सूचनाको शक्ति - The Power Of Information

        

खेलाडी छनोटमा विवाद, तेक्वान्दो खेलाडी ‘रुष्ट’

आठौं राष्ट्रिय खेलकुद

सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्याललाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय तेक्वान्दो संघका पदाधिकारी ।


बाँके । नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुदको रमझम शुरु भइसकेको छ । आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीहरु जिल्ला हुँदै प्रदेशबाट छनौट भइरहेका छन् । यस्तो माहोलका बीच एकथरी तेक्वान्दो खेलाडी भने ‘रुष्ट’ भएका छन् । आठौं राष्ट्रिय खेलकुदलाई भनेर वर्षौदेखि ‘मेहनत’ गरेका राष्ट्रिय तेक्वान्दो संघमा आवद्ध खेलाडीहरु प्रतिस्पर्धाबाट बञ्चित हुने अवस्था आएको छ ।

नेपालमा राष्ट्रिय तेक्वान्दो संघ नेपाल र नेपाल तेक्वान्दो संघ छन् । यी दुइ संघका बीचमा विवाद रहेको छ । दुवैको अस्तित्व समान रहेकाले विवाद नमिलेसम्म दुवैलाई कुनै पनि छनौट प्रतियोगितामा सामेल नगराउन राखेपका सदस्य सचिव केशवकुमार विष्टले भनिसकेका छन् । विवाद मिलाउन राखेपका उपाध्यक्ष पितम्बर तिमिल्सिनाको संयोजकत्वमा समिति बनाइएको छ । त्यसले पनि प्रतिवेदन दिइसकेको छैन ।

यस्तो भइरहँदा बाँकेमा भने नेपाल तेक्वान्दो संघलाई मात्रै सामेल गराएर खेलाडी छनौट गरिएपछि राष्ट्रिय तेक्वान्दो संघ, नेपाल रुष्ट भएको हो । संघसँग आवद्ध पदाधिकारीले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । संघका अध्यक्ष दलबहादुर विकले सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्याललाई ज्ञापनपत्र दिदै दुवै संघको विवाद मिलाएर पुनः खेलाडी छनौट गर्न माग गरे। ज्ञापनपत्र बुझेपछि सहायक प्रजिअ अर्यालले यस सम्बन्धमा आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वलीको निर्देशनमा जिल्ला खेलकुद विकास समितिले एउटा संघलाई सामेल गराएर खेलाडी छनौट गरेको छ । जिल्लाबाट तेक्वान्दोका २२ जना खेलाडी छनौट हुनुपर्नेमा एउटा संघ सामेल नहुँदा १५ जनामात्रै खेलाडी छनौट गरिएको छ । पुनः छनौटको माग गर्दै आएको संघले तत्काल समस्या समाधान नभए आइतबार अदालतमा रिट दायर गर्ने तयारी गरेको छ ।

क्षेत्रीय अध्यक्ष वलीले सार्वजनिक रुपमा आव्हान गर्दा फाराम भरेका खेलाडी छनौट भएको बताए । नेपालगन्जलाई केन्द्रविन्दुमा राखेर आठौं राष्ट्रिय खेलकुद हने भएपछि यहाँका सबै उत्साहित र हर्षित भएको बेलामा एकथरी तेक्वान्दो प्रशिक्षकहरु आफ्ना खेलाडीले पनि प्रतिस्पर्धा गर्न पाउनुपर्ने भन्दै अड्डा, अदालत धाइरहेका छन् । संघका जिल्ला अध्यक्ष विकले आफ्ना मागहरु सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार १२:१२