सूचनाको शक्ति - The Power Of Information

        

कम्दीमा भेटियो ‘बाघे माउसुली’, अवैध व्यापारले जोखिममा, लोप हुँदै बासस्थान

बाँके । जैविक विविधताको अध्ययन गर्ने क्रममा माउसुलीको नयाँ प्रजाति लेपर्ड गे ‘बाघे माउसुली’ बाँके जिल्लाको कम्दी जैविक मार्गमा पहिलो पटक भेटिएको हो । बाघको जस्तै सुन्दर पाटा भएकाले यसलाई बाघे माउसुली नाम राखिएको छ । युब्लिफेरिडे परिवार अन्तरगत पर्ने यो माउसुलीको अभिलेख भएसँगै नेपालमा सरिसृप प्रजातिको नयाँ परिवार थपिएको छ ।

नेपालमा पाइने माउसुलीमध्ये यो ११ औँ प्रजाति भएको सरिसृपविज्ञ करण शाहले जानकारी दिए । अहिलेसम्म विश्वमा ३८ प्रजाति माउसुली भेटिएको छ । यो माउसुली भारत, बङ्गलादेश, पाकिस्तान, इरान, अफगानिस्तान, तुर्किमिनिस्तानमा पाइन्छ । रातीमा सक्रिय हुने र दिनभरि सुत्ने तथा अरु माउसुलीजस्तो घरको भित्तामा नबसी जमीनमा बस्ने यसको विशेषता हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर यामबहादुर रावत, सरिसृपविज्ञ करणबहादुर शाह र कुलबहादुर थापा तथा कोषका सन्तोष भट्टराई सम्मिलित टोलीले अनुसन्धानमा नयाँ प्रजाति भेटिएको पुष्टि गरे । उनीहरुका अनुसार बाँकेको कम्दीपछि सुनवल, नवलपरासी र सुर्खेतको गुर्भाकोट तथा बाँके राष्ट्रिय निकुञ्जको कुसुम क्षेत्रमा समेत बाघे माउसुली भेटिएको हो ।

उक्त माउसुलीको बारेमा अमेरिकन जर्नल रेप्टाइल्स तथा अम्फिबिअन्समा समेत प्रकाशित भएको छ । ‘सुरुमा रेञ्जर यमबहादुर थापाले यसको फोटो खिचेर फेसबुकमा हाल्नुभएको थियो, नयाँ प्रजाति हो भनेर भनेपछि उहाँले फेसबुकबाट हटाउनुभयो, त्यसपछि अनुसन्धान गर्दा नेपालकै नयाँ प्रजाति पुष्टि भयो,’ शाहले भने ।

सुख्खा क्षेत्रमा बासस्थान बनाएर बस्ने यो प्रजातिको अन्तर्राष्ट्रिय बजारमा वैध तथा अवैध दुवै खाले व्यापार हुने गरेको बताइएको छ । नेपालको भारतसँग खुला सीमाना रहेकाले र संरक्षित क्षेत्र बाहिर भेटिएकाले अवैध व्यापार हुनसक्ने जोखिम रहेको भन्दै संरक्षणकर्मीले चिन्ता प्रकट गरेका छन् ।

अहिलेसम्म तीन ठाउँबाट पाँचवटा मात्र भेटिएको यो प्रजातिलाई स्थानीयवासीले विषकोब्रा नामले चिन्ने तथा विषालु हुन्छ भन्ने भ्रमका कारण देख्ने बित्तिकै मार्ने गरेको अनुसन्धान टोलीले जनाएको छ । चुरे क्षेत्र यो प्रजातिका लागि उपयुक्त बासस्थान रहेकाले अन्य चुरे क्षेत्रमा पनि यसको बासस्थान हुनसक्ने देखिन्छ ।

नदी किनारबाट गिटीबालुवा झिक्दा घाइते अवस्थामा फेला परेकाले चुरे क्षेत्रको अत्यधिक दोहनले यीनको बासस्थानसगै लोप हुनसक्ने खतरा छ । जैविक विविधताका दृष्टिले नयाँ प्रजाति देशका लागि महत्वपूर्ण सम्पत्ति भएकाले यसको संरक्षण र सरिसृप प्रजातिको अध्ययन अनुसन्धानमा सरकारको ध्यान जानुपर्ने संरक्षणकर्मीले बताउँछन् ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार ०७:२६