सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा मनाइयो विश्व वन्यजन्तु दिवस (फोटोफिचर)

बाँके । बाँकेको राप्तीसोनारीमा विश्व वन्यजन्तु दिवस तथा सामुदायमा आधारीत चोरीसिकार नियन्त्रण युवा जागरण राष्ट्रिय दिवस मनाइएको छ । ‘जलचर : प्रकृति र मावन जीवनको आधार’ भन्ने मुल नाराका साथ आज दिवस मनाइएको हो ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिकाकी उपप्रमुख धनीकुमारी खत्रीले जीवजन्तुको संरक्षणका लागि युवाहरुले मह्रत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइन् । साथै उनले प्राकृति सम्पदाको संरक्षणका लागि आमजनताको सकरात्मक सोचको विकास भएमा मात्र चोरी सिकार नियन्त्रण गर्न सकिने बताइन् ।

कार्यक्रममा बोल्दै बाँके राष्ट्रिय निकुञ्जका रेञ्जर पुरुषोत्तम वाग्लेले एक व्यक्ति र एकल सामुदायबाट संरक्षण सम्भव नभएकोले संरक्षणका लागि सबैले हातेमालो गर्नुपर्ने बताए । सामुदायमा आधारीत चोरी सिकार नियन्त्रण युवा जागरणका अध्यक्ष कृष्णलाल चौधरीले समाजमा रहेका यूवाहरुलाई वन्य जन्तु संरक्षणका लागि सकरात्मक सोचको विकास गराउन आवश्यक रहेको बताउँदै सबैको सहकार्यमा मात्र चोरीसिकार नियन्त्रण गर्न सकिने बताए ।

समुदायमा आधारीत चोरीसिकार नियन्त्रण युवा जागरण महादेवपुरीका अध्यक्ष कृष्ण केसी, वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष तुलाराम खत्री सामुदायिक वनका प्रतिनिधि लगायतले वन्यजन्तु चोरी सिकार नियन्त्रणका लागि केहि सुधार भइरहेको बताउँदै संरक्षणमा लागेका युवाहरुलाई राज्यले विशेषरुपमा हेर्न आग्रह गरेका छन् । कार्यक्रममा चोरीसिकार नियन्त्रण युवा जागरण सञ्जालमा आवद्ध युवाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतवार २०:१३