सूचनाको शक्ति - The Power Of Information

        

पोखराबाट उदाएका ‘सेलिब्रेटी’ नेताको अन्त्य

पछिल्लो समय केही आरोपको चक्रब्यूहमा घेरिँदा पनि उनी त्यसलाई तोड्न र काम गरेरै देखाउन क्रियाशिल थिए। तर, दैव पनि रिस गर्छ कि के हो? उनको क्रियाशिलतालाई पूर्णविराम लगाइदियो।

वाशुदेव मिश्र । पोखरा, १५ फागुन
मिति : ९ फागुन २०७५
स्थान : पोखरा सभागृहको आँगन
सन्दर्भ : नेपाल पत्रकार महासंघको विधान अधिवेशन

पर्यटनमन्त्री रवीन्द्र अधिकारी उही हाउभाउ र उस्तै सहृदयताका साथ पोखरा सभागृह परिसरमा झुल्किए । सभामुख कृष्णबहादुर महरासँगैको कुर्सीमा बसे । हामी बगलमै टहलिँदै थियौँ । पत्रकार मित्र केशवशरण लामिछानेले उत्साही हुँदै भने, ‘हामी पनि दर्शनभेट गरौँ न, माननीय पर्यटनमन्त्रीको ।’

मित्र केशवसँगै हामी पर्यटनमन्त्री रवीन्द्रको नजिक पुग्यौँ र नमस्कार गर्यौं । पर्यटनमन्त्री रवीन्द्र स्वभाविक पारामा मुस्कुराए र हातको इसारासँगै मुखैले सोधे, ‘ठीक छ ?’ मैले भनेँ, ‘सबै ठीक छ ।’ संक्षिप्त तर दोहोरो कुराकानी त्यति नै हो, युवानेता रवीन्द्रसँग मेरो । म यतिबेला त्यो क्षणमा किन लामो कुराकानी गरिएन, किन उनको नजिक गइन भन्ने घोर पश्चाताप र शोकमा छु ।

म पोखराको पृथ्वीनारायण कलेजको विद्यार्थी बन्दा उनी त्रिभुवन विश्वविद्यालय पुगिसकेका थिए । तर, उनको चर्चा र आभाले पृथ्वीनारायण क्याम्पसलाई छाडेकै थिएन । नेताको रुपमा उनले सार्वजनिक यातायातमा ३३ प्रतिशत भाडा छुटलगायतका मुद्दा उठाएर गरेका आन्दोलनले म उनीप्रति आकर्षित थिएँ नै । प्रविण गुरुङ हत्याकाण्डमा तत्कालीन शाहज्यादा पारसविरुद्ध ५ लाख हस्ताक्षर संकलन गरी तत्कालीन राजा वीरेन्द्रलाई बुझाएकाले पनि उनी हाम्रा लागि ‘सेलिब्रेटी’ थिए ।

कालान्तरमा उनी विद्यार्थी राजनीति छाडेर पोखरा फर्के । म संयोगले पत्रकारितामा । एमाले फुट्दा मालेतिर लागेका उनीप्रति कास्की त्यति ‘सहिष्णु’ थिएन तर उनको आभा र व्यक्तित्वलाई रोक्न पनि सजिलोचाहिँ थिएन । २०६९ सालमा उनी एमाले कास्कीका सचिवमा चुनिए । तर, ७२ दिनमात्र उनी सचिवको रुपमा बस्न पाए । उनलाई तत्कालीन एमालेको बैठकबाट हटाइयो । २५ सदस्यीय जिल्ला कमिटीमा उनको पक्षमा २ जना मात्र देखिए । एमाले जिल्ला कमिटीले गरेको निर्णय विधान विपरित थियो । त्यसको उजुरी अञ्चल कमिटीमा पुग्यो । रवीन्द्र स्वयंले पार्टीका तत्कालीन महासचिव माधव नेपाललाई यो घटनाबारे जानकारी गराए ।

यो २०६० साल साउनको कुरा हो । म यहाँबाट प्रकाशित पोखरापत्र दैनिकमा संवाददाता थिएँ । मैले जिल्ला कमिटीले गरेको निर्णय उल्टने सम्भावना भएको सुईंको पाएँ । त्यो सुईंको रवीन्द्रलाई औधी मनपराउने तत्कालीन विद्यार्थी नेताहरुले नै दिएका थिए (ती साथीहरु अहिले पनि सक्रिय राजनीतिमा भएकोले नाम चाहिँ नलिऊँ) । २०६० साल साउन २१ गतेको पोखरापत्रमा त्यो न्यूज ‘ब्रेक’ भयो । न्यूज ब्रेक गर्न मैले सबैजसो स्रोतहरु प्रयोग गरेको थिएँ ।

रवीन्द्रसँग रेडियोमै हुँदादेखि भएको चिनजान बढी नै झ्याङ्गिएको थियो । उनी मसँग पार्टीभित्रका अन्तरविरोधबारे खुलेर कुरा गर्थे । केही नेताहरुले आफूलाई देखिनसहेको पनि बताउँथे । एमालेको विधानले काम गर्यो कि मेरो समाचारले, अन्यायपूर्ण तरिकाले पार्टी सचिवबाट हटाइएका रवीन्द्र पुनः सचिव बने । खासमा एमालेको सातौँ महाधिवेशनले पारित गरेको विधानको धारा ६० को उपधारा ९ मा ‘जिल्ला सचिवलाई हटाउँदा माथिल्लो कमिटीको सहमति आवश्यक’ थियो ।

तत्कालीन गण्डकी इन्चार्ज र सह–इन्चार्ज रहेका त्रिलोचन ढकाल र तुलबहादुर गुरुङ पनि कास्की पार्टीको ७ औँ बैठकमा बसेको दावी गर्दै रवीन्द्रलाई सचिवमा नल्याउने खेल पनि भयो । तर, अल्पमतमा हुनासाथ सचिव हटाउँदा स्याङ्जा, तनहुँ र गोर्खामा पनि प्रभाव पार्ने देखेर विधानत् रवीन्द्र सचिवमा पुर्नबहाली भए । तत्कालीन एमालेको संगठनमा पकड नभएका तर ‘असाध्यै लोकप्रिय’ रवीन्द्र सचिवमा बहाल भए पनि त्यो पदमा लामो समय बसेनन् ।

उनले पद छाडे । संगठनभित्र पकड बढाउँदै लगे । एउटा पक्षले पेल्ने, त्यसको प्रतिवाद गर्दै अगाडि बढ्ने उनको रणनीतिले काम गर्यो । विश्वास पनि आर्जन हुँदै गयो । त्यसकै प्रभावमा उनले आफूलाई परिष्कृत गर्दै गए । राजाले शासन हातमा लिएपछि प्रखर वक्ता रवीन्द्र झन् लोकप्रिय भए । आन्दोलनको मोर्चामा उभिने र जनमत तान्न सक्ने कलाले उनलाई स्थापित गर्यो । २०६४ सालमा यही लोकप्रियताले उनी संविधानसभा सदस्य उम्मेदार बन्न पाए । कास्की क्षेत्र नम्बर ३ बाट उनी सजिलै विजयी भए । संविधानसभामा उनको भूमिकाको प्रशंसापछि उनी दोस्रो संविधानसभामा पनि उम्मेदवारको रुपमा उभिए । लोकप्रिय रवीन्द्र पुनः सहजै विजयी भए ।

पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा उनले त्रिभुवन विश्वविद्यालयमा आफूभन्दा अगाडि स्वतन्त्र विद्यार्थी युनियन सभापति बनेका देवराज चालिसेलाई प्रतिष्पर्धी भेटे । सो निर्वाचनमा उनले चालिसेलाई साढे ८ हजार मतले पछाडि पारे । कास्की क्षेत्र नम्बर २ को निर्वाचनको अन्तिम परिणाम अनुसार रवीन्द्रको पक्षमा २७,२७७ देवराजको पक्षमा १८,६६१ मत प्राप्त भएको थियो । विजयपछिको भेटमा एकदिन बसेर लामो कुरा गर्नुछ भन्थे । तर, व्यस्तताले त्यो सम्भव भएन र मलाई थाहा छ, अब कहिल्यै हुनेछैन ।

कस्ता थिए त रवीन्द्र ?

रवीन्द्र शालीन एवं चतुर थिए । प्रतिष्पर्धीलाई सम्मान गर्न सक्नु र आलोचनाबीचमा पनि सम्भावना खोज्नु उनको खुवी थियो । उनीसँग ३० वर्ष लामो संगत गरेका स्याङ्जा आँधिखोला गाउँपालिकाका अध्यक्ष सुधीर पौडेलले भक्कानिँदै भने, ‘के कुरा गर्नु, कतिपटक झगडा गरियो, कतिपटक के के भनियो पनि तर हामीबीचको आत्मियताबारे म बोल्न सक्दिनँ ।’ टेलिफोनमा कुरा गरिरहँदा उनी बीचमै रोकिए, भक्कानिए अनि फेरि डाँको छाडे ।

समाचार लेख्ने क्रममा सधैँ उनको प्रशंसा गरिएन । तर, उनी संभावनायुक्त नेता थिए । उनीसँग देश सम्वृद्धिको योजना थियो, त्यो योजना बुझाउने कला थियो अनि युद्धगतिमा काम गर्ने ताकत पनि थियो । मान्छेका रुपमा उनीसँग पनि पक्कै केही दुर्गुणहरु थिए नै । तर, ती सबै पाच्य थिए । उनी वौद्धिक थिए, ‘मिडिया फ्रेण्डली’ थिए अनि सबैसँग आत्मियता साट्न माहिर थिए । राजनीतिज्ञमा हुनुपर्ने धेरै गुण उनीसँग थिए ।

पछिल्लो समय केही आरोपको चक्रब्यूहमा घेरिँदा पनि उनी त्यसलाई तोड्न र काम गरेरै देखाउन क्रियाशिल थिए । त्यही क्रियाशिलताले उनलाई ताप्लेजुङ पुर्याएको थियो । तर, दैव पनि रिस गर्छ कि के हो ? उनको क्रियाशिलतालाई पूर्णविराम लगाइदियो । उनी नआउने गरी बिदा भए । अब पत्रकारको रुपमा मैले उनीसँग प्रश्न गर्न वा आत्मियता साट्न पाउने छैन । अहिले लेखिरहँदा पनि मैले मेरो प्रिय साथी सुधीरको डाँको सुन्दैछु । देशभर यस्तो डाँको हाल्दै अलाप्नेहरु कति होलान् ?

अलबिदा नेता रवीन्द्र !

 

#नेपालखबर

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार १२:४८