बाँके । बाँके प्रहरीले ३५ लाख ४४ हजार नगद रुपैयाँसहित दुई भारतीय नागरिकलाई नेपालगन्जबाट गरेको छ । भारतका ३० बर्षिय युवासहित एक १२ बर्षिय बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक दीपक मल्लले बताए ।
भारती बजार रुपैडियाबाट जमुनाहाका हुँदै नेपालगन्जस्थित टाँगा स्टेसन नजिक आएका ती दुई जनालाई बिशेष सुराकको आधारमा चेकजाँच गर्दा सो रकमसहित पक्राउ गरिएको प्रहरी निरिक्षक मल्लले जानकारी दिए । मल्लका अनुसार पक्राउ पर्नेमा ३० बर्षिय रविश पाठक र १२ बर्षिय छोटु तिवारी रहेका छन् ।
प्रहरी निरिक्षक मल्लकाअनुसार उनीहरू दुवै जनाले शरिरका विभिन्न भागमा मोजा, पकेट, ट्राउजर, अण्डरवियर, टिसर्ट, सटमा समेत टास्नुका साथै लुकाएर ल्याएको फेला परेको हो । प्रहरी निरिक्षक मल्लले उक्त रकम भारतबाट के कसरी आएको हो भन्नेबारे अनुसन्धानपछि खुल्ने बताएका छन् ।
भारतीय बजारमा नेपाली ग्राहकबाट जम्मा भएको उक्त रकम हुण्डी कारोबारीहरुले ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार नेपाली ग्राहकले सीमावर्ती भारतीय बजारमा किनमेल गर्दा बुझाएको रकम भारतीय व्यापारीहरुले अबैधरुपमा नेपालतर्फ ल्याउने गरेको यसअघि पनि खुलेको थियो ।
भारतबाट नेपाली रुपैयाँ यहाँ ल्याउने र यहाँबाट सुन वा हुण्डीमार्फत भारतमा नै पैसा ुक्तानी दिने व्यवस्थापन हुण्डी कारोबारीहरुले मिलाउँदै आएको खुल्न आएको छ । पक्राउ परेका दुवैजनाले नेपालगन्जमा रहेको एक कम्पनीलाई बुझाउनका लागि उक्त रकम ल्याएको बताएका छन् ।
प्रहरीले भने कुन कम्पनी हो भन्नेबारे उनीहरूले जानकारी नदिएको बताएको छ । प्रहरी निरिक्षक मल्लले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं, कसले, कसरी, किन उक्त रकम ल्याएको हो पत्ता लाग्ला । हामी भोलीनै यसबारे अनुसन्धान गर्छौ ।’
उनका अनुसार नेपाली कम्पनीले कारोबारवापत सहिरूपमा नै ल्याएको भए कम्पनी सञ्चालकलाई प्रमाणसहित उपस्थित हुनुपर्नेछ । उनले भने, ‘प्रमाण ल्याएर कम्पनीका सञ्चालक सम्पर्कमा आए बरामद गरिएको रकम नियम अनुसार फिर्ता हुन्छ ।’
प्रहरी निरिक्षक मल्लका अनुसार रकम कसरी आएको भन्ने नखुलेको अवस्थामा मुद्रा बिनिमय ऐन, सम्पति शुद्धीकरण वा राजश्व अनुसन्धान अन्तरगत कुन मुद्दा चल्ने हो सो अनुसार मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइनेछ ।
सत्यपाटी - ।