सूचनाको शक्ति - The Power Of Information

        

होटलमा गोप्य क्यामरा राखेर अश्लील गतिविधि गरेपछि…

एजेन्सी । दक्षिण कोरियाका होटलका कोठाहरुमा गोप्यरुपमा क्यामरा जडान गरेर १ हजार ६०० व्यक्तिको अश्लील गतिविधि रेकर्ड गरेको पाइएको छ । यो काममा संलग्न भएको अभियोगमा चार जना पुरुष पक्राउ परेका छन् । बीबीसीसँग कुरा गर्दै कोरियाका प्रहरीले भनेका छन् यी चार व्यक्तिले अगष्ट महिनामा दक्षिण कोरियाका १० शहरमा ३० वटा अलगअलग होटलमा १ एमएमको लेन्स क्यामरा जडान गरेका थिए ।

उनीहरुले गोप्यरुपमा भिडियो रेकर्ड गरेर वेबसाइटहरुमा राख्ने र सवा चार लाख रुपैयाँसम्म कमाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुले क्यामरालाई टेलिभिजन, हेयर ड्रायरको होल्डर र सोकेशमा जडान गरेर कोठाभित्र बसेकाहरुको गतिविधि रेकर्ड गरेको पाइएको बीबीसीले जनाएको छ । यति यो कुराको पुष्टि भयो र उनीहरु दोषी ठहरिए भने १० वर्ष जेल र दुई अर्ब रुपैयाँसम्म जरिवाना हुन सक्ने छ ।

नोभेम्बरमा एक वेबसाइट बनाए, त्यहाँ ३० सेकेन्डको फ्रि भिडियो अपलोड गरिएको थियो र यदि पूरा भिडियो हेर्ने भए शुल्क लाग्ने भनेर उनीहरुले वेबसाइट हेर्नेहरुबाट पैसा लिने गर्दथे । वेबसाइटमा उनीहरुले यस्ता भिडियोहरु ८०३ वटा राखेका थिए र विदेशमा वेबसाइटको सर्भर बनाएर कानुनबाट जोगिने प्रयास गरेका थिए । यसै महिना उक्त वेबसाइट बन्द गराइएको छ । गोप्यरुपमा अश्लील भिडियो बनाउने काममा दक्षिण कोरियाको फास्ट इन्टरनेट पनि दोषि पाइएको छ । शौचालय र कपडा फेर्ने कोठाहरुभित्रको गतिविधि रेकर्ड गरेर पनि भिडियो बनाएर वेबसाइटमा राखिएको थियो ।

पोर्नेग्राफी दक्षिण कोरियामा प्रतिबन्ध छ । तर पनि गोप्य तरिकाले भिडियो बनाउने र सार्वजनिक गर्ने काम तीब्र बन्दै गएको छ । यसप्रकारका घटनाहरु सन् २०१२ मा २ हजार ४०० थिए । तर, सन् २०१७ मा बढेर ६ हजारभन्दा बढी पुगेको तथ्यांक छ । गोप्य तरिकाले भिडियो रेकर्ड गरेर सार्वजनिक गरिदिने घटनाको विरोध गर्दै दक्षिण कोरियाको राजधानी सोलमा गत वर्ष प्रदर्शनसमेत भएको थियो । प्रदर्शनकारीले दोषीलाई कडा सजायँको माग गरेका थिए । सन् २०१७ मा जासुसी क्यामरासँग सम्बन्धित अपराधमा ५ हजार ४०० भन्दा बढी व्यक्तिहरु पक्राउ परेका थिए, तीमध्ये २ प्रतिशतभन्दा पनि कम व्यक्तिलाई मात्रै जेल सजाय भएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार १३:३४