सूचनाको शक्ति - The Power Of Information

        

हावाहुरीको वितण्डा : प्रभावित क्षेत्रमा चिकित्सक टोली र औषधी तत्काल आवश्यक

काठमाडौं । आइतबार राति तराईको बारा र पर्सा जिल्लामा आएको हावा र हुण्डरीले भएको क्षतिमा अधिकांश विपन्न नागरिकहरु परेको हुँदा घाइतेको उपचारका लागि चिकित्सकको टोली र औषधी तत्काल आवश्यक परेको छ । सामाजिक सञ्जालमा पनि चिकित्सकको टोली र औषधीसहित रगतको अभाव भएको सहयोगको लागि अपिल गरिएका छन् ।

मधेश मामिलाका विश्लेषक तथा पूर्वराजदूत डा.विजयकान्त कर्णले बताएका छन् । उनले भने, ‘त्यहाँका मानिसहरुलाई सबैभन्दा पहिला खाद्यान्न, टेन्ट र घाइतेहरुका लागि रगतको जरुरी रहेको छ । त्यसैगरी स्वास्थ्य उपचारका लागि विज्ञहरुको टोली राजधानीबाट पठाउनु जरुरी देखिएको छ ।’ उनका अनुसार फुसका छाना भएका घरहरु अधिकांश हावाहुरीले उडाएको छ । प्रभावितहरु सबै विपन्न परिवारका रहेका छन् ।

त्यसैले सरकारले तत्काल आवश्यक प्रबन्ध गर्नुपर्ने जरुरी रहेको उनले बताए । डा. कर्णले वीरगन्जका मेयर विजयकुमार सरावगीले आइतबार राति नै नारायणी उपक्षेत्रीय अस्पतालमा गएर घाइतेहरुको उपचारको खर्च वीरगञ्ज महानगरपालिकाले व्यहोर्ने बताएको जनाउँदै आवण्श्यक खर्च प्रदेश सरकारले पनि गर्ने जनाएको उल्लेख गरे । प्रदेश नम्बर दुई सरकारले पनि सोमबार बिहानै मृतकको परिवारलाई ३ लाख राहतस्वरुप उपलब्ध गराउने र घाइतको निःशुल्क उपचार गरिदिने निर्णय गरेको छ ।

कर्णले भने, ‘घाइतेहरुलाई रगतको समेत समश्या देखिएको त्यहाँबाट रिपोर्ट आइरहेको छ । नेपाल रेडक्रस सोसाइटीले समन्वय गरेर त्यसबारेमा पनि तत्काल सम्बोधन गर्नु जरुरी देखिएको छ ।’ गएरातिदेखि नै स्थानीय स्तरबाट एबी पोजिटिभ र एबी नेगेटिभ समूहको रगतको माग व्यापक रुपमा भइरहेको उनले जनाए ।

यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्यकर्मीहरुको एउटा टोली आइतबार बिहानै गाडीबाट त्यसतर्फ गएको र अन्य टोली दिउँसो जहाजबाट त्यसतर्फ जाने बताए । उनले आवश्यक औषधी प्रदेश २ मा नै पर्याप्त मात्रामा स्टक रहेको जनाए । प्रदेश नम्बर २ का महान्यायाधीवक्ता दिपेन्द्र झाले पनि ट्विटरमार्फत घाइतेको उपचारका लागि अपिल गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार १०:४७