सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुर नगरभित्रका विद्यालयमा एउटै पाठ्यपुस्तक र पोशाक

बाँके । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रभित्रका सबै विद्यालयमा एउटै पाठ्यपुस्तक पढाई गराइने भएको छ । सामुदायिक र संस्थागत विद्यालयको गुणस्तर समान गराउन नगरपालिकाले दुवै प्रकारका विद्यालयमा एकैखालको पाठ्यपुस्तक पढाउने भएको हो ।

नगरपालिकाको योजनाअनुसार यसअघि विद्यालयपिच्छे फरकफरक प्रकाशनको पाठ्यपुस्तक अध्यापन गराउँदै आएकोमा अब दुवै विद्यालयमा एउटै प्रकाशनको पुस्तक अध्यापन गराउने तयारी थालिएको हो । नगरपालिकाको योजना कार्यान्वयन भएमा अब पाठ्यक्रम फरक भए पनि सबै संस्थागत विद्यालयहरुले एउटै प्रकाशनको र सामुदायिकमा पनि एउटै प्रकाशनको पुस्तक पढाउनुपर्नेछ ।

यस्तै अब दुवै प्रकारका विद्यालयले पोशाक पनि एउटै लागु गर्नुपर्नेछ । यसअघि विद्यालयले आफुखुशी पोशाक लागु गरे पनि आगामी दिनमा भने सबै संस्थागतले एउटै किसिमको पोशाक लागु गर्नुपर्नेछ । तर, सामुदायिक र संस्थागत विद्यालयको पाठ्यपुस्तक र पोशाक फरक फरक हुने कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।

‘कोहलपुरलाई शैक्षिक हबको रुपमा विकास गर्न यस कार्यक्रमले ठूलो सहयोग पु¥याउने छ,’ उनले भने, ‘अन्य स्थानीय तहभन्दा कोहलपुरलाई नमूना बनाउनका हाम्रो प्रयासमा यसले साथ दिन्छ ।’ नगरपालिकाले अहिले एउटै पाठ्यपुस्तक र पोशाक लागु गर्नेबारे सामाजिक विकास समिति एवं शैक्षिक गुणस्तर सुधार समितिका संयोजक नारायणी ओलीको संयोजकत्वमा एक समितिसमेत गठन गरेको छ ।

गत पुस ४ गते गठन भएको समितिले अहिले आफ्नो कामलाई तिव्रता दिएको छ । समितिमा नगर शिक्षा अधिकारी रामसुरेश यादव, विद्यालय निरीक्षक दानबहादुर विष्ट, नगरका शिक्षा विज्ञद्वय एकराज शर्मा, तोयानाथ पहाडी, सामुदायिक विद्यालयबाट एकदेव पन्थी र संस्थागत विद्यालयबाट शिव डाँगी रहनुभएको छ । अहिले कोहलपुर नगरपालिकाकाभित्रका संस्थागत विद्यालयहरुले फरकफरक प्रकाशनका पाठ्यपुस्तक प्रयोग गरिरहेका छन् ।

सामुदायिक विद्यालयहरुले एउटै प्रकाशनका पाठ्यपुस्तक प्रयोग गरे पनि पोशाक भने फरकफरक नै प्रयोग गरेका छन् । कोहलपुर नगरपालिकाका शिक्षाविज्ञ एकराज शर्माले अहिले कक्षा ५, ८, ९ र १० मा संस्थागत तथा सामुदायिक दुवै विद्यालयमा एउटै पाठ्यक्रम लागु भएको बताए । ‘नगरका संस्थागत विद्यालयहरुले नर्सरीदेखि १० कक्षासम्म अंग्रेजी माध्यमबाट नै पढाइरहेका छन्,’ उनले भने ।

उनकाअनुसार कोहलपुर नगरपालिकाभित्र सामुदायिक विद्यालयतर्फ भने पुरै अंग्रेजी माध्यममा पढाउने विद्यालय छैनन् । सामुदायिक विद्यालय त्रिभुवन माविमा कक्षा ६ देखि अंग्रेजी र नेपाली दुवै माध्यममा पढाई गरेको छ, भने ज्ञानज्योति मावि चप्परगौडीमा कक्षा ८ र ९ मा मात्र लागु गरेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलवार १४:४८