बाँके । तरकारीमा सिन्डिकेट, मासुमा सिन्डिकेट, ट्याक्सीमा सिन्डिकेट, बसमा सिन्डिकेट, औषधिमा उस्तै सिन्डिकेट छ । शिक्षा, स्वास्थ्य जहाँतहीँ सिन्डिकेट । उपभोक्ताले ‘खाए खा नखाए घिच’जस्तो व्यवहार गर्न उत्पादक र सेवा प्रदायक मिलेर मूल्य तोकिरहेका छन् ।
छनोटको अधिकार भए पनि मूल्यमा त्यो अधिकार पाएका छैनन् । पछिल्लो समय पानी बिक्री वितरणमा समेत सिन्डिकेट गरिएको छ । प्रत्येक व्यवसायमा उचित क्षतिपूर्तिको व्यवस्था कानूनले गरेको छ । तर, त्यसबारे न उपभोक्ता सचेत छन् न राज्य त्यो अधिकार प्रत्याभूत गर्न सक्षम छ ।
उपभोक्तामाथिको बेइमानी विकसित देशमा अति संवेदनशील मानिन्छ । तर, बाँकेका उपभोक्ता उपभोक्ता निरीह बनेका छन् । उपभोक्ता संरक्षण ऐन २०७५ तयार भइसकेको छ । यसले उपभोक्ताविरोधी हर्कत गर्नेलाई बढीमा तीन वर्षको कैद वा ६ लाख रुपैयाँसम्म जरिवाना या दुवै सजायको व्यवस्था गरेको छ ।
यतिबेला पनि फेरि जरिवाना र दण्ड सजाय वृद्धि हुँदासमेत उस्तै हालत हुने हो कि भन्ने शंका मेटिन भने सकेको छैन । किनभने राज्य संयन्त्रको अनुगमन फितलो छ । बाँकेमा पानी व्यवसायीले कम्पनीबाट सिधै खरिद गरेर पानी बिक्री गर्न नपाएको गुनासो गरेका छन् ।
केही पानी बिक्रेताहरूले संघ बनाएर आफूखुशी आफ्नै मनपरीमा सिन्डिकेट शैलीमा पानी बिक्री वितरण गरिरहेको नेपालगन्जका पानी बिक्रेता गोकर्ण न्यौपाने बताउँछन् । उनकाअनुसार पानी बिक्रेताले सिधै कम्पनीबाट पानी खरिद गरि बिक्री गर्न नपाएको कारण पानी व्यवसायमा सिन्डिकेट लागू भएको महशुस गरेका छन् ।
कम्पनीबाट संघमा आवद्ध केही बिक्रेताले मात्रै पानी खरिद गर्न पाउने भन्दै अरू थोक तथा खुद्रा व्यवसायीलाई पानी खरिदमै रोक लगाइएको न्यौपानेले बताए । उनकाअनुसार नेपालगन्जमा करिब एक दर्जनबढी कम्पनीका पानी बिक्रेता रहेपनि सबैले सिधै कम्पनीबाटै पानी खरिद गर्न पाएका छैनन् ।
खुद्रा तथा थोक बिक्रेताले सिधै कम्पनीबाट खरिद गर्न नमिल्ने पानी संघका पदाधिकारी सन्तोष बोहोरा बताउँछन् । उनकाअनुसार संघमार्फत मात्रै पानी बिक्री वितरण हुँदै आएको छ । उत्पादन कम्पनीले सिधै पानी बिक्री गर्न नपाउने हुँदा अहिले संघबाट पानी विक्री वितरण गरिएको रहेका बोहोराले बताए ।
बाँकेमा कति कम्पनीका पानी बिक्री वितरण भइरहेका छन भन्ने एकिन विवरण कसैसँग छैन् । जिल्लाभर करिब दुई दर्जनजति कम्पनीका पानीले बजारीकरण गरिरहेको व्यवसायीहरू बताउँछन् । तर, संघमा अहिले पाँचवटा उत्पादन कम्पनीका बिक्रेता डिलरहरू मात्रै आबद्ध रहेको पानी व्यवसायीसमेत रहेका बोहोरा बताउँछन् ।
उनकाअनुसार पानीमा सिन्डिकेट छैन् । उनले भने, ‘कम्पनीबाट डिलरले बाहेक अरूले सिधै खरिद गर्न नमिल्ने भएकोले संघमार्फत खरिदको प्रक्रिया मात्र मिलाइएको हो ।’ उनकाअनुसार यसलाई सिन्डिकेट भन्न मिल्दैन । केही दिनअघिसम्म रु.१०५ मा एकपेटी बिक्री भइरहेको पानीको मूल्य पनि चैत्र एक गतेदेखि भारी मात्रामा बढेको छ ।
बोहोराकाअनुसार अहिले व्यवसायीले रु.१५० सम्ममा एकपेटी पानी बिक्री गरिरहेका छन् । यसले उपभोक्ता मर्कामा परेका छन् । तर, कतिपय स्थानमा पसलपिच्छे पानीको पेटी, जार र बोत्तलमा दोब्बर फरकसमेत पर्ने गरेको छ । सडकपेटीमा बिक्री गरिने एक बोत्तल पानीको रु.२० देखि रु.४० समेत तिर्नुपरेको उपभोक्ता गोपाल खत्री बताउँछन् ।
उनकाअनुसार न पानीको मूल्य एकरूप छ नत गुणस्तर नै बिक्री वितरणमा समेत सिन्डिकेट लागू गरिएजस्तोे देखिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले यस विषयमा आफूलाई जानकारी नआएको बताए । उनले भने, ‘यो विषय पूर्व जानकारीमा नभएकोले विस्तृतमा बुझेको छैन । यस विषयमा विस्तृतरुपमा बुझेर काम कारबाही हुनेछ ।’
सत्यपाटी - ।