सूचनाको शक्ति - The Power Of Information

        

वडाध्यक्ष तीलकबीरको दादागिरी, कानून विपरित सिफारिस रोक्न खोजेपछि…

बाँके । स्थानीय तहले आम नागरिकका लागि पायक पर्ने स्थानमा केन्द्रहरु राखिन्छ । तर बाँके खजुरा गाउँपालिका–४ का वडाध्यक्ष तिलकवीर सुनारले भने नागरिकलाई होइन आफूलाई पायक पर्ने गरी आफ्नो घर नजिकै वडापालिकाको केन्द्र राखेका छन् ।

अधिकांश वडावासीलाई अपायक पर्नेगरी घरनजिकै भाडामा वडा कार्यालय सञ्चालन गरिरहेका वडाध्यक्ष सुनार यतिमात्रै गरेनन्, उनी सेवा प्रवाहमा समेत नागरिकप्रति पूर्वाग्रही बन्ने गरेका छन् । उनले नागरिकले पाउनुपर्ने सेवासुविधा नै कानून विपरित रोक्न खोज्ने गरेको खुलासा भएको छ ।

आइतबार सोही वडाको ईगाउँबाट शमसानघाट ब्यवस्थापन समिति दर्ताका लागि सिफारिस लिन पुगेका समितिका अध्यक्ष उज्जवल विसीलाई गाउँपालिकाको केन्द्रबाट सिफारिस लिनुस्, मैले सिफारिस दिन्न भन्दै वडाध्यक्ष सुनारले पठाएका थिए । वडाध्यक्षले फिर्ता पठाएपछि सिफारिसका लागि ईगाउँबासीले गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिलाई गुहार्नुपरेको थियो ।

समितिका अध्यक्ष विसी र वडाध्यक्ष सुनारबीच सिफारिसका विषयमा चर्काचर्कीसमेत परेको थियो । त्यसको केही घण्टापछि चौतर्फी दबाब परेपछि समितिका सल्लाहकार मानबहादुर सिंह ठकुरी पुनः सिफारिस लिन वडा कार्यालय पुगेका थिए । गाउँपालिकाका अध्यक्षको निर्देशनमा दोश्रो पटकमा मात्र वडाध्यक्ष सुनारले सिफारिस दिएका थिए ।

बागेश्वरी गाविसको साविक वडा नं.७, ८ र ९ का स्थानीय बासिन्दाले एक नम्बर, एफगाउँ सडक कालोपत्रे गरिँदा अन्य वडामा झैं ३.७५ मिटर कालोपत्रे हुनुपर्ने माग गर्दै आएकोमा आइतबार गाउँपालिकामा ध्यानाकर्षण गराउन पुगेका थिए ।

स्थानीयको मागपछि गाउँपालिकाले कालोपत्रे ३.७५ मिटर नै हुने गरी पुनः स्टीमेट बनाउने तयारी गरेपछि वडाध्यक्ष सुनार साविकको वडा नम्बर ७, ८ र ९ का अगुवासँग रिसाउँदै सिफारिस नदिने धम्की दिएका थिए । सडक कालोपत्रे ३.७५ मिटर भएमा एफगाउँसम्म पुग्ने नेकपाका नेता देवराम विसीले बताए ।

वडाध्यक्ष सुनारले भने सडकलाई ५.५ मिटर कालोपत्रे गरी डिगाउँमै सिमित गर्न खोजेको दावी गरिएको छ । उक्त सडकमा कालोपत्रेका लागि साविक ७, ८ र ९ का अगुवाले नेकपा सांसद नन्दलाल रोकायको घरमै धर्ना दिएका थिए । गाउँपालिकाले दुई करोड र निर्वाचन क्षेत्र पूर्वाधारको एक करोड वजेटमा सडक कालोपत्रे हुन लागेको हो ।

यसैगरी स्थानीयले सडक १२ मिटर चौडाईको कायम गर्नसमेत माग गरेका छन् । पार्वतीपुरका नेकपा नेता खड्ग वलीले स्थानीयले माग राखेकै आधारमा सिफारिस दिन्न भन्नु कानून विपरित भएको दाव गरे । वडाध्यक्ष सुनारले गत स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारका क्रममा ईगाउँमा वडा कार्यालय स्थापना गर्ने प्रतिवद्धता जनाएका थिए ।

निर्वाचन जितेपछि घर नजिकै भाँडामा वडा कार्यालय सञ्चालन गरेपछि वडाबासीहरु समस्यामा परेका छन् । एफ गाउँदेखि एक नम्बरसम्मका जनतालाई पायक पर्ने स्थानमा वडा कार्यालय हुनुपर्ने माग गरिएको नेकपा नेता विसीले बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार १४:४२