सूचनाको शक्ति - The Power Of Information

        

पहिलो पटक खानेपानी आयोजनाको बीमा !

जुम्ला । कर्णालीमै पहिलो पटक जुम्लाका दुई खानेपानी आयोजनाको बीमा गरिएको छ । कुनै पनि प्राकृतिक प्रकोपका कारण खानेपानी आयोजनामा क्षति पुग्न गई खानेपानीबाट स्थानीय वञ्चित हुन नपरोस् भन्ने ध्येयले कर्णालीमै पहिलो पटक जुम्लाका दुई खानेपानी आयोजनाको बीमा गरिएको हो ।

हिमा गाउँपालिका–३ स्थित रु ५२ लाख ३० हजारको जोगिबाडा खानेपानी आयोजना र वडा नं–७ स्थित रु ५५ लाख २२ हजारको माथिकुडू खानेपानी आयोजनाको बीमा गरिएको छ । सुवास परियोजना अन्तर्गत वाटरएड नेपालको सहयोग तथा किर्डाक नेपाल र हिमा गाउँपालिकाको साझेदारीमा जोगीबाडा गाउँका ८२ र माथिकुडूका ७४ घरधुरीलाई समेट्ने गरी दुई खानेपानी आयोजना सञ्चालनमा आएका छन् ।

दुबै आयोजनाको बीमा पश्चात किर्डाक नेपालले वार्षिक बीमा किस्ता रकम शिखर इन्सोरेन्स कम्पनीलाई बुझाएको छ । एउटै आयोजनाको वार्षिक ११ हजार बढी बीमा रकम कम्पनीलाई बुझाउनुपर्ने प्रावधान छ । सो अनुसार हरेक वर्ष आउनसक्ने प्राकृतिक विपत्तिका कारण खानेपानी आयोजना अवरुद्ध हुनगए कम्पनीले आफै मर्मत सम्भार गर्ने भएको छ । स्थानीयवासीले पानीको मासिक महसुल तिरेवापत मर्मत सम्भार कोषमा जम्मा भएको रकमबाट वार्षिक किस्ता कम्पनीलाई बुझाइने कुडू खानेपानी उपभोक्ता समितिका अध्यक्ष काले बुढाले बताए ।

‘खोला र कुवाको पानी खानु पर्दाको कष्ट एक घर एक धाराले छुटाएको छ, यसले हाम्रो दैनिकी मात्र सहज भएको छैन, सरसफाइ अवस्था पनि निकै सुधार भएको छ,’ कुडू गाउँकी कौशिला न्यौपानेले भनिन्, ‘बाढी पहिरो, भूक्षय तथा भूकम्पका कारण हामी खानेपानी नै गुमाउन चाहान्नौं, त्यसैले दैलोमा आएको सुखलाई निरन्तरता दिन गाउँले मिलेर पानीको बीमा गर्यौ ।’ हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले तीन वर्षभित्र गाउँपालिका एक घर एक धारा तथा स्वच्छ खानेपानीको पहुँचमा पुग्ने बताए । जिल्ला समन्वय समिति प्रमुख लालबहादुर सार्कीका अनुसार अनुगमनको क्रममा दुबै खानेपानी आयोजनाको अवस्था निकै सन्तोषजनक रहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार १५:०३