सूचनाको शक्ति - The Power Of Information

        

दोस्रो चरणको चुनाव, मध्यरातबाट मौन अवधि

काठमाडौं । दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिबाट शुरु हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मंसिर २१ गते ४५ जिल्लामा हुन लागेको दोस्रो चरणको चुनावको मौन अवधि मध्यराति १२ बजेबाट शुरु हुनेछ । मौन अवधि शुरु भएपछि मतदान नसकिएसम्म निर्वाचन प्रचार प्रसार गर्न र कुनै पनि माध्यमबाट भोट माग्न पाइँदैन । एसएमएस, भाइबर, फेसबुक लगायत कुनै पनि माध्यमबाट भोट माग्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
मौन अवधिमा चुनाव प्रचार गरेमा वा कसैले भोट मागेमा एक लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी रद्ध गर्नेसम्म अधिकार निर्वाचन आयोगलाई छ । सोमबार मध्यरातपछि भोट माग्न नपाइने भएकाले दलहरु आज अन्तिम दिनको चुनाव प्रचारमा व्यस्त छन् । उनीहरुलाई मतदातासम्म पुग्न भ्याइनभ्याइ छ । कांग्रेस, एमाले र माओवादीका नेताहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा परिचालित छन् । दोस्रो चरणको चुनाव सकिएलगत्तै पहिलो चरणको चुनावको मतगणना पनि सँगसँगै हुनेछ । पहिलो चरणको चुनाव भने ३२ जिल्लामा मंसिर १० गते नै सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७४, सोमबार ०२:०८