काठमाडौं । गत हप्तामात्र जेट एयरवेजका २५० भन्दाबढी कर्मचारी जागिरको खोजीमा स्पाइसजेटमा गएको खबर आयो । अंग्रेजी वेबसाइट मनीकन्ट्रोलमा प्रकाशित खबर अनुसार २० मार्चमा आयोजित स्पाइसजेटको वाक–इन–इन्टरभ्यूमा जेट एयरवेजका २६० पाइलट पुगेका थिए, जसमा १५० क्यापटेन थिए ।
२०१२ मा भारतकै सबैभन्दा ठूलो निजी विमान कम्पनी बनेको जेट एयरवेजको आर्थिक स्थिति कति खराब छ भन्ने यसले देखाउँछ । कम्पनी अहिले निकै खराब अवस्थामा छ र यसबाट बच्न जेट एयरवेजलाई ठूलो लगानी चाहिएको छ । जेट एयरवेजले १४ फेब्रुअरीमा घोषणा गरेको थियो कि कम्पनीलाई पैसा दिएको बैंक एसबीआईले नै एयरलाइन्स सञ्चालन आफ्नो हातमा लिओस् ।
तर, भारत सरकार अगाडि आयो । सरकारले स्टेट बैंक अफ इण्डियालाई आर्थिक संकटबाट गुज्रिरहेको एयरलाइन्सलाई बचाउन केही योजना ल्याउन भन्यो । बीबीसी सम्वाददाता समीर हाशमी भन्छन्, ‘भारतमा सरकारले कुनै निजी कम्पनीलाई बचाउन यसरी सरकारी बैंकलाई कहिल्यै भनेको थिएन । यो पटक अनौठो परिस्थिति देख्न पाइयो ।’ उसो भए भारत सरकार किन यसो गर्दैछ त ?
समीर हाशमी भन्छन्, ‘यदि जेट एयरवेज बन्द भयो भने २३ हजारको नोकरी जोखिममा पर्छ किनकी यो भारतको सबैभन्दा पुरानो निजी एयरलाइन्समध्ये एक हो । अहिले चुनाव हुँदैछ र बेरोजगारीलाई लिएर मोदी सरकारमाथि दबाव बढ्दो छ ।’ विपक्षीले पनि बेरोजगारीको मुद्दालाई लिएर सरकारलाई घेरा हालेको छ र चुनाव अगाडि जेट एयरवेज बन्द हुन दिएर सरकार आगोमा घ्यू हाल्ने काम गर्न चाहँदैन ।
तर, सरकारको निर्णयलाई लिएर एउटा प्रश्न उठ्छ, डुब्दै गरेको कम्पनीमा जनताको पैसा हाल्नु सही हो ? जबकी किंगफिशर एयरलाइन्स डुबेको तथा महाराजा भनिने एयर इण्डियाको ५० हजार करोड ऋण डुबेको विगतको तितो अनुभव छ । १ अप्रिल १९९२ मा यो कम्पनी खुल्यो । १९९३ मा चार बोइङ ७३७ विमानको साथमा पहिलो पटक उडान सेवा सुरु गरेको यो कम्पनी २०१२ मा आइपुग्दा भारतकै सबैभन्दा ठूलो निजी विमान कम्पनी बन्यो ।
भारतीय बजारमा यात्रीको शेयर हिस्साको कुरा गर्ने हो भने २६.३ प्रतिशत जेट एयरवेजको नाममा थियो जबकी एयर इण्डियासँग १८.८ र इण्डिगोसँग १८.७ प्रतिशत मार्केट शेयर थियो । सरकारी विमान कम्पनी एयर इण्डियाका पूर्व कार्यकारी निर्देशक जीतेन्द्र भार्गव भन्छन्, ‘सरकारको लागि यो कदम गलत हुनेछ ।’
उनका अनुसार अहिले स्टेट बैंक अफ इण्डियाले केही लगानी गरेपछि एयरलाइन्समा केही सुधार त होला, तर ६ महिनापछि फेरि लगानी चाहिए के हुन्छ भन्ने प्रश्न अहम छ । उनको प्रश्न छ, ‘के भारतीय बैंक निरन्तर करदाताको पैसा लगाउन सक्छ ?’ समीर हाशमी भन्छन्, यो एक गम्भीर प्रश्न हो र त्यसैले त लगानी गर्ने पक्षमा बैंक खुलेर आएको छैन ।’ उनी भन्छन्, ‘योजनाको नेतृत्व गरिरहेको एसबीआईका प्रमुख रजनीश कुमारले कहीँ पनि भनेका छैनन् कि बैंकले यो एयरलाइन्समा लगानी गर्छ ।
उनी चाहन्छन् उनको पैसा पनि बचोस् र कोही लगानीकर्ता आओस् । जुन त्यति सजिलो देखिएको छैन ।’ एसबीआईले इत्तेहाद एयरलाइन्ससँग पनि कुरा गरेको छ, जसको जेट एयरवेजमा २४ प्रतिशत शेयर छ । बैंक चाहन्छ कि अबुधाबीको यो कम्पनीले जेट एयरवेजमा थप पैसा लगाओस् । तर, इत्तेहादले थप लगानी मात्र अस्वीकार गरेन, भएको शेयर पनि बेचेर बाहिरिने बताएको छ ।
जब महाराजा थिए, तब जेट एयरवेजको शान थियो
१९९० को दशकमा भारत उदारीकरणको बाटोमा थियो । त्यही दशकको अन्त्यतिर घरेलु उडानमा थुप्रै नयाँ कम्पनी आए । यसमा जेट एयरवेज पनि एक थियो । तर, त्यसपछि जेट एयरको खराब दिन सुरु भयो र २०१८ को अन्त्यतिर आइपुग्दा कम्पनी ठूलो आर्थिक संकटमा पर्यो ।
अहिले कम्पनी ११० करोड डलर घाटामा चलिरहेको छ । उससँग एयरक्राफ्ट लिजिङ कम्पनीलाई दिने पैसा पनि छैन । खर्च कम गर्न कम्पनीले इकोनोमी क्लासमा दिने खाना बन्द गरेको छ भने यात्रुहरुको सामानको सीमा पनि घटाएको छ । हालै मात्र कम्पनीले थुप्रै घरेलु र अन्तर्राष्ट्रिय उडान पनि रद्द गरेको छ भने थुप्रै कम्पनीले जागिर छाडेको चर्चा छ ।
उदारीकरणको असर झेल्दैछ जेट एयरवेज ?
जेट एयरवेजको यो अवस्था आउनुको कारणहरुमध्ये प्रमुख हो, उदारीकरणपछि बढेको प्रतिस्पर्धा र थुप्रै कम्पनीले सस्तो हवाई सेवा दिनु । यसमा इण्डिगो र स्पाइसजेट जेट एयरवेजको प्रतिस्पर्धी थिए, जसले सस्तो मूल्यमा उडान सेवा दिन थाले । जीतेन्द्र भागर्व भन्छन्, ‘इण्डियन क्यारियर कम्पनीले थुप्रै विमान अर्डर गरेका छन् । अबको ५–६ वर्षमा ८०० हजार जहाज बजारमा आउनेछन् ।’
‘उनीहरुलाई भर्न क्यारियर चाहिन्छ कि बजार विकासको बाटोमा होस् । यसका लागि टिकटको मूल्य कम हुनुपर्छ । सस्तोमा उडान भर्ने कम्पनीले आफ्नो लागत उठाएका छन् तर, फूल सर्भिस क्यारियरका लागि आफ्नो लागत पनि बचाउन मुस्किल हुँदैछ,’ उनी भन्छन्, ‘यससँगै इन्धनको मूल्य महंगो हुनु र भारतीय मुद्रा कमजोर हुनुले पनि जेट एयरवेजको यो अवस्थाको कारण हो ।’
जब कच्चा तेलले दियो धोका
२०१६ मा विश्वमा कच्चा तेलको मूल्य कम हुन लाग्यो, यसको फाइदा एयरलाइन्सलाई भयो किनकी उसको लागत घट्यो । त्यही बेला विदेशी एउटा कम्पनीले पनि लगानी गर्यो । यही कारण आर्थिक वर्ष २०१५ मा २०९७.४१ करोड घाटामा रहेको कम्पनीमा २०१६ मा १२११.६५ करोड नाफा देखियो । तर, यो नाफा अल्पकालीन थियो र कम्पनी फेरि घाटामा गयो । यो पटक समस्या यति गम्भीर छ कि कम्पनीको रुपरंग नै बदलिन सक्छ ।
जीतेन्द्र भागर्व भन्छन्, ‘अहिले सबैभन्दा संकट यो छ कि नरेश गोयल न त लगानी गर्न सक्छन् न कम्पनीको बोर्डबाट हट्न चाहन्छन् । कुनै ठूलो कदम चाल्नुपर्छ । अब बैंकले नै तय गर्छ कि गोयललाई बोर्डबाट निकालेर नयाँ बोर्ड गठन गर्ने कि नगर्ने ?’ स्टेट बैंकले भने जेट एयरवेजका अध्यक्ष नरेश गोयललाई कम्पनीमा आफ्नो हिस्सा १७ प्रतिशतबाट घटाएर १० मा झार्न र तीन निर्देशकलाई बोर्डबाट राजीनामा दिन भनेको छ ।
#बीबीसी हिन्दी
बीबीसी - ।