सूचनाको शक्ति - The Power Of Information

        

विकास भनेकै बाटो

नवीन नेपाली । नारायणपुर । दाङकै विकट गाउँपालिका बंगलाचुली २ टाकुराका स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तुहरु बजारबाट बोकेरै ल्याउनुपथ्र्यो । गाउँका बिरामीलाई समेत बोकेर ल्याउने लैजाने गर्नुपर्ने समस्याबाट पीडित थिए टाकुरावासी । तर, स्थानीय सरकार गठन भएपछि पहिलो प्राथमिकता सडक निर्माणले पायो ।

अहिले टाकुरा गाउँमा पहिलो पटक गाडी पुगेको छ । घोराही स्यूजा सडक खण्डको पुरुङछेडाबाट करीब पाँच किलोमिटर सडक बनाई टाकुरा गाउँको जेमुरेसम्म सडक पुगेको गाउँपालिकाका सदस्य भीमकुमार बुढाले जानकारी दिनुभयो । गाडी पुगेपछि अब त्यहाँका नागरिकलाई घोराही आउन जान, गाउँमा उत्पादित वस्तु बिक्रीका लागि बोकेर बजार ल्याउनुपर्ने बाध्यता हटेको छ ।

‘घोराहीको नजीकै भए पनि अहिलेसम्म गाउँमा गाडी आएको थिएन,’ उनले भने, ‘तर अहिले स्थानीय सरकार आएपछि गाउँमा बस आयो, खुशीले गद्गद् छौं ।’ जिल्लाका सबै स्थानीय सरकारहरुले विकासको पहिलो आधार सडक सञ्जाल बनाएपछि अहिले गाउँगाउँमा सडक पुर्याउने काम भैरहेको छ ।

दाङको राजपुर गाउँपालिकामा अहिलेसम्म कालोपत्रे सडक छैन । दाङकै सबैभन्दा ठूलो र विकट राजपुरले जग्रवादेखि खंग्रानाका १९ किलोमिटर र सुनपत्रीदेखि सुनपत्रीनाका २१ किलोमिटर सडकको ट्र्याक खोलिसकेको छ । भारतसँग जोडिएका २३ वटा नाकाहरु छन् जसलाई नेपालसँग प्रत्यक्ष रुपमा जोड्नै पर्ने गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए ।

‘समग्र बजेटमध्ये ५५ प्रतिशत पूर्वाधारमा छुट्याइएको छ, त्यसमध्ये पनि २० प्रतिशत बजेट नाकासँग जोड्ने सडकका लागि छुट्याइएको छ,’ अध्यक्ष केसीले भने, ‘अन्य बजेट गाउँपालिकाको विभिन्न स्थानमा सडक निर्माण, स्तरोन्नतिका लागि खर्च हुनेछ ।’ यता, बंगलाचुली गाउँपालिकामा पनि अझै कालोपत्रे सडक बनेको छैन । धुले सडकले काम चलेको छ ।

सिङ्गो गाउँपालिकामा २० वटा भन्दा बढी गाउँबस्तीमा अझै मोटरबाटो पुगेको छैन । ‘बाटो नहुँदै अन्य विकास पुर्याउन समस्या हुने रहेछ, विकासको आधार नै सडक रहेछ भन्ने हामीले महशुस गरेका छौँ,’ बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले भने । दाङको तुलसीपुर उपमहानगरपालिका १३ फुलबारी र लमही नगरपालिका ९ लाई जोड्ने सडक निर्माणको काम पनि शुरु भएको छ ।

यो वर्ष १२ किलोमिटर खनिएको सडकको पूर्व पश्चिम राजमार्गसँग जोड्न पाँच किलोमिटर बाँकी छ । तुलसीपुर–अमेलिया र घोराही–लमही सडक बनेपछि त्यो सडक गोरेटोमा परिणत भएको थियो । तर अब यो सडक राजमार्गमा पुग्ने सबैभन्दा छोटो हुने सडक हुनेछ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत दाङ क्षेत्र नं ३ का सांसद हीराचन्द केसीबाट सडकका लागि २५ लाख बजेट विनियोजन भएको थियो ।

त्यो रकममार्फत फुलबारीको कुट्टीबाट ट्र्याक खोल्ने काम भएको स्थानीयवासी मोहन पौडेलले बताए । ‘प्रदेश र केन्द्र सरकारसँग बाँकी भागको ट््याक खोल्न पहल गरिरहेको छु,’ सांसद केसीले भने, ‘संभवत यो वर्षमा रार्जमार्ग जोड्ने काम हुनेछ ।’ सडक निर्माण हुन थालेपछि त्यस क्षेत्रका स्थानीयवासी खुशी भएका छन् । ‘यो सडकले धेरैलाई प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ,’ जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले भने, ‘बाँकी भागको ट्र्याक खोल्न हामीले पनि सरकारसँग समन्वय गर्ने छौं ।”

उपमहानगरमै छैन सडक सञ्जाल

एक–दुई वटा वडा क्षेत्रबाहेक प्रायः गाउँवस्तीले बनेको घोराही र तुलसीपुर उपमहानगरपालिकामा अझै मोटरबाटो नपुगेका धेरै क्षेत्रहरु छन् । बजार क्षेत्र बाहेक ग्रामीण भेगमा कहीँ कतै मात्र कालोपत्रे सडक छ । त्यस बाहेक धेरैजसो गाउँ धुले सडकमा रमाइरहेका छन् । तुलसीपुरको वडा नंं ४ को खुमखानी, वडा नं १९ को छिल्लीकोट माथिको गाउँका साथै वडा नं १ र १३ मा पर्ने पहाडी गाउँमा अझै जनताको पहुँच पुग्ने गरी सडक सञ्जाल नपुगेको इन्जिनीयर पवन योगीले बताए ।

यता, घोराही उपमहानगरपालिकाको वडा नंं ५ को रज्जामन्नामे, वडा नंं. १९ का केही वस्ती, वडा नं १ को सुकाखोलादेखि चाक्लीघाटसहितका केही गाउँमा अझै सडक पुगेको छैन । तुलसीपुर उपमहानगरपालिकाको कार्यालयका अनुसार अहिले १२० किलोमिटर सडक कालोपत्र भएको छ भने करीव ८०० किलोमिटर धुले सडक छ ।

तुलसीपुर उपमहानगरपालिकाले पनि रु १२ करोड बजेट सडक निर्माण तथा विस्तारकै लागि छुट्याएको छ । ‘सडकको निर्माण कहिले पनि रोकिने विषय हैन, धुलेबाट ग्राभेल, कालोपत्रे हुँदै सुविधासम्पन्न सडक बनाउने क्रम चलिरहन्छ,’ इन्जिनीयर योगीले भने । घोराही उपमहानगरपालिकाले प्रत्येक वडामा रु. ६० लाखको दरले बजेट छुट्याएको छ ।

उन्नाइस वटा वडाका लागि रु एक करोड १४ लाखको बजेट विशुद्ध सडकका लागि हो भने उपमहानगरपालिकाको साढे छ करोडको बजेट छुट्टै छ । ‘सडकको स्तर हेरेर पनि विकास र समृद्धिको मापन हुने रहेछ, विकासको पहिलो मापदण्ड सडक भएकाले पनि अहिले स्थानीय सरकारहरु सडकमा बढी लगानी गर्न खोजिरहेका छन्,’ घोराही उपमहानगरपालिकाका इन्जिनीयर रामधन श्रेष्ठले भने, ‘सडकको कार्य देखिने काम पनि हो ।’

प्रदेशको प्राथमिकतामा दाङका सडक

दाङ उपत्यकाको प्रवेशद्वार कुहिरेपानीदेखि सिधा सर्रा जोड्ने बाइपास सडक निर्माणका लागि प्रदेश सरकारले दश करोड रुपैयाँ बजेट छुट्याएको छ । सडकको स्तरोन्नति गर्दै कालोपत्र गर्न चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले दश करोड बजेट छु्ट्याउँदै कुहिरेपानी सर्रा सडक खण्डलाई आफ्नो मातहतमा ल्याएको हो । प्रदेश सरकारले यो सडकलाई विशेष प्राथमिकतामा पारेको प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले बताए ।

लामो समयदेखि सामान्य ट्र्याक खोलिएको अवस्थामा रहेको यो सडकको स्तरोन्नति गर्दै कालोपत्र गर्न गत आर्थिक वर्षदेखि नै काम थालिएको हो । गत आर्थिक वर्षमा यो सडकमा ९३ लाख रुपैयाँ खर्च गरिएको थियो । अठार मिटर चौडा बनाइएको यो सडकको ट्र्याक खोल्ने काम सकिएको छ भने यो आर्थिक वर्षमा कालोपत्र गर्ने काम हुनेछ । यो सडकलाई हालको कुहिरेपानी–गोग्ली–घोराही सडक खण्डको बाइपास सडक तथा वैकल्पिक सडकको रुपमा हेरिएको छ ।

यसको लम्बाइ ८ किलोमिटर मात्रै रहेको घोराही उपमहानगरपालिकाका इन्जिनियर श्रेष्ठले बताउनुभयो । घोराही उपमहानगरपालिकाको वडा नं ३, १६ र १७ लाई छोएको यो सडकले घोराही क्षेत्रमा हुने सवारी आवागमनलाई खुकुलो पार्न, सवारी दुर्घटना न्यून गर्न पनि सहयोग पु¥याउने विश्वास गरिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्राथमिकतामा पारेको अर्को सडक हो गरगरियादेखि उरहरी हुँदै सुकौरा जोड्ने सडक ।

यो सडकको स्तरोन्नतिका लागि पाँच करोड रुपैयाँ बजेट छुट््याइएको प्रदेशका मुख्यमन्त्री पोख्रेलले बताउनुभयो । यी बाहेक प्रदेश सरकारले ४ वटा दाङका सडकलाई प्राथमिकतामा पारेको छ । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले दाङका अन्य चार वटा सडकको स्तरोन्नति गर्न दुई करोडका दरले बजेट विनियोजन गरेको छ ।
दुधरास सक्राम हुँदै छिल्लीकोट सडकलाई कालोपत्र गर्ने, बिजौरीदेखि हाडिमे हुँदै छिल्लीकोट सडकलाई कालोपत्र गर्ने, घोराही मसिनादेखि मरपेश पाखापानी हुँदै उर्जा मन्दिर र त्यसलाई स्वर्गद्वारी जोड्ने सडक र मज्गै अवल डाँडादेखि हापुर खोलाको करिडोर मार्गलाई पनि प्रदेश सरकारले आफ्नो योजनामा राखेको छ । रासस

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार ११:२९