सूचनाको शक्ति - The Power Of Information

        

कानको सुन लुट्न बालकको हत्या

  • हत्यारा सँगै पढ्ने साथी

कञ्चनपुर, २९ भदौ । महेन्द्रनगरमा चार आना सुन लुट्न एकजना बालकको साथीको हत्या गरेका छन् । भीमदत्त नगरपालिका–७ हल्दुखालका १३ वर्षका तिलक चन्दको कानको चार आना सुन लुट्न साथीले हत्या गरेका हुन् । भीमदत्त नगरपालिका–७ स्थित महाकाली जनसेवा मावि हल्दुखालमा कक्षा ८ मा अध्ययनरत चन्दलाई उनीसँगै कक्षा ८ मा अध्ययनरत १७ वर्षका साथी आशिषले हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए । आशिषले साथी चन्दले कानमा लगाएको सुनको मुन्द्रा लुट्नका लागि हत्या गरेको स्वीकारिसकेको प्रहरी नायव निरीक्षक सेटीले बताए । सेटीका अनुसार आशिषको साथबाट चन्दले लगाएको चार आना बराबरको सुनको मुन्द्रा समेत बरामद भएको छ ।
यही घटनामा संलग्न रहेको भन्दै प्रहरीले आशिषसहित कक्षा ८ मै अध्ययनरत तीन जना साथीलाई समेत पक्राउ गरी अनुसन्धान गरेको छ । आशिषले चन्दको हत्या गरेको स्वीकार गरे पनि अन्य तीन जनाले भने सुन राख्न र बेच्न सहयोग गरेको देखिएको प्रहरी नायव निरीक्षक सेटीले बताए । गत भदौ २५ गते स्कूलबाटै बेपत्ता भएका चन्दको गएराती हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । उनको स्कूलबाट झण्डै चार सय मिटर दक्षिणतर्फ खोलाको छेउमा झाडीमा शव फेला परेको प्रहरीले जनाएको छ । चन्दको त्यसै दिन हत्या गरिएको प्रहरीको भनाइ छ । स्कूलको खाजा समयमा हराएका चन्दको प्रहरी, विद्यालय प्रशासन र स्थानीयले खोजी गरिरहेका थिए । कञ्चनपुरमा पछिल्लो हत्याका घटना बढ्दै गएका छन् । चालु आर्थिक वर्षमा २ जना बालबालिका सहित ६ जनाको हत्या भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७४, बिहीबार ०८:५५