सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज महोत्सव : ११ वर्षमा पनि बनेन सभागृह

शंकरप्रसाद खनाल । बाँके । बहुद्देश्यीय सभागृह बनाउने अभियान थालेको ११ वर्षमा पनि नेपालगन्जमा कुनै पूर्वाधार निर्माणको काम हुन सकेको छैन । २०६४ भदौं ४ मा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष दामोदर आचार्यको कार्यकालमा कारकाँदोस्थित सडक डिभिजन कार्यालय परिसरमा बहुद्देश्यीय सभागृह निर्माण गर्न मन्त्रिपरिषद्को निर्णयबाट १० बिघा क्षेत्रफल जग्गा भोगाधिकारको अधिकार पाएको थियो । पाँच वर्षयता नेपालगन्ज उद्योग वाणिज्य संघले सभागृह निर्माणार्थ सहयोग भन्दै हरेक वर्ष मेला आयोजना गरिरहेको छ ।

तर अहिलेसम्म मेलाको नाममा डेढ करोड रुपैयाँ मात्र बचत भएको छ । पूर्वाधार निर्माणका कुनै पनि काम भएका छैनन् । सभागृहका परिकल्पनाकार आचार्य सुरुका दुईवटा मेला अरुकै जग्गामा आयोजना गरिँदा घाटा मात्र सहनुपरेकाले स्थायी रूपमा मेलास्थलको आवश्यकता देखेर जग्गा खोजिएको बताउँछन् । उनले भने, ‘हरेक वर्ष मेला पनि लगाउने र हिमाल, तराई र पहाडका लोपोन्मुख खाद्य वस्तुको प्रदर्शनी गर्ने उद्देश्य पनि सभागृह निर्माणसँग जोडिएको थियो । जग्गा उपलब्ध भयो । सुरुमा दाताको सहयोग खोज्दै मेरो कार्यकाल सकियो । त्यसपछि कुनै काम हुन सकेन ।’

संघको मेला शृंखला

संघले करिब २० वर्षको अवधिमा आठ पटक मेला लगाएको छ । संस्करणसम्म आइपुग्दा मेलाबाट हुने बचत अत्यन्तै न्यून छ । ०५७ सालमा अच्यूत प्रसाईको कार्यकालमा मेलाको थालनी भयो तर नाफा कमाउन सकेन । ०६० सालमा सतिश अग्रवालको पालामा आयोजना गरेको दोस्रो मेलामा ५० हजार बचत गर्यो । ०६४ सालमा दामोदर आचार्य नेतृत्वको तेस्रो मेला त घाटामा गयो । ०६८ सालमा सुनिलकुमार शर्माको कार्यकालमा साढे सात लाख रुपैयाँ नाफा भयो । ‘व्यापार संघले मात्र आयोजना गर्दा घाटा हुने ठानेर काठमाडौंबाट सह–आयोजना ल्याएको थिएँ ।

१५ लाख रुपैयाँ नाफा भयो । संघको भागमा साढे सात लाख र्पयो’, शर्माले ती दिन सम्झे । ०७० सालमा कृष्णप्रसाद श्रेष्ठले पहिलो पटक सभागृह सहयोगार्थ व्यानरमा मेला आयोजना गरे । उनले दुईपटक मेला आयोजना गरे । पहिलो कार्यकालमा ४५ र दोस्रो कार्यकालमा ४८ लाख रुपैयाँ गरी सभागृहका नाममा जम्मा भयो । ‘मैले एक करोड रुपैयाँ जम्मा गरेको छु,’ श्रेष्ठको दाबी छ । संघले अघिल्लो मेलाको हिसाब किताब नै सार्वजनिक नगरी दोस्रो पटक सभागृहका नाममा प्रादेशिक महोत्सव आयोजना गर्न लागेको भनेर आलोचना भइरहेको छ ।

संघका अध्यक्ष नन्दलाल वैश्य आफ्नो कार्यकालको पहिलो मेलाबाट ५९ लाख रुपैयाँ बचत भएको बताउँछन् । संघका कोषाध्यक्ष आदेश अग्रवालका अनुसार गत वर्षको मेलामा एक करोड ६२ लाख १८ हजार रुपैयाँ आम्दानी भएको थियो । एक करोड दुई लाख ८३ हजार रुपैयाँ खर्च कटाउँदा ५९ लाख ३३ हजार रुपैयाँ बचत भएकोमा चार–पाँच लाख रुपैयाँ उठाउन बाँकी रहेको उनी बताउँछन् । संघले यही १९ फागुनदेखि ८ औं प्रादेशिक महोत्सव लगाउँदै छ ।

संघका अध्यक्ष वैश्य भन्छन्, ‘यो वर्ष पनि कम्तीमा ५० लाख बचत हुने आशा छ । मेलाको हिसाब किताब पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छु । मेलाबाट बचेको रकमबाट सभागृहको पर्खाल लगाउन सुरु गर्छु ।’ नेपालगन्जमा जग्गा भएर पनि सभागृह निर्माण हुन नसकिरहेको बेला २८ माघमा सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले भने नेपालगन्ज–१४ मा ४५ करोड रुपैयाँको लागतमा अर्को सभागृहको शिलान्यास गरेका छन् । मन्त्रीले नेपालगन्ज सहरभन्दा निकै पर सभागृह निर्माण गर्नुलाई संघको वर्तमान कार्यसमितिले समन्वय गर्न नसकेको भनेर आलोचना भइरहेको छ ।

 

 

#अन्नपूर्ण पोष्ट

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतवार १४:४४