सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ५ मा राजपा र फोरमको अस्तित्व संकटमा !


काठमाडौं । प्रदेश नम्बर २ मा कांग्रेस र वाम गठबन्धनसँग कडा प्रतिस्पर्धामा रहेको मधेसी गठबन्धनलाई प्रदेश नम्बर ५ मा भने अस्तित्व जोगाउन हम्मेहम्मे परेको छ । प्रदेश ५ मा प्रतिनिधिसभाका २६ सिट छन्, जसमध्ये मधेसका पाँच जिल्ला बाँके (३), बर्दिया (२), दाङ (३), कपिलबस्तु (३), रुपन्देही (५), नवलपरासी (२) मा मात्रै १८ सिट छन् । यो प्रदेशमा संघीय समाजवादी फोरम र राजपाको गठबन्धन सबै जिल्लामा कमजोर देखिएको छ ।
प्रभावशाली नेताहरु आफ्नो दल छाडेर अन्य दलतिर लागेका छन् भने दुई दलबीच प्रदेश २ मा जस्तो सबै ठाउँमा चुनावी तालमेल पनि हुन सकेको छैन । राजपाका प्रभावशाली नेताहरु हृदयेश त्रिपाठी, बृजेशकुमार गुप्ता र ईश्वर दयाल मिश्रले पार्टी छाडेर स्वतन्त्र राजनीतिक समूह बनाएका छन् र एमालेको चुनाव चिन्ह प्रतिनिधिसभामा उम्मेदवार दिएका छन् । दुबै संविधानसभामा फोरमबाट निर्वा्चित अभिषेकप्रताप साह कांग्रेसबाट उम्मेदवार बनेका छन् । अब प्रदेश नं ५ मा मधेस केन्द्रित दलको अस्तित्व सर्वेन्द्रनाथ शुक्ल, गोविन्द चौधरीहरुमा भर पर्छ । प्रदेश नम्बर ५ मा मधेसकेन्द्रित दलको स्थिति कस्तो छ ? हेरौं, केही जिल्लाको अवस्था ः

बाँके
२१ मंसिरको चुनावले बाँकेबाट प्रतिनिधिसभा सदस्यमा ३ र प्रदेशसभा सदस्यमा ६ जना चुनिनेछन् । प्रतिनिधिसभाको क्षेत्र नम्बर १ मा ९८ हजार ३२० मतदाता छन् भने कांग्रेसमा माधवराम खत्री, वाम गठबन्धनबाट माओवादीका महेश्वर जंग गहतराज र मधेसी गठबन्धनबाट लालबहादुर शाहसहित १० उम्मेदवार चुनावी मैदानमा छन् । स्थानीय तहको मतका आधारमा बाम गठबन्धन अगाडि छ । यद्यपि कांग्रेसलाई राप्रपाको समर्थन रहेको र धेरै मत भएको एमालेले माओवादीलाई यो क्षेत्र छाडेकाले कांग्रेस र वाम गठबन्धनबीच प्रतिस्पर्धा देखिन्छ ।
यो क्षेत्रमा फोरमको मत निकै मत छ । राजपाले स्थानीय चुनावमा भाग नै नलिएकाले उसको खुलेको छैन । तर, कांग्रेस–वामलाई टक्कर दिने अवस्था देखिँदैन । क्षेत्र नम्बर २ मा कांग्रेस र एमाले–माओवादी दुबै चुनावी मैदानमा छैन । तर, प्रतिस्पर्धा उनीहरुकै हुनेछ । कांग्रेसले राप्रपाका ओमप्रकाश आजादलाई समर्थन गर्दा वाम गठबन्धनले राजपा छाडेर आएका पशुपतिदयाल मिश्रलाई समर्थन गरेको छ । यो क्षेत्रमा मधेसी गठबन्धनबाट राजपाका विजयकुमार गुप्ता उम्मेदवार बनेका छन् ।
त्यसैले यो क्षेत्रमा कांग्रेस, एमाले र माओवादीका मतदाताले कसलाई रोज्छन् हेर्न बाँकी छ । ८२ हजार ९४७ मतदाता रहेको यो क्षेत्रमा कुल १७ उम्मेदवार चुनावी मैदानमा छन् । स्थानीय तहको मत हेर्दा कांग्रेसको १२ हजार, एमालेको १० हजार मत छ भने राप्रपा, फोरम र माओवादीको मत ८ हजार आसपास छ । बाँके ३ मा ९५ हजार ४४९ मतदाता छन् भने कांग्रेसका बादशाह कुर्मी, एमालेका नन्दलाल रोका क्षेत्री र फोरमका मनोजकुमार दिक्षितसहित ८ उम्मेदवार छन् । स्थानीय तहको मतका आधारमा भने वाम गठबन्धन अगाडि देखिन्छ ।

बर्दिया
यस जिल्लाबाट प्रतिनिधिसभामा २ र प्रदेशसभामा ४ सदस्य चुनिनेछन् । दुबै क्षेत्रमा वाम गठबन्धन बलियो देखिन्छ । क्षेत्र नम्बर १ मा एमाले उपाध्यक्ष बामदेव गौतमसँग कांग्रेसका संजयकुमार गौतम भिडेका छन् । मधेसी गठबन्धनबाट संघीय समाजवादी फोरमका काशीम अली सिद्धिकी उम्मेदवार रहेको यो क्षेत्रमा १ लाख ३९ हजार ३६२ मतदाता छन् । स्थानीय तहको मतका आधारमा एमाले र माओवादीको गरी ५५ हजार मत छ भने कांग्रेस–राप्रपा–फोरम लोकतान्त्रिकको ३१ हजार र फोरमको २ हजार मत छ । क्षेत्र नम्बर २ मा १ लाख ३३ हजार ११५ मतदाता छन् ।
कांग्रेसबाट गोपाल दलित, माओवादीबाट सन्तकुमार थारु र संघीय फोरमका अनिरुध्या आर्य उम्मेदवार छन् । तर, स्थानीय तहको मतका आधारमा वाम गठबन्धन निकै अगाडि देखिन्छ । माओवादी केन्द्रको ३१ हजार र एमालेको २२ हजार मत हुँदा कांग्रेसको २७ हजार छ । कांग्रेसबाट उम्मेदवार बनेका दलित थरुहट तराई पार्टीबाट फोरम लोकतान्त्रिक हुँदै कांग्रेसमा आइपुगेका हुन् । यो क्षेत्रमा थारु समुदायको मत भएकाले उनले वाम गठबन्धनका सन्तकुमारलाई टक्कर दिने देखिन्छ ।

कपिलबस्तु
यो जिल्लामा प्रतिनिधिसभाका ३ क्षेत्र छ । क्षेत्र नम्बर १ मा १ लाख १६ हजार ९३७ मत मतदाता छन् भने कांग्रेसबाट दीपकुमार उपाध्याय, वाम गठबन्धनबाट माओवादीका चक्रपाणि खनाल बलदेव र घीय फोरमका अब्दुल रशिद खाँ उम्मेदवार छन् । दोस्रो संविधानसभा उपाध्याय र खनाल दुबै एमालेका बलराम अधिकारीसँग पराजित भएका थिए । चुनाव हारेपछि सुशील कोइराला सरकारले भारतीय राजदूत बनाएका उपाध्याय चुनाव लड्नकै लागि राजदूतबाट राजीनामा दिएर आएका हुन् । स्थानीय तहको मतका आधारमा यो निर्वाचन क्षेत्रमा कांग्रेस र एमालेको अवस्था उस्तै हो भने माओवादी निकै कमजोर छ ।
फोरम र राजपा पनि प्रतिस्पर्धामा नै छ । तर, धेरै मत भएको एमालेले वाम गठबन्धन बनाउँदा थोरै मत भएको माओवादीलाई छाडेको तथा राप्रपा र तत्कालीन फोरम लोकतान्त्रिकको समेत साथ पाएका कारण यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ । १ लाख २ हजार ४२० मतदाता रहेको निर्वाचन क्षेत्र नम्बर २ मा १५ उम्मेदवार छन् । तर, मुख्य प्रतिस्पर्धा कांग्रेसका सुरेन्द्रराज आचार्य र वाम गठबन्धनका वृजेशकुमार गुप्ताबीच हुने देखिन्छ । स्थानीय तहको मतका आधारमा यो क्षेत्रमा कांग्रेस बलियो हो । एमाले र माओवादी मिल्दा पनि उसलाई भेट्टाउन गाह्रो छ । तर, वाम गठबन्धनबाट उम्मेदवार बनेका गुप्ता दोस्रो संविधानसभामा तमलोपाबाट विजयी भएका थिए ।
यो पटक राजपा छाडेर एमालेको चुनाव चिन्ह लिएर लडेका उनको व्यक्तिगत प्रभाव पनि भएका कारण कांग्रेसलाई सहज छैन । क्षेत्र नम्बर ३ मा रोचक प्रतिस्पर्धा हुँदैछ । कांग्रेसका उम्मेदवार अभिषेक प्रताप साह साविकको क्षेत्र नम्बर ५ बाट दुबै संविधानसभामा फोरमबाट निर्वाचित भएका थिए । यो पटक उनी कांग्रेसबाट उम्मेदवार बनेका छन् । वाम गठबन्धनका उम्मेदवार ईश्वर दयाल मिश्र पनि राजपा छाडेर स्वतन्त्र समूह बनाएका नेता हुन् । उनले यो पटक एमालेको चुनाव चिन्ह लिएर लडेका छन् । ९२ हजार ४०३ मतदाता रहेको यो क्षेत्रमा राजपाले नरसिंह चौधरीलाई उम्मेदवार बनाएको छ । स्थानीय तहको मतका आधारमा वाम गठबन्धन अगाडि देखिन्छ तर, कांग्रेस धेरै पछाडि छैन । फोरमको मत दुई गठबन्धनको भन्दा आधा मात्र छ ।

रुपन्देही
प्रदेश ५ मा सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला हो रुपन्देही । यहाँ प्रतिनिधिसभाका ५ क्षेत्र छन् । तर, चार बाहेक अन्यमा कांग्रेस र वामकै प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसका अब्दुल रजाक गद्दि, एमालेका छविलाल विश्वकर्मा र राजपाका चन्द्रभान तिवारी उम्मेदवार रहेको क्षेत्र नम्बर १ मा १ लाख १२ हजार १३० मतदाता छन् । मुख्य प्रतिस्पर्धा भने अब्दुल रजाक र छविलालबीच हुने देखिन्छ । स्थानीय तहको मतका आधारमा वाम गठबन्धन अगाडि छ ।
तर, राप्रपाको समर्थन पाएको कांग्रसका उम्मेदवारले एमाले नेता छविलाललाई कडा चुनौती दिइरहेका छन् । क्षेत्र नम्बर २ मा १ लाख ५ हजार २०६ मतदाता छन् भने वाम गठबन्धनका विष्णु पौडेल, कांग्रेसका युवराज गिरी र संघीय फोरमका किरन गुप्तासहित १६ उम्मेदवार चुनावी मैदानमा छन् । तर, स्थानीय तहको मत हेर्दा एमालेका उपमहासचिव एवं निवर्तमान सांसद पौडेल प्रतिस्पर्धी माथि हावी देखिन्छ । क्षेत्र नम्बर ३ मा एमालेका अर्का उपमहासचिव घनश्याम भुसाल, राप्रपाका दीपक बोहोरा र संघीय फोरमका महेन्द्र यादवसहित २१ उम्मेदवार चुनावी मैदानमा छन् ।
१ लाख ९ हजार २७८ मतदाता रहेको यो क्षेत्रमा भुसाल र बोहोरा मुख्य प्रतिस्पर्धी हुन् । स्थानीय तहको मत हेर्दा यो क्षेत्रमा कांग्रेस र एमाले तथा राप्रपा र माओवादी केन्द्र झण्डै समान अवस्थामा छन् । तर, पैसा खर्च गर्न सक्ने उम्मेदवार मानिएका बोहोराले बौद्धिक नेता भुसाललाई कडा चुनौती दिएका छन् । प्रतिनिधिसभाको क्षेत्र नम्बर ४ मा ८९ हजार ८३५ मतदाता छन् । यो क्षेत्रमा राजपा नेता शर्वेेन्द्रनाथ शुक्लका साथै कांग्रेसका प्रमोदकुमार यादव र एमालेका ओमप्रकाश यादवसहित १६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यो क्षेत्रमा शुक्लका प्रतिस्पर्धी वाम गठबन्धन नभई कांग्रेस हो ।
साथै संघीय फोरमले ओमप्रकाश यादवलाई उम्मेदवार बनाएका कारण उनी केही दबावमा छन् । १ लाख ६ हजार १५३ मतदाता रहेको क्षेत्र नम्बर ५ मा कांग्रेसका भरतकुमार शाह, माओवादीका डिलाराम आचार्य, राजपाका राजेन्द्र गुप्ता र फोरमका मुहम्मद वकील मुसलमानसहित १९ उम्मेदवार छन् । तर, मुख्य प्रतिस्पर्धा कांग्रेसका शाह र वाम गठबन्धनका उम्मेदवार आचार्यबीच हुने देखिन्छ ।

नवलपरासी
प्रदेश निर्माणका क्रममा विभाजित भएको नलपरासी (बर्दघाट पश्चिम) को यो क्षेत्रमा प्रतिनिधिसभाका २ क्षेत्र छन् । १ लाख २ हजार ३६८ मतदाता रहेको क्षेत्र नम्बर १ मा कांग्रेसका देवकरण कलवार, वाम गठबन्धनका हृदयेश त्रिपाठी, राजपाका अरुण कुमार सिह घर्ती र फोरमका नरेन्द्र गोसाइ उम्मेदवार छन् । मुख्य प्रतिस्पर्धा भने कलवार र त्रिपाठीबीच हुने देखिन्छ । ०४८ देखि सांसद रहेका त्रिपाठीलाई दोस्रो संविधानसभामा कांग्रेस उम्मेदवार कलवारले हराएका थिए । लामो समय मधेस राजनीति गरेका त्रिपाठी स्थानीय चुनावपछि राजपा छाडेर स्वतन्त्र राजनीतिक समूह गठन गरेका छन् । यो चुनावमा भने उनले एमालेको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका छन् ।
स्थानीय तहको मतका आधारमा कांग्रेस गठबन्धन र वाम गठबन्धनको अवस्था लगभग समान छ । तर, त्रिपाठीले एमाले–माओवादीको सबै मत पाउँछन् कि पाउँदैनन् वा व्यक्तिगत प्रभावका आधारमा कति मत ल्याउँछन् भन्नेले जितहारको निर्धारण गर्नेछ । क्षेत्र नम्बर २ मा १ लाख ५ हजार ८६९ मतदाता छन् भने कांग्रेसका देवेन्द्रराज कँडेल, वाम गठबन्धनका माओवादीका घनश्याम यादव अहिर, राजपाका गोविन्द्रप्रसाद चौधरी चुनावी प्रतिस्पर्धामा छन् । स्थानीय तहको मतका आधारमा वाम गठबन्धन अगाडि छ । तर, कँडेल पूर्वगृहराज्यमन्त्री हुन् भने राजपाका उम्मेदवार चौधरी प्रभावशाली नेता हुन् । साथै धेरै मत भएको एमालेले कम मत भएको माओवादीलाई समर्थन गरेकाले प्रतिस्पर्धा रोचक हुने देखिन्छ । अनलाइन खबरबाट

प्रकाशित मिति : १७ मंसिर २०७४, आइतवार ०४:३५