सूचनाको शक्ति - The Power Of Information

        

‘प्रकाण्ड’लाई जिम्मेवारीबाट हटाएसँगै ‘सुदर्शन’ पक्राउपछि चिन्तामा ‘विप्लव’

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विरुद्ध सरकार कठोर बन्दै गएका बेला ‘विप्लव’ र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीचको मतभेद पनि बढ्दै गएको छ । विप्लवको उदारतालाई प्रकाण्डले आफ्नो स्वार्थमा प्रयोग गरेपछि नेकपाभित्र विवाद उत्पन्न भएको हो ।

सुरुवाती दिनमा पार्टीभित्र र जनवर्गीय संगठनहरूमा हाबी देखिएका ‘प्रकाण्ड’ पछिल्लो समय निरिह बन्दै गएका छन् । प्रकाण्डको संकास्पद गतिविधिबाट आजित बनेका उनी पक्षधर नेताहरूले समेत क्रमशः साथ छाड्न थालेका छन् । दाङ र कपिलवस्तु आसपासमा बसेको स्थायी समितिमा पनि ‘प्रकाण्ड’को शंकास्पद गतिविधिलाई लिएर ठूलो बहस भएको थियो ।

केन्द्रीय कमिटीमा ‘प्रकाण्ड’ बलियो छन् । स्थायी समितिमा ‘प्रकाण्ड’ कमजोर मानिन्छन् । पाँच सदस्यीय स्थायी समितिमा ‘प्रकाण्ड’लाई सन्तोष बुढाले मात्रै साथ दिएका छन् । अनिल शर्मा र धर्मेन्द्र बास्तोला ‘विप्लव’सँग छन् । पक्राउ परेका बेला रिहा हुन ‘प्रकाण्ड’ले गरेको काण्डबाट ‘विप्लव’ रिसाएका छन् । त्यतिमात्रै होइन चन्दा उठाएको रकमको पारदर्शी हिसाव ‘प्रकाण्ड’ले बुझाएका छैनन् ।

पक्राउ परेका बेला प्रकाण्डले रिहाइ हुन डा.बाबुराम भट्टराईमार्फत सरकारसँग सम्झौता गरेको विप्लवको आरोप छ । ठूला उद्योगी, व्यापारी, शिक्षक, कलेज, विद्यालय, एनसेल आदिबाट जबरजस्ती उठाएको चन्दाको रकम ‘प्रकाण्ड’ले हिनामिना गरेको स्रोतले जनाएको छ । ‘प्रकाण्ड’का यस्ता खालका हर्कतबाट ‘विप्लव’ आजित बनेका छन् ।

सोही कारण ‘प्रकाण्ड’लाई विप्लवले अघोषित रुपमा कारबाही गरेका छन् । ‘प्रकाण्ड’लाई प्रवक्ता लगायतका सबै जिम्मेवारीबाट निस्क्रीय बनाएको स्रोतले जनाएको छ । नेपाल बन्द र एनसेलमा भएको बम विस्फोटको जिम्मेवारी लिने क्रममा ‘विप्लव’ आफूले विज्ञप्ति जारी गरेका थिए । यसअघि सधैँ प्रवक्ताको रुपमा ‘प्रकाण्ड’ले विज्ञप्ति निकाल्ने गर्थे ।

‘प्रकाण्ड’ले विज्ञप्ति जारी नगरेको धेरै भएको छ । कम्युनिस्टहरूले नै बनाएको दुई तिहाइको सरकारले च्याप्दै लगेपछि तनाबमा परेका ‘विप्लव’ मध्यकमाण्डका इञ्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेपछि चिन्तामा डुबेका छन् । ‘प्रकाण्ड’का कारण पार्टीलाई सम्हाल्न समस्या परेका बेला ‘विप्लव’ आफैले विश्वास गरेका नेतासँग सम्बन्ध बिग्रिएको छ ।

‘विप्लव’ले तत्कालीन आयोग्य लडाकुहरूलाई समेटेर गाउँमा धमाधम जनसेना बनाएका छन् । जनसेनालाई तालिम दिने, हतियार दिने र कार्यक्षेत्रमा खटाउने कार्यको स्वयं ‘विप्लव’को निर्देशनमा हुने गरेको एक नेताले बताए । जनसेनाको सुप्रिमो विप्लव आफै हुन् ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतवार १०:११