सूचनाको शक्ति - The Power Of Information

        

खजुराको मुख्य बजार क्षेत्रमै सार्वजनिक शौचालय अभाव, जग्गा खोज्दै गाउँपालिका

बाँकेको खजुरा गाउँपालिका–३ खजुरा बजार नजिकै प्रयोगविहिन अवस्थामा रहेको सार्वजनीक शौचालय । साबिकको जिल्ला विकास समितिले करिब रु.१४ लाख खर्चेर शौचालय निर्माण गरेको थियो । तस्वीर : सत्यपाटी

बाँकेको खजुरा गाउँपालिका–३ खजुरा बजार नजिकै प्रयोगविहिन अवस्थामा रहेको सार्वजनीक शौचालय । साबिकको जिल्ला विकास समितिले करिब रु.१४ लाख खर्चेर शौचालय निर्माण गरेको थियो । तस्वीर : सत्यपाटी


बाँके । खजुरा गाउँपालिकाको मुख्य बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा नागरिक सास्ती खेप्न बाध्य छन् । खुला दिसामुक्त घोषणा गरिएको गाउँपालिकाका अधिकांश क्षेत्रमा सार्वजनिक शौचालय छैन् । खजुरा बजारका साथै गाउँपालिकाका अन्य वडामा सार्वजनिक शौचालयको अभाव रहेको छ ।

भएको एउटा शौचालय पनि व्यवस्थित हुन सकेको छैन् । गाउँपालिकाले आवश्यक स्थानमा सार्वजनिक शौचालय नबनाउँदा बटुवा, लामो तथा छोटो दूरीका सवारी यात्रु पीडित भएका छन् । उनीहरूले सवारी साधनकै छेल पारेर खुलारूपमै दिसापिसाब गर्दै आएका छन् । कतिपय भने दिसापिसाब गर्नकै लागि होटलमा पसेर चिया–नास्ता खानुपर्ने बाध्यतामा पर्छन् ।

कतिपय सर्वसाधारण विभिन्न पसल, हस्पिटल र बैंकमा शौचालय प्रयोगका लागि पुग्नुपर्ने बाध्यता छ । व्यस्त खजुरारोडको मुख्य बजार क्षेत्रमा बढी जनघनत्व भएका स्थानमा सार्वजनिक शौचालयको आवश्यकता छ । हाल गाउँपालिकाको वडा नं. ३ स्थित पुल नजिक एउटा सार्वजनिक शौचालय छ । त्यो पनि निर्माण भएदेखि प्रयोगमा छैन । शौचालयमा ताला ठोकिएको छ ।

प्रत्येक वडामा एउटा सार्वजनिक शौचालय बनाउने नीति भएपनि सबै वडामा बनिनसकेको गाउँपालिकाका नायब सूब्बा दिलबहादुर पोडेलले बताए । उनकाअनुसार भएका कतिपय शाचौलय समान्य प्रयोगमा आए पनि उचित व्यवस्थापन अभावले नियमित प्रयोगमा आउन सकेका छैनन् । कतिपय शौचालयमा उचित पानी र साुबन लगायतका आबश्यक सामानको अभाव देखिएको छ ।

उनकाअनुसार गाउँपालिकामा कति सार्वजनिक शौचालय छन् त्यसको एकिन विवरणसमेत गाउँपालिकामा छैन् । आठ वटा वडा रहेको खजुरा गाउँपालिकाका केही वडा र सार्वजनिक स्थलमा शौचालय बनाए पनि प्रयोगमा आउन नसकेको अवस्था छ । सार्वजनिक शौचालय बनाउन मुख्य सडक तथा चोकमा जग्गा नपाएकाले बनाउन नसकिएको गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपति बताउँछन् ।

‘सडकको दायाँबायाँ ५० मिटर क्षेत्र सडकको पर्छ, त्यसपछिको क्षेत्र व्यक्तिको छ,’ उनले भने, ‘शौचालय कहाँ बनाउने समस्या छ ।’ बजार क्षेत्रका प्रत्येक पसलले आफ्ना ग्राहकका लागि शौचालय प्रबन्ध गर्नसके शौचालयको धेरै समस्या समाधान हुने देखिएको छ । ‘जग्गा प्राप्त भएमा बजेटको अभाव छैन,’ अध्यक्ष कक्षपतिले भने, ‘हामी जग्गाको खोजीमै छौ ।’

कतिपय क्षेत्रमा सार्वजनिक शौचालय भएका ठाउँमा पनि मानिसले खुला ठाउँमा सौच गर्ने गरेका छन् । सबैभन्दा पहिले हाम्रो मानसिकतामा परिवर्तन आउनुपर्ने देखिएको छ । सार्वजनिक जग्गाको पहिचान गरी आवश्यक पर्ने स्थानमा शौचालय निर्माण कार्यलाई छिट्टै अघि बढाइने अध्यक्ष कक्षपतिको भनाई छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार १७:३२