सूचनाको शक्ति - The Power Of Information

        

‘विप्लव’का मध्यकमान्ड इन्चार्ज ‘सुदर्शन’ मधेश झर्दै थिए कि भारत भाग्दै ?

काठमाडौं । दुई प्रमुख सहयोगीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई पक्राउ गरेपछि प्रहरीले उनको गन्तव्य र सम्पर्क स्रोत केलाउन थालेको छ ।

प्रहरीले शनिबार बिहान साढे ४ बजे काभ्रेबाट नियन्त्रणमा लिएका सुदर्शन आफ्ना दुई प्रमुख सहयोगी रुकुमका लोकेन्द्रबहादुर खड्का र सिन्धुपाल्चोकका रामकृष्ण खतिवडासहित पक्राउ परेका थिए । उनका अर्का सहयोगी नुमबहादुर विक यसअघि पक्राउ परिसकेका छन् ।

‘उनीहरुको टिम हेर्दा कमान्ड सेन्टर र सेल्टर दुवै परिवर्तन गर्ने योजनामा रहेको देखियो,’ अनुसन्धानमा खटिएका प्रहरीका एक अधिकारीले भने, ‘सुदर्शनको कोर टिम नै प्रहरीले पक्राउ गरेको हो ।’ ती अधिकारीका अनुसार काभ्रेबाट पक्राउ पर्नेमा केन्द्रीय सदस्य तथा पूर्व ताम्सालिङ ब्युरोका प्रमुख विजय उपनाम भएका वसन्त श्रेष्ठ र रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारी छन् ।

रुपन्देही सैनामैनाका वसन्त र सुर्खेतका अधिकारी दुबै पुराना माओवादी नेता हुन् । ‘पक्राउ परेको समूह काभ्रेकै खोपासी आउँदै थियो,’ ती अधिकारीले भने, ‘त्यहाँ कोही उनीहरुलाई पर्खेर बसिरहेको थियो ।’ ८ जना सँगै लिएर निस्केका सुदर्शन काभ्रेबाट खोपासी हुँदै डाँडापारीबाट हेटौंडा पुग्ने योजनामा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको हो ।

काभ्रेमा प्रहरीले दबाब बढाएपछि सुदर्शन केही समय भूमिगत बस्न मधेश झरेर भारत भाग्ने योजनामा रहेको हुनसक्ने अनुमान केही प्रहरी अधिकारीको छ । खोपासीमा रहेका व्यक्तिसँग सम्पर्कपछि उनी गन्तव्यमा पुग्ने तयारीमा थिए । तर त्यसअघि नै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । ‘खोपासीमा पर्खेर बसेका व्यक्तिले २०औं पटक सुदर्शनसँग सम्पर्क गरेको देखिन्छ,’ अनुसन्धान अधिकारी भन्छन्, ‘पोलिटब्युरो सदस्य भएकाले उनी फौजी रणनीतिअनुसार हिँडेका थिए ।’

सुदर्शनको बयान : सबै निर्णय पार्टीको हो

सुदर्शनले आफु राजनीतिक एजेण्डा बोकेर हिँडेको र देशमा भएका सबै घटनाको जिम्मेवारी पार्टीले लिएको बताएका छन् । प्रहरीको विशेष टोलीले उनी सहित आठजना पार्टी केन्द्रीय सदस्यदेखि साधारण सदस्यसम्मलाई सोधपुछ गरेको थियो । सुदर्शन सोधपुछमा धेरै बोल्न नचाहेको अनुसन्धानमा संलग्न अधिकारीले बताए । उनी बोल्न नचाहेपछि दबाब नदिएको दाबी प्रहरी अधिकारीले गरेका छन् ।

काभ्रेबाट काठमाडौं ल्याएर प्रहरीको एउटा इकाईमा राखेर उनीहरुसँग अनुसन्धानमा संलग्न अधिकारीले पटक–पटक बयान लिएका थिए । प्रहरी अधिकारीले शनिबार दिनभर र आइतबार बिहानभर बयान लिएपछि उनीहरुलाई थप कारबाहीका लागि परिसर ललितपुरको जिम्मा लगाईएको थियो ।

परिसर ललितपुरले आईतबार जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना, बिस्फोटक पदार्थ, राज्य बिरुद्धको अपराध र संगठित अपराधमा पक्राउ परेका नौ जनाबिरुद्ध ८ दिनको अनुसन्धान म्याद लिएको छ ।

प्रहरीले ललितपुर जिल्ला कमिटी सदस्य बुद्धबहादुर स्याङतान, नुवाकोटका साधारण सदस्य संदिप कार्की, बारा साधारण सदस्य देवराज घिमिरे र धर्मराज राजबाहक, सवारी चालक समेतलाई पक्राउ गरेको हो ।

सुदर्शनलाई कर्तव्य ज्यानदेखि राज्य बिरुद्धको अपराध मुद्दा

प्रहरीले सुदर्शनसहित पक्राउ परेका सबैलाई पहिलो चरणमा हातहतियार तथा खरखजना, बिस्फोटक पदार्थ, राज्यबिरुद्धको अपराधका लागि समूह बनाएर आपाराधिक गतिविधी गरेको आरोपमा संगठित अपराध निवारण ऐन अनुसार कारबाही थालेको छ ।

‘बिस्फोट र कर्तब्य ज्यान मुद्दा पछि थपिनेछ,’ महानगरीय प्रहरी कार्यालयका एकजना अधिकारीले भने, ‘संलग्नता अनुसार सम्बन्धित इकाईमा पठाउने छौं ।’ ती अधिकारीका अनुसार उपत्यकामा भएका दुई प्रमुख घटनामा सुदर्शनमाथी कारबाहीअघि बढने छ । नख्खुस्थित एनसेल कार्यालय अगाडी भएको बिस्फोट र वैदेशिक रोजगार ब्यवसायी रोहण गुरूङको घरमा भएको बम बिस्फोटको घटनामा सुदर्शनबिरूद्व मुद्दा चल्ने छ ।

नख्खु बिस्फोटमा लमजुङका सिंगप्रसाद गुरूङको मृत्यु भएको थियो । प्रहरीले सुदर्शन सहितको समूहका साथबाट ६ राउन्ड गोली लोड भएको मेड इन जापान लेखिएको पेस्तोल बरामद गरेको छ । त्यस्तै सोही पेस्तोलको म्यागजिन १ थान, लोड भएको ६ राउण्ड गोली र नपडकिएको १५ राउन्ड गोली बरामद गरेको होे । प्रहरीका अनुसार गाडीबाट जिलेटिन ५ थान, डेटोनेटर ५ थान, ल्याप्टप १ थान, मोबाइल २२ थान र पार्टीका विभिन्न दस्तावेजहरु बरामद भएको छ ।

दफा ७ टेकेर प्रहरी कारवाही

सरकारले संगठित अपराध निवारण ऐन, २०७० लाई टेकेर विप्लव समूहमाथि फागुन २८ मा प्रतिबन्ध लगाएपछि प्रहरीले समेत सोही ऐन अनुसार आफ्नो कारबाही अघि बढाएको छ । संगठित प्रकारका अपराध नियन्त्रणका लागि बनेको यो ऐनको दफा ७ मा रहेको ब्यवस्था अनुसार प्रहरी कारबाही अघि बढेको हो । प्रहरीले दफा ७ मा टेकेर विप्लवका नेता–कार्यकर्तालाई मुद्दा अघि बढाएको हो ।

विध्वंसात्मक कार्य गर्न नहुने उल्लेखसहित यस्तो छ ऐनको दफा ७ मा :

ऐनमा कुनै प्रकारको हातहतियार, बम, विस्पफोटक पदार्थ वा अन्य कुनै उपकरण वा वस्तु प्रयोग गरी नेपालको सार्वभौमसत्ता, प्रादेशिक अखण्डता वा नेपाल वा यसको कुनै भागको सुरक्षा वा शान्ति र व्यवस्थामा खलल पार्ने वा विदेशस्थित नेपाली कूटनीतिक नियोग वा त्यसको सम्पत्ति वा नेपालस्थित विदेशी नियोग वा अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्थाको आवासीय कार्यालय वा त्यसको सम्पत्ति वा कुनै सार्वजनिक वा निजी पूर्वाधार, संरचना वा विकास परियोजनाको संरचना वा त्यसको हाता वा शिक्षण संस्था, स्वास्थ्य संस्था वा यातायात संस्था जस्ता सर्वसाधारणलाई सार्वजनिक सेवा प्रदान गर्ने सेवा प्रदायकको भवन, साधन, उपकरण, यन्त्र ध्वस्त गरी क्षति वा तोडफोड गर्ने वा सोको योजना बनाउने वा त्यस्तो स्थानमा मानिसको जीउ ज्यान जाने, अङ्गभङ्ग हुने वा चोटपटक पु¥याई घाइते तुल्याउने काम वा आगो लगाउने वा दैनिक उपभोग्य वस्तुमा वा सार्वजनिक स्थानमा विषालु पदार्थ प्रयोग गरी मानिसको जीउ ज्यान जाने वा अङ्गभङ्ग हुने वा अन्य क्षति पुगाउने काम गरेमा संगठित अपराध निवारण ऐन अनुसार कारबाहीको अधिकार प्रहरीसँग छ ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार ११:४६