सूचनाको शक्ति - The Power Of Information

        

नेपाली कुकुरले सात हजार मिटर अग्लो वरुण हिमाल चढेपछि…

काठमाडौँ । सामान्य मानिसहरूका लागि समेत हिमाल चढ्न निकै गाह्रो मानिन्छ । तर, एउटा नेपाली कुकुरले सात हजार मिटर अग्लो वरुण हिमाल चढेर विश्वभरिका मानिसहरूलाई आश्चर्यचकित पारिदिएको छ । पर्वतारोहीहरूका टोलीलाई पच्छाउँदै गएको ‘आवारा’ कुकुरले टोलीसँगै हिमाल आरोहण गरेपछि अहिले माउन्टेन गाइड काजी शेर्पाले त्यसलाई पालेका छन् ।

काठमाडौंस्थित समीट क्लाइम्ब एक्सपेडिसनमार्फत गएको अमेरिकी नागरिक डन वार्गोस्कीले नेतृत्वको आरोहण टोलीसँगै कुकुर वरुणत्से हिमालको शिखरमा पुगेको हो। हालसम्म शेर्पाहरूले पालेको भोटे कुकुर सगरमाथाका आधार शिविर र त्यहाँबाट कहिलेकाँही दोस्रो समीट (समीट टू) सम्म पुगे पनि शिखर नै आरोहणका यो पहिलो घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

सुरूमा मिरा नाम राखिएको कुकुरले वरुणत्से आरोहण गरेपछि अहिले त्यसको नाम बरु राखिएको छ । त्यो कुकुर आरोहीहरूसँगै २ दिनसम्म हिमालका शिखर चढ्न र झर्नमा व्यस्त थियो । बीबीसीका अनुसार त्यो कुकुरले बिना कुनै सहायता सगरमाथा नजिकैको हिमाल चढेको हो । हिमाल आरोहण गरिसकेपछि पनि त्यो कुकुर सामान्यजस्तै यताउती दौडिएर आरोहण दलका सदस्यलाई चकित पारिदिएको छ ।

वारगोस्की र उनको टोली बरुणत्सेको आरोहरण गर्दैगर्दा १७ हजार फिट माथिबाट कुकुरले उनीहरुलाई पछ्याउन सुरु गरेको थियो । तर, केही समय पछि लागे पनि टुप्पोसम्मै सँगसँगै आउने अपेक्षा नगरेको उनीहरुले बताए । रातिको समयमा तातो रहन कुकुर वारगोस्कीकै टेन्टमा बसेको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतवार ०९:०१