सूचनाको शक्ति - The Power Of Information

        

‘मधेश अलग राज्य’ अभियानबाट सिके राउत अलग

काठमाडौं । स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सिके राउत छुट्टै मधेश राज्य अभियानबाट अलग हुने भएका छन् । सरकारसँग गोप्य रुपमा वार्ता गरेका उनी अन्ततः नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता स्वीकार्न सहमत भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएको राजनीतिक एवं सुरक्षा स्रोतहरुले पुष्टि गरेका छन् । ‘अलग मधेश राज्यको माग गरिरहेका सिके राउतले सरकारसँग गोप्य रूपमा अखण्ड नेपाल स्वीकार्ने सहमति गरेका छन्,’ स्रोतले भन्यो, ‘त्यसका लागि १ बजे राष्ट्रिय सभागृहमा सार्वजनिक कार्यक्रमको आयोजना गरिँदैछ ।’

राउत अध्यक्ष रहेको स्वतन्त्र मधेस गठबन्धन समेत आजैबाट बिघटन हुने स्रोतले बतायो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ट्विट गर्दै १ बजे राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री ओलीको विशेष महत्वको विषयमा सम्बोधन रहेको जानकारी दिएका छन् । उनले के कार्यक्रम हो भन्ने खुलाएका छैनन् ।

तर सो कार्यक्रमलाई प्रधानमन्त्री ओली र राउतले संयुक्त रूपमा सम्बोधन गर्ने तयारी गरिएको छ । उनले ट्विट गर्दै भनेका छन्, ‘आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष महत्वको विषयमा सम्बोधन हुनुहुन्छ । प्रत्यक्ष प्रसारण गर्न इच्छुक मिडियालाई स्वागत गर्दछौं ।’

राउतले आफूसँग सम्पर्कमा रहेका सञ्चारकर्मीलाई मध्यान्ह १२ बजे राष्ट्रिय सभागृह आउन निम्ता गरेका छन् । राज्यविरुद्धको अभियोगमा थुनामा रहेका राउत बिहीबार सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए । जिल्ला अदालत गौरमा विचाराधीन मुद्दाको तारिख लिएर फर्कदै गर्दा असोज २१ गते प्रहरीले राउतलाई पक्राउ गरेको थियो ।

स्वतन्त्र मधेस राज्यको माग गर्दै तराइका जिल्लाहरूमा तालिम तथा संगठन बढाइरहेका बेला उनलाइ राज्यविरूद्धको अभियोगमा पक्राउ गरिएको थियो । बिहीबार सर्वाेच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र सम्शेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजालसले उनलाई थुना बाहिर रहेर मुद्दा पूर्पक्ष गराउन आदेश दिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार ११:२७