सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा वातावरण सुधार अभियान

नीरज गौतम । नेपालगन्ज । नेपालगन्ज नेपालको सबैभन्दा बढी गर्मी हुनेका शहरका रूपमा परिचित छ । पछिल्लो समय विकास निर्माणको संरचना विस्तार हुने क्रमसँगै नेपालगन्जमा दिन प्रतिदिन तापक्रम पनि बढ्दै गएको छ ।

यही कुराको ज्ञान भएरै होला अहिले नेपालगन्जको तापक्रममा सन्तुलन कायम गर्न र वातावरण स्वच्छ बनाउन यहाँ हरियाली अभियान शुरु गरिएको छ । ‘आउँदो चार वर्षभित्र नेपालगन्जलाई हरियालीयुक्त शहरका रूपमा विकास गरिने अभियानको उद्देश्य छ,’ उपमहानगर प्रमुख डा धवलशम्शेर राणा भन्छन्, ‘सामाजिक संस्थाको सहयोग र सहकार्यमा नगरको टोलटोलका सडक किनारमा रुख रोपेका छौँ ।’

नेपालगन्जलाई हरियालीयुक्त शहर बनाउन उपमहानगरपालिकासँग थुप्रै चुनौती पनि छ । नगरका अधिकांश साँघुरा बस्तीमा रुख रोप्ने ठाउँ नै बाँकी नराखी बनाइएका सडक, नालाका कारण अभियानले सोचेजस्तो परिणाम दिनसक्ला जस्तो देखिँदैन । ‘हामी त्यसको पनि कुनै विकल्प खोज्छौँ, ठूलो रुखको सट्टा ससाना बोटबिरुवा त्यस्ता बस्तीमा लगाइने छ,’ नगर प्रमुख राणाको कथन छ ।

अभियानको शुरुआती चरणमा नेपालगन्ज, सुर्खेत सडकखण्डको राझादेखि जमुनहासम्म रुख रोपिएका छन् । त्यस कार्यमा नगरपालिकालाई नेपालगन्ज उद्योग वाणिज्य सङ्घ, ग्रिन नेपाल क्लिन नेपाल, बीगु्रप लगायतका संस्थाले सघाउँदै आएका छन् । बढ्दो शहरीकरण, जनसङ्ख्या वृद्धि, वातावरण प्रदूषण, रुख बिरुवाको जथाभावी कटान र सवारी साधनको धुवाँजस्ता कारण नेपालगन्जको तापक्रम वृद्धि हँुदै गएको छ ।

जसका कारण नेपालगन्जमा अत्याधिक गर्मी बढ्दै गएको अनुभूति गरिएको छ । ‘यिनै कुरालाई दृष्टिगत गरी नेपालगन्जको हरियाली अभियानमा नेपालगन्ज उद्योग वाणिज्य सङ्घले सघाएको हो । यसका लागि नगरपालिकालाई हामी सबैखाले सहयोग गर्न तयार छौं,’ सङ्घका अध्यक्ष नन्दलाल वैश्य बताउँछन् । उपमहानगरपालिकाले हरियाली अभियानअन्तर्गत एक घरले कम्तीमा एउटा रुख रोप्नुपर्ने अनिवार्य व्यवस्था पनि गरेको छ ।

तर घर निर्माण गर्ने क्रममा यो व्यवस्थालाई त्यति कडाइका साथ नगरपालिकाले पालना गराएको भने पाइँदैन । उपमहानगर प्रमुख राणा भन्छन्, ‘यसको हामीले सुक्ष्म अध्ययन गरिरहेका छौँ । जसले यसको पालना गर्दैन, उसलाई उपमहानगरपालिकाको सेवा सुविधाबाट वञ्चित गरिने छ ।’ हरियाली अभियानका साथसाथै नेपालगन्जमा ध्वनि निषेध गर्ने नीति पनि उपमहानगरपालिकाले तय गरेको छ ।

नगरमा गुड्ने सवारी साधनमा हर्न बजाउन निषेध गरिएको छ भने मन्दिर र मस्जिदमा प्रसारण गरिने लाउडस्पिरको प्रयोग नगर्न पनि सम्बद्ध पक्षसँग आग्रह गरिएको छ । विवाह, भोजभतेरमा अरुलाई प्रभाव गर्ने गरी डिजे बजाउन पनि जिल्ला प्रसाशन कार्यालयले रोक लगाएको छ । यो निर्णयलाई सघाउन यहाँका मुस्लिम धर्मगुरुको बैठकले मुस्लिम समुदायको विवाह र अन्य कार्यक्रममा डिजे प्रयोगमा पूर्ण प्रतिबन्ध नै लगाएको छ । त्यसको पूर्ण पालना पनि भएको छ ।

‘हामीले ध्वनि प्रदूषणलाई पनि प्रभावकारी वातावरण सुधारको एक महत्वपूर्ण कडीका रूपमा लिएका छौं,’ उपमहानगर प्रमुख राणाको भनाइ छ, ‘यसका लागि जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी कार्यालय, नेपालगन्ज उद्योग वाणिज्य सङ्घ, धार्मिक तथा सरोकारवाला सामाजिक संस्थालाई योजनाभित्र समेटिएको छ ।’ रासस

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार १४:०६