कञ्चनपुर । स्थानीय तहको बजेट र खर्च प्रक्रियाका बारेमा कञ्चनपुरका युवाहरुले चासो देखाएका छन् । स्थानीय तहमा सरकारले बजेट बनाउने र त्यसलाई खर्च गर्ने प्रक्रियाका बारेमा जानकारी तथा जनचासो वृद्धि गरी भ्रष्टाचार तथा अनियमितता हुन नदिनका लागि सञ्चालन गरिएको अभियान अन्तरगत युवाहरुले सो चासो देखाएका हुन् ।
पारस्परिक जवाफदेहिता कार्यक्रम अन्तरगत सञ्चार पैरवी गरिरहेको इक्वेल एक्सेसले आयोजना गरेको दुई दिने महोत्सवमा क्याम्पस तथा कुष्णपुर नगरपालिकामा रहेको साझा सभा र रेडियो श्रोताक्लवमा मेरो पालिका : मेरो चासो अभियान सञ्चालन गरेको हो । महेन्द्रनगरमा जारी कन्चनपुर पर्यटन महोत्सवमा मेरो पालिका : मेरो चासो अभियान अन्तरगत स्टलबाट चार सयभन्दा बढिले जानकारी प्राप्त गरेका छन् ।
बिहिबार र शुक्रबार महोत्सवमा पर्चा, पम्पलेट तथा सचेतनामुलक अडियो सामाग्रीको माध्यमबाट महोत्सवमा आएका व्यक्तिहरुलाई जानकारी दिइएको इक्वेल एक्सेसका आउटरिच एशोशिसयट भिमबहादुर सार्कीले जानकारी दिए । बिहिबार नै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु माझ पनि अभियानको बारेमा अभिमुखिकरण गरिएको इक्वेल एक्सेसका मिडिया आउटरिच म्यानेजर बिशाल रानामगरले जानकारी दिए ।
फोन, एसएमएस तथा सामाजिक सञ्चालनको प्रयोग गरि सहभागी हुन सकिने अभियानको अभिमुखिकरणमा विश्वविद्यालयमा अध्ययनरत ३४ जनाले सहभागीता जनाएको थिए भने एक दर्जनले प्रत्यक्षरुपमा अभियानमा सहभागीता जनाएका थिए । सञ्जीवनी नेपालसँगको सहकार्यमा आयोजना गरिउको अभियान अन्तरगत बिहिबार नै कृष्णपुर नगरपालिका १ मा रहेको साझा सभामा र शुक्रबार रेडियो श्रोता समुहमा मेरो पालिका : मेरो चासो अभियानका बारेमा अभिमुखिकरण गरिएको थियो । जसमा ६० जनाले अभियानको बारेमा जानकारी प्राप्त गरेका थिए ।
अभिमुखिकरणमा कृष्णपुर नगरपालिका वडा नं. १ का युवाहरुले आफ्नो वडामा भएको विकास निर्माणको कामको बजेटको पारदर्शितामा चासो देखाएका थिए । स्थानीय सरकारले स्वास्थ्य, शिक्षा, कृषिको क्षेत्रमा बजेट बनाई कार्यान्वयन भइरहेको भए पनि यसका बारेमा स्थानीयमा जानकारीको कमी रहेको बताएका थिए । शुक्रबार आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै स्थानीय संघर्ष रेडियो स्रोता समुहका सदस्य गयाप्रसाद चौधरीले स्थानीयतहमा सञ्चालन भएका विकास निर्माणका योजनाहरुको योजना सूचना पाटी नराखिएकोले सूचना पाउन असहज भएको बताए ।
योजनाहरु कार्यान्वयनपछि सार्वजनिक परिक्षण गरिनुपर्ने भए पनि त्यसबारे स्थानीय युवाहरुले कमै मात्रामा जानकारी पाउने गरेको चौधरीले बताए । कृष्णपुर १ मा गठन भएको स्थानीय सभाका संयोजक ढुण्डीराज भण्डारीले पनि योजना कार्यान्वयन गर्दा योजना सूचना पाटी तथा सार्वजनिक सुनुवाईका साथै सार्वजनिक परिक्षण प्रभावकारी नभएको बताए । नेपालका ३४ वटा जिल्लामा सञ्चालित मेरो पालिका : मेरो चासो अभियान युवाहरुलाई स्थानीय पालिकामा हुने बजेट निर्माण, कार्यान्वयन र पारदर्शितामा सहभागीता बढाई सुशासन अभिवृद्धि गर्न मद्दत गर्ने राना मगरले जानकारी दिए ।
सत्यपाटी - ।