सूचनाको शक्ति - The Power Of Information

        

घुमुवा प्रहरी : अवैद्य असुलीदेखि रक्सी भट्टीसम्म !

समुदायसँग प्रहरी !

बाँके । प्रहरी प्रमुख नयाँ नियुक्त भएसँगै हरेक पटक प्रहरीले एउटा अभियान शुरु गर्छ । र त्यो अभियानले सधैं एउटा नाम पाउँछ । झट्ट सुन्दा पुरानै नाराजस्तो लाग्छ । तर केही नयाँ कुरा भने अवश्य हुन्छ । कहिले त्यो नारामा प्रहरी शब्द अघि हुन्छ त कहिले पछि । जस्तै, मुस्कानसहितको प्रहरी सेवा । जनतासँग प्रहरी । टोलटोलमा प्रहरी । प्रहरी मेरो साथी । समुदायसँग प्रहरी ।

प्रहरीले सधैं नारा बदल्यो । तर उसको व्यवहार कहिले बदलिएन । उसको नारा जति मिठो भएपनि व्यवहार कहिले मिठो भएन । नारा मात्र फेरिरहने कि ? व्यवहार पनि फेर्ने ? यो महत्वपूर्ण कुरा हो । व्यवहार नफेरिकन फेरिने नाराले न त कुनै नतिजा दिन्छ ? न त जनताको विश्वास र भरोसा नै जित्न सकिन्छ । मान्छे अहिले पनि प्रहरी कार्यालयभित्र जानु नपरोस भनेर कामना गर्छ । किनकी एउटा समस्या लिएर त्यहाँ जादा प्रहरीले अर्को दुख दिन्छ ।

०७१ सालमा बाँकेका तत्कालीन प्रहरी प्रमुख एसपी शेखर कोइराला घुमुवा प्रहरीकै कारण निलम्बित भएका थिए । बाँकेका तत्कालीन घुमुवा प्रहरी नायब निरीक्षक (सई) सुमन खरेललाई अख्तियारले २५ हजार रुपैयाँ घुससहित धम्बोझीस्थित क्रसरोड रेष्टुरेन्टबाट पक्राउ गरेको थियो । खरेललाई नियन्त्रणमा लिने क्रममा प्रहरी र आयोगका टोलीबीच घम्साघम्सी नै भयो । त्यसक्रममा केही घाइते पनि भए ।

घटनामा प्रहरी प्रमुख कोइराला पनि जोडिएपछि अख्तियारको सिफारिसमा प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बन गरेको थियो । तर, केही गैरजासुसले विभिन्न आडमा सजायबाट मुक्ति पाएका थिए । सामान्यरूपमा बुझ्दा घुमुवा सादा पोशाकका प्रहरी हुन् । उनीहरुलाई गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रण गर्ने उद्देश्यले राखिएको हो । तर, पछिल्ला वर्षहरूमा उनीहरु जिम्मेवारी छाडेर महिनावारी असुलीमा सक्रिय छन् ।

उनीहरु इञ्चार्जसमक्ष पैसा पुर्याउने विश्वासिलो माध्यम बनेका छन् । घुमुवा प्रहरी विशेषतः बाँकेमा बढी सक्रिय देखिएका छन् । उनीहरुले अपराधिक कर्महरुका बारेमा सूचना दिने हो, तर उनीहरु भने अपराध कर्मसँग जोडिएका व्यक्तिहरुसँगै माम खानै व्यस्त हुन्छन् । सीमा नाकाबाट हुने चोरी, तस्करीमा उनीहरु जोडिँदै आएका छन् । घुमुवा प्रहरी भनेर छुट्टै दरबन्दी हुँदैन । जिल्ला प्रहरी कार्यालयमा पाँचदेखि १० जनासम्म घुमुवा राखिएको देखिन्छ । तर, बाँकेका प्रहरी प्रमुख एसपी अरूण पौडेललाई अहिले बाँकेमा कति घुमुवा छन् त्यसको एकिन विवरण समेत थाहा छैन ।

कतिपयमा कार्यालयमा असईको कमाण्डमा उनीहरुलाई राखिएको छ । केही चौकीमा हवल्दारको कमाण्डमा छन् । जिल्लामा प्रहरी निरीक्षकको कमाण्डमा पनि घुमुवा खटाइएका छन् । केही घुमुवा प्रहरी एउटै प्रहरी अधिकारीको वरिपरि घुमेको पनि देखिन्छ । कतिपयको हकमा भने यो लागू हुँदैन । उनीहरुको जागिर जुन जिल्लाबाट शुरू भएको छ, त्यहीँबाट अवकाश भएका उदाहरण पनि प्रशस्तै छन् ।

यसरी प्रहरी कार्यालयको नेतृत्व गरेका अधिकारीले आफू निकटका अधिकारीलाई घुमुवा राखेर अनुकुलता अनुसार प्रयोग गर्दा उनीहरु बदनाम छन् । पछिल्लो समय बाँकेमा घुमुवा प्रहरीको दुरुपयोग हुन थालेको छ । विस्तारै गाँजा खेती र तस्करीमा पनि घुमुवा प्रयोग हुन थालेका छन् । उनीहरुको संरक्षण र हामिकको आडमा सीमा नाकाहरुमा तस्करी बढने गरेको गुनासो आइरहेको छ । अहिले घुमुवा प्रहरीको स्थिति उद्देश्यभन्दा ठीक विपरित छ ।

बाँकेमै कार्यरत एक घुमुवा प्रहरीले सादा पोशाकमा बसेपछि शतप्रतिशत ‘पवित्र’ हुन नसकिने तर्क गरेका छन् । यसले पनि पुष्टि हुन्छ कि घुमुवा प्रहरीको खेती भनेकै असुली हो । अपराधिक क्षेत्रमा लागेका व्यक्तिसँग विश्वासको वातावरण सिर्जना गर्न पनि कतिपय अवस्थामा गलत कार्य गर्नुपर्ने उनी बताउँछन् । हाकिमको चाहनाअनुसार घुमुवालाई गलत काममा प्रयोग गरिने गरिएको उनी स्वीकार गर्छन् ।

घुमुवा प्रहरी विशेषतः बाँकेमा बढी सक्रिय देखिएका छन् । उनीहरुले अपराधिक कर्महरुका बारेमा सूचना दिने हो, तर उनीहरु भने अपराध कर्मसँग जोडिएका व्यक्तिहरुसँगै माम खानै व्यस्त हुन्छन् । सीमा नाकाबाट हुने चोरी, तस्करीमा उनीहरु जोडिँदै आएका छन् ।

पछिल्लो समय बाँकेमा घुमुवा प्रहरीको दुरुपयोग हुन थालेको छ । विस्तारै गाँजा खेती र तस्करीमा पनि घुमुवा प्रयोग हुन थालेका छन् ।

‘कोही राम्रो हाकिम आउँछन्, अपराध अनुसन्धान र सूचना संकलन गर्न मात्र लगाउँछन्’, उनले थपे, ‘तर, केही चाहिँ आउने वित्तिकै कहाँकहाँबाट पैसा उठाउने गरेको छ भनेर सोध्छन् ।’ कतिपय अवस्थामा भने घुमुवा प्रहरीले हाकिम र अपराधी दुवै पक्षसँग डिल गर्ने गरेको उनी बताउँछन् । अधिकारीहरु भन्छन्, ‘पहिले पहिले नेपालगन्जमा हुने अपहरणका घटनाबारे घुमुवा प्रहरीलाई अग्रिम जानकारी हुन्थ्यो । पैसा जताबाट आउँथ्यो उनीहरु त्यतै लाग्थे । द्वन्द्वको समयमा यो प्रवृत्ति झन् बढी थियो ।’

पछिल्लो समय घुमुवा प्रहरीमाथि मुद्दा चलेको घटना कमै सार्वजनिक भए पनि उनीहरुको असुली धन्दा भने रोकिएको छैन । घुमुवाबाट बाँकेका व्यवसायी मात्रै नभई कर्मचारी समेत आजित भइसकेका छन् । घुमुवा प्रहरीहरु असुलीमा संलग्न हुने गरेको देखिएको प्रहरीकै जिल्लास्थित हाकिमलाई थाहा छ । तर, तै चुप मै चुपको अवस्था छ । जसमा कमिशनको चक्कर छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत उदासीन छ । प्रहरीको इन्टिलिजेन्टमा काम गर्ने घुमुवा प्रहरीहरु विश्वास गरिएका मान्छेहरु हुन् ।

तर, यदाकदा बीचमै खेल्ने गरेको देखिएको अख्तियार प्रमुख गणेश गैरे बताउँछन् । अख्तियारको फन्दामा परेका घुमुवाको संख्या न्यूनछ । तर, प्रहरीका कार्यालयको उजुरी छानविन शाखामा घुमुवाका कर्तुतको चाङ लाग्ने गरेको भेटिन्छ । यद्दपी यस्ता उजुरीबारे सूचना सार्वजनिक गरिदैन । बाँकेमा घुमुवाको एकिन संख्या प्रहरी कार्यालयसँग छैन् । यहाँ तीन तहका घुमुवा छन् । घुुमुवाले नागरिकलाई आतंकित बनाएको राँझाका एक व्यवसायी बताउँछन् ।

उनकाअनुसार वास्तविक घुमुवा असुलीमा सक्रिय हुन्छन उनीहरूले आफनो मातहत सुचकहरू राख्छन् । सूचनको माध्यमबाट सूचना संकलन गर्ने र आफू मोजमस्तीमै रमाउने नै बाँकेका घुमुवाको दिनचर्या बनेको छ । कतिपय घुुमवाको संरक्षणमा धेरै होटल र नीजि घरमै जुवा खेलाउने, योन कारोबार गराउने लगायतका काम समेत भइरहेको खुलेको छ । यसबाट घुमुवाले मोटो रकम असुल गर्ने र उक्त रकम तहअनुसार माथिसम्म पुर्याउने गरेको एक घुमुवा प्रहरी नै बताउँछन् ।

उनकाअनुसार ‘घुमुवा त दिनभर होटलमा बस्ने तास खेलाउने, रक्सीमा मस्त हुने र यौन व्यवसायमा सक्रिय महिलाको खोजी गर्ने मस्ती गर्ने र असुली गर्नेमै सक्रिय छन्,’ उनले भने, ‘के गर्नु आफू पनि घुुमवा नै परियो, भन्न भएन । तर, बाँकेमा घुमुवाकै कारण अवैद्य काम भइरहेका छन् ।’ प्रहरी मेरो साथी अभियान शुरु गरे पनि मुस्कानसहितको प्रहरी सेवा भने पनि र समुदायसँग प्रहरी अभियान चलाए पनि प्रहरीको व्यवहार र कार्यशैलीमा परिवर्तन नआएसम्म आमजनताको यो धारणा परिवर्तन हुनेछैन ।

भन्सार छली र राजस्व चुहावट नियन्त्रणका लागि खटिएको प्रहरी, तस्करी तथा अवैध धन्दामा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने प्रहरीकै मिलेमतो र संरक्षणमा कानुनविपरितका कर्महरु भइरहेका समाचार बेलाबेलामा आइरहन्छन् । जनतासँगै सधैं झर्किएर व्यवहार गरिरहने अनि नारा दिने ‘मुस्कानसहितको प्रहरी सेवा’, जनतालाई अप्ठ्यारो पर्दा हारगुहार गर्दा कहिले साथ नदिने अनि नारा दिने ‘प्रहरी मेरो साथी’, समुदायलाई शान्ति सुरक्षा दिनेभन्दा पनि तस्कर आउने नाकामा बसेर उनीहरुलाई तस्करी गर्न सहयोग र संरक्षण गरिरहने, नारा दिने ‘समुदायसँग प्रहरी’ ।

प्रहरीको आचरण, व्यवहार नसुध्रिने हो भने उसका लागि सबैभन्दा उपयुक्त नारा तस्करसँग प्रहरी राखे हुन्छ । हाकिमका विश्वासिला पात्रका रुपमा अदृष्यरुपमा घुमुवाहरु राखिएका हुन्छन् । घुमुवा जन्माउने प्रहरीका हाकिम हुन् । कारबाही त घुमुवासँगै हाकिमलाई पनि गर्नुपर्छ । होइन भने नाटक बन्द गरेर प्रहरीले नयाँ अभियान शुरु गर्नुपर्छ, ‘तस्करसँग प्रहरी’ । घुमुवाहरुको व्यवहारले यही कुरा पुष्टि गर्छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार १८:४८