवश्यकता अर्थात् ट्राफिक लाइटको !’ नेपालगन्ज–कोहलपुर सडकखण्डको विस्तारपछि यो सडक खण्डमा सडक दुर्घटनाहरु पनि बढेका छन् ।

चार लेन सडकमा सवारी साधन हाँक्दा ध्यान नपुर्याउनु, लेन नियमको थाहा नहुनु, नमान्नु र जथाभावी बाटो काट्ने ठाउँहरु हुनु सडक दुर्घटनाका प्रमुख कारणहरु रहेको युवा अधिकारकर्मी राना मगरको बुझाई छ ।

उनले भने, ‘जबसम्म बाटो हिँड्नेहरु ट्राफिक नियम, लेन नियमका बारेमा सचेत भई त्यसको पालन गर्दैनन्, तबसम्म नगर क्षेत्रमा हुने दुर्घटना न्यूनीकरण हुन सक्दैन । ट्राफिक नियम पालन नभएको भन्दै जरिवाना काट्ने कामले मात्र ट्राफिक व्यवस्थापन चुस्त हुन सक्दैन ।’

सडकमा सुरक्षित हिँडडुल गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो । उनले भने, ‘सडक सुरक्षालाई प्रत्याभूत गर्नु राज्यको दायित्व । यो राज्यले प्रदान गर्नुपर्ने सार्वजनिक सेवा पनि हो । यसलाई व्यवस्थित बनाउन केही रणनीतिक कदम चाल्नु जरुरी छ ।’

नेपालगन्जमा सवारी साधनको चाप बढ्दै गएकाले यो आवश्यक ट्राफिक प्रहरी जनशक्तिको व्यवस्थापन गरी नियमित रुपमा यस्तो काम गरिएमा मात्र जनताहरु अभ्यस्त हुन्छन् र ट्राफिक व्यवस्थापन पनि प्रभावकारी हुन्छ ।

सवारी नियम उल्लंघन गर्ने प्रवृत्ति बढ्दै गएको समयमा तालिममा खटिएका ट्राफिक प्रहरीका कारण पनि केही समस्या समाधान भएको बाँकेका ट्राफिक प्रहरी प्रमूख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताए । ट्राफिक नियम अटेर गर्नेहरु पनि सचेत भएको उनले बताए ।

‘अभ्यासमा रहेका ट्राफिक प्रहरीले सबैलाई ट्राफिक नियमको पालना गराइरहेका छन्,’ प्रहरी निरीक्षक रोकायले भने, ‘ट्राफिक नियम नजानेर भन्दा अटेरीका कारण भएका दुर्घटना कम भएका छन् । मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्या पनि घटेको छ ।’

तालिममा रहेका ट्राफिक प्रहरीहरु सवारी आवागमनलाई सहज बनाउन अभ्यासमा खटिएको प्रहरी निरीक्षक रोकायले बताए । उनका अनुसार केहि दिनभित्रै नेपालगन्जका सबै चोकमा ट्राफिक बुथ (आइल्याण्ड)मार्फत ट्राफिक व्यवस्थापन गर्ने गरी काम भइरहेको छ ।

जनशक्ति अभावका कारण ट्राफिक व्यवस्थापनमा समस्या आएको बताउँदै ट्राफिक प्रहरीको थप दरबन्दीका लागि प्रयास भइरहेको उनले बताए । हाललाई नेपालगन्जका विभिन्न चोकमा साँझ र बिहान हातकै इसाराले भए पनि ट्राफिक ब्यवस्थापन गरिरहेको निरीक्षक रोकायले बताए ।

चैत महिनाभर चल्ने अभ्यासमा २४ जना ट्राफिक प्रहरी अभ्यासमा खटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी नायव निरीक्षक ओम पौडेलले जानकारी दिए । उनका अनुसार अभ्यास सकिएपछि १० जना ट्राफिक प्रहरी बाँकेमै रहने छन् ।

सबैले ट्राफिक नियमको पालना गरेको खण्डमा सवारी दुर्घटनाहरुमा कमी आउने प्रहरी नायव निरीक्षक पौडेलले बताए । उनले भने, ‘नेपालगन्जका साथै कोहलपुर क्षेत्रको ट्राफिक व्यवस्थापनमा पनि लागिरहेका छौं । केहीदिनमै चौराहा आसपासका ठेलाहरु हटाउँछौं ।’

अटो तथा ई–रिक्सा निगरानीमा

हर्न निषेध गरिएको नेपालगन्ज र कोहलपुर क्षेत्रमा अटो तथा ई–रिक्सालाई निगरानी गर्न थालिएको छ । दुर्घटनाको जोखिम कम गर्न सचेतना, कारवाही र निगरानीसँगै ट्राफिक प्रहरीले अटो तथा ई–रिक्साको दायाँतर्फ डण्डी लगाउन अनिवार्य गरेको छ ।

‘ओभरलोड र सम्भावित दुर्घटनाबाट जोगाउन अटो तथा इरिक्साको दायाँतर्फ डन्डी लगाउन अनिवार्य गरेका छौं,’ जिल्ला ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका प्रमूख प्रहरी नायव निरीक्षक भीम ओलीले भने, ‘दायाँतर्फबाट यात्रु झर्ने र चढ्ने कार्यले जोखिम बढाएको हो ।’

सवारी साधन गुड्ने भएकाले दुर्घटनाको जोखिम बढेपछि कोहलपुर र नेपालगन्जमा अटो तथा इरिक्सामा फलामको डण्डी अनिवार्य गरिएको हो । कोहलपुर र नेपालगन्जमा गरी एक साताको अवधिमा डेढ सय बढी रिक्सामा डण्डी लागिसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

चैत महीनाभित्र सबै रिक्सामा अनिवार्य लगाउन भनिएको छ । सो समयभित्र नलगाउने रिक्साहरुलाई कारबाहीको दायरामा ल्याउने ट्राफिक प्रहरीको चेतावनी छ । रिक्सामा बार नहुँदा जबरजस्त यात्रु बोक्ने भएकाले डन्डी लगाएपछि नियन्त्रणमा आउने विश्वास गरिएको छ ।

७२ सवारी कारवाहीमा

लामो दूरीका सवारीसाधनमा अनिवार्य दुईजना चालक राख्नुपर्ने प्रावधान व्यवसायीले अटेरी गरेपछि ‘एप्स’मार्फत निगरानी गर्न सुरु गरेको ट्राफिक प्रहरीले अटेरी गर्नेलाई कारवाही थालेसँगै ७२ सवारी साधन कारबाहीमा परेका छन् ।

गतमाघ अन्तिम सातादेखि ‘ट्राफिक कम्युनिकेसन एप्स’मार्फत निगरानी सुरु गरेको ट्राफिक प्रहरीले बाँकेले चप्परगौडीमा चालकको विवरण संकलन र बाहिरी जिल्लाबाट आएका यातायातको चेकजाँच गर्ने गरेको छ ।

पहिलो चरणमा पश्चिम नवलपरासीको भुमही, बाँकेको कोहलपुर, काठमाडौंको नागढुंगा र सर्लाहीको कर्मैयाबाट सञ्चालनमा ल्याइएको ‘ट्राफिक कम्युनिकेसन एप्स’मार्फत एउटै चालकले लामो दुरीसम्म यातायात चलाएको पाइएमा निगरानी तथा कारवाही गर्ने गरेको छ ।

‘एउटै चालकले निर्धारितभन्दा बढी दुरीसम्म सवारी चलाएको पाएपछि कारवाही गरेका हौं,’ प्रहरी निरीक्षक रोकायले भने, ‘दैनिक करिब ७५ वटा गाडी चालकको विवरण एप्समा राख्छौं । त्यतिनै संख्यामा बाहिरी जिल्लाबाट आउने सवारी चालकबारे चेकजाँच पनि हुन्छ ।’

नियमित विपरित पाइए कारवाही गर्ने गरेको बताउँदै रोकायले भने, ‘एप्समार्फत ट्राफिक प्रहरीले अब लामो दूरीमा सवारी सञ्चालन गर्ने व्यवसायीले एउटै चालकको भरमा सवारी चलाएको कार्यालयबाटै पत्ता लगाउन सक्नेछ ।’

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा लामो दूरीका सवारी साधनमा २ चालक अनिवार्य हुनुपर्ने प्रावधान भए पनि प्रभावकारीरुपमा कार्यान्वयन नभएपछि एप्समार्फत निगरानी सुरु गरिएको निरीक्षक रोकायले बताए ।

लामो दूरीमा एक चालकले सवारी चलाउँदा थकान बढी हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले एप्समार्फत निगरानी थालिएको बताउँदै भने, ‘एप्स सञ्चालनमा लागि २४ सैं घण्टा राजमार्गमा ट्राफिक प्रहरीको व्यवस्था गरिएको छ ।’

एप्समार्फत सवारी साधनमा चालक परिवर्तन भएर नभएको र निश्चित विन्दुमा सवारी चालकको तस्बिर खिची सवारी साधनको नम्बर, प्रस्थान तथा गन्तव्य स्थान दर्ता गरिन्छ । दर्ताका समयमा राखिएको विवरण अर्को पोष्टमा फरक पाइएमा त्यस्ता सवारीलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार ०७:२९