सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन, ८१ दर्ता सहयोगी खटिए, यसरी हुनुस् आवद्ध

बाँके । ४० औं जिल्लाका रुपमा बाँकेमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आएको छ । ‘तपाईको स्वास्थ्य, हाम्रो अठोट’ भन्ने नारासहित सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आएको हो ।

स्वास्थ्य बिमा कार्यक्रमका लागि बाँकेमा ८१ जना दर्ता सहयोगी खटाइएको स्वास्थ्य बिमा बोर्डका जिल्ला दर्ता अधिकारी प्रकाश थपलियाले जानकारी दिए । उनका स्वास्थ्य बीमा परिचय पत्र बनाएर सेवा प्रारम्भ गरिएको छ । प्रत्येक वडामार्फत नियुक्त गरिएका दर्ता सहयोगीहरुले घरदैलो गरेर सदस्यता दर्ता गर्नेछन् ।

२०७२ साल चैत्र २५ गतेदेखि कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको हो । बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबारे दर्ता सहयोगी, स्वाथ्यकर्मी लगायत सरोकारवाला सबैलाई अनुशिक्षण दिएर कार्यक्रम सुरु गरेको दर्ता अधिकारी थपलियाले जानकारी दिए ।

स्वास्थ्य बिमा कार्यक्रमअन्तरगत तोकिएको अस्पताल तथा स्वास्थ्य संस्थामा बहिरङ्ग सेवा, प्रयोगशाला, एक्सरे, इलेक्ट्रो कार्डियोग्राफी, डे«सिङ, घाउ चिरफार, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी, अकुपञ्चर, प्रजनन स्वास्थ्य सेवा तथा बाल स्वास्थ्य सेवाको प्याकेजको सीमासम्म निःशुल्क उपचार हुन्छ ।

यसका साथै मधुमेह, आँखा उपचार, अक्सिजन सेवा, प्रसूति, सर्जिकल वार्ड, मेडिकल वार्ड, कन्सल्टेन्सी सेवा, औषधि, दन्त उपचार सेवा, स्वास्थ्य जोखिम परीक्षण, क्यान्सर, मुटुरोग, मिर्गौला, स्पाइनल तथा हाड इन्जुरी, सिकलसेल एनेमिया, पार्किन्सन, दम, अल्जाइमर तथा डिमेन्सिया रोगको पनि निःशुल्क उपचार हुने बताइएको छ ।

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुने तरीका

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहने पाँच जना सदस्यसहितको परिवारले बीमा शुल्कवापत प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । अतिरिक्त सदस्यले ४२५ रुपैयाँका दरले शुल्क बुझाउनुपर्नेछ ।
बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीवीको रेखामुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था छ ।

बीमा गरेमा के कस्तो सेवा सुविधा पाइन्छ ?

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् । तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउनेछैन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।

के छ त स्वास्थ्य बीमा विधेयकमा ?

स्वास्थ्य सेवामा आम नागरिकको पहँुच सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा विधयेक ०७४ हालै तयार पारेको छ । यो विधयेक पारित भएमा विधेयक पारित भएको मितिले ९१ दिनबाट ऐनको रुपमा लागू हुनेछ । ऐनले प्रत्येक नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भई सेवा पाउने अधिकार सुनिश्चित गरेको छ ।

त्यस्तै, ऐनले नवजात शिशु, जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिलाई समेत समेटेको छ । जस अन्तरगत वृद्धाश्रम, अनाथालय, सुधार गृह लगायतका संरक्षित स्वास्थ्य संस्थामा आश्रय लिइरहेका व्यक्तिलाई सोही संस्थाले बीमा कार्यक्रममा आवद्ध गराउनु सोही संस्थाको दायित्व रहनेछ । वैदेशिक रोजगारीमा जान चाहनेले आफ्नो परिवारको अनिवार्य बीमा गराउनु तथा कुनै पनि संस्थाले त्यहाँ कार्यरत सबै कर्मचारीलाई स्वास्थ्य बीमा गराउनु उनीहरुको दायित्व हुनेछ ।

बीमा कार्यक्रममा आवद्ध हुने कुनै पनि व्यक्तिले योग,पोषण, शिक्ष लगायतका प्रवर्द्धनात्मक कार्यक्रम, खोप, सुरक्षित मातृत्व, वहिरंग सेवा, भर्ना उपचार, आकस्मिक, शल्यक्रिया, औषधि लगायतका उपचारात्मक सेवा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, बीमा कार्यक्रममा आवद्ध हुने सदस्यले हवाई एम्बुलेन्स बाहेकको एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने ऐनमा व्यवस्था छ । यस्तो सेवा विमित व्यक्ति आफूले मात्र लिन सक्ने ऐनमा उल्लेख छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतवार ११:३४