सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालको खानामै कमिशन : विरामीलाई ‘खाए खाँ नखाए घिच’

बाँके । बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालमा उपचारका लागि भर्ना हुने विरामीलाई गुणस्तरहीन खाना खुवाउने गरेको खुलेको छ । सरकारी अस्पतालले भर्ना भएका विरामीहरुलाई निःशुल्करुपमा खुवाउँदै आएको खाना ‘खाए खाँ नखाए घिच’ भने झै गुणस्तरहीन खुवाउने गरेको खुलेको हो । यसले अस्पतालहरुबाट उपलब्ध गराइने खानाको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ ।

सरकारी निकायहरुमा जताततै विकृति र विसंगति मौलाइरहेको बेला सरकारी अस्पतालजस्तो विश्वसनीय र संवेदनशील संस्थामै विरामीलाई दिइने खाना गुणस्तरहीन हुँदासमेत अस्पताल व्यवस्थापन र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमनमा समेत चासो देखाएका छैनन् । विरामी भएर निजी अस्पतालमा उपचारको लागि जान नसक्ने निम्न मध्यम वर्गीय परिवारहरु सरकारी खाना बहिस्कार गर्ने मनस्थितिमा समेत पुगेको भेरी अस्पतालमा उपचार गराइरहेका विरामीका आफन्तहरुको भनाई छ ।

पैसा खर्च गरेर अन्यत्र उपचारको लागि जान नसक्ने विरामीहरु दूषित खाद्यान्नको कारण थप विरामी पर्ने स्थिति छ । अस्पतालमा वितरण हुने पानीसमेत दूषित भएको विरामीका कुरूवाहरुको आरोप छ । विरामीलाई निःशुल्क खुवाइने खानाको गुणस्तरबारे सरोकारवाला निकायहरुको अनुगमन नहुँदा गुणस्तरहीन खाना खान विरामीहरु बाध्य भएको विरामी कुरुवाहरु बताउँछन् । ‘भेरी अस्पतालकै यो अवस्था छ ग्रामीण क्षेत्रका अस्पतालको खाना कस्तो होला ?’ नेपालगन्ज–१० का गोपाल खत्रीले भने, ‘जताततै लापरवाहीभन्दा केही भेटिदैन ।’

‘विरामीलाई खान दिने खानामा मापदण्ड तोकिएको छ । तर, विरामीले तोकिएको मापदण्ड र सहमतिअनुसार खाना पाएका छैनन्,’ अस्पतालकै एक कर्मचारीले भने ।

सम्बन्धित सरकारी अस्पताल विकास समितिका अध्यक्ष, मेडिकल सुपरिटेन्डेन्ट र प्रमुख जिल्ला अधिकारीले विरामीलाई खुवाइने खानाको अनुगमन गर्न सक्ने भए पनि भेरीमा अनुगमन शुन्य छ । दूषित खाद्यन्न खुवाउनेको कसुर प्रमाणित भएमा जनही दुई वर्षसम्म कैद र १० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने कानूनी प्रावधान रहेको कानून व्यवसायी बासुदेव ज्ञवालीको भनाई छ । ‘विरामीलाई खान दिने खानामा मापदण्ड तोकिएको छ । तर, विरामीले तोकिएको मापदण्ड र सहमतिअनुसार खाना पाएका छैनन्,’ अस्पतालकै एक कर्मचारीले भने ।

एउटा विरामीलाई दैनिक ६०० ग्राम मसिनो चामल, एउटा अण्डा, एक कप दूध र सागसव्जी सहितको सन्तुलित खाना खुवाउनुपर्ने सहमति छ । तर, विरामीलाई शुरुकै दिन कमसल खाना दिने र अर्को छाकदेखि विरामीले अस्पताल बाहिरका होटलबाट खाना ल्याएर खाने गरेको गुनासो गर्दै एक विरामी कुरुवाले भनिन्, ‘अण्डा दूध केही आउँदैन, आफै होटलबाट किने र बिरामीलाई खुवाउनुपर्छ ।’ अस्पतालको भान्सा सञ्चालन र विरामीलाई खाना खुवाउनका लागि अस्पतालले ठेक्कामा दिएको अस्पतालका निमित्त प्रमुख राजन पाण्डेले बताए ।

उहाँकाअनुसार अस्पतालमा विरामीका लागि खाना खुवाउन भनेर भान्सा सञ्चालनका लागि सरकारले यो बर्ष रु.२० लाख विनियोजन गरेको छ । तर, अस्पतालले कमसल खालको खाना खुवाएर खानामै कमिशन असुल्न थालेको स्रोत बताउँछ । अस्पताल व्यवस्थापनले यस बिषयमा अहिलेसम्म अनुगमनसमेत गरेको छैन भने दैनिक कति जनालाई खाना खुवाइयो भन्ने एकिन विवरणसमेत अस्पतालसँग छैन । अस्पतालका निमित्त प्रमुख पाण्डेले विरामीले गरेको गुनासो जायज भएको बताउँदै गुनासो सम्बोधन हुने बताए ।

उनले भने, ‘अस्पतालमा लिखितरूपमा कुनैपनि विरामीले खाना गुणस्तरहीन भएको भनेर निवेदन दिनुभएको छैन । हामीलाई लिखितरूपमै निवेदन आए छानविनमा अझै सहज हुने थियो । यद्यपी हामी तत्काल छानवीन र अनुगमन गर्छौ । छानबनिका क्रममा दोषी भेटिए ठेकेदारमाथि पनि कारवाही प्रक्रिया अघि बढ्छ ।’ विरामीले लिखित वा मौखिक उजुरी नदिएपनि उनीहरुलाई खुवाउने खानाको गुणस्तरबारे अनुगमन गर्ने जिम्मेवारी भने अस्पतालकै हो ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार ०७:१२