सूचनाको शक्ति - The Power Of Information

        

चुहानडाँडामा पर्यटनमन्त्री अधिकारीको भाषण जीवनकै अन्तिम बन्यो


काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी तेह्रथुमको चुहानडाँडामा विमानस्थलको अध्ययन गर्न ६ सदस्यीय टोली सहित पुगेका थिए । तर त्यो टोली काठमाडौं फर्किन सकेन, त्यही यात्रामा जीवनमा पूर्णविराम लाग्यो । प्रधानमन्त्री केपी ओलीको जन्मथलोसमेत रहेको चुहानडाँडामा विमानस्थल अध्ययन गर्न प्रधानमन्त्रीकै निर्देशनमा प्रधानमन्त्री कार्यालयका सदस्य समेत टोलीमा सामेल थिए ।

मन्त्री अधिकारीले यो कुरा चुहानडाँडामा निरीक्षण गरेपछि पनि भनेका थिए । उनले यो ठाउँमा विमानस्थल प्रधानमन्त्रीको गाउँ भएर मात्रै होइन स्थानीयको आवश्यकता र भूगोल पनि उचित भएको बताए । साथै विमानस्थल तत्कालै अगाडि बढाउने प्रतिवद्धता पनि जनाए । तर प्रतिवद्धता प्रधानमन्त्रीलाई सुनाउन नपाई अधिकारीले सधैंका लागि विदा लिए । चुहानडाँडामा मन्त्री अधिकारीले गरेको भाषण यस्तो छ जुन भाषण उनको जीवनकै अन्तिम भाषण बन्यो :–

अहिले हामी एयरपोर्टको सन्दर्भ चलाउन हैन कि, एयरपोर्ट बनाउने हिसाबले हेर्न आएका छौँ । अनि यहाँको अवस्थालाई बुझ्न आएका छौँ । मेरो साथमा चुहानडाँडा एयरपोर्टको नक्सा, स्टिमेट, डिजाइन सबै छ । अहिले हाम्रो स्टिमेट अनुसार ८७ करोड खर्च हुने अवस्था छ, यहाँ एयरपोर्ट निर्माण गर्नका लागि । म यति बेला दुई वटा सन्दर्भ मात्र बताउन चाहान्छु । एउटा वर्तमान सरकार बनिसकेपछि मुलुकको आर्थिक विकास र समृद्धिको यात्रा । यो अभियानलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहनु भएको छ ।

हामी त मन्त्री मण्डलमा उहाँको नेतृत्वमा काम गरिरहेका छौँ । यो ठाउँ उहाँको जन्मस्थल भएका कारण मात्र होइन, यस क्षेत्रको उपयुक्त ठाउँ भएका कारणले हामीले यो एयरपोर्ट बनाउने सन्दर्भमा छलफल गर्यौं । सम्माननीय प्रधानमन्त्रीज्यूले हामीलाई भन्नु भो, ‘यसको बारेमा के कस्तो लाग्छ सबै कुराको डिटेल अध्ययन गर्नुहोस् ।’ अघिल्लो अध्ययनका आधारमा हामीले फेरि अध्ययन गर्यौं । र अध्ययन गर्दा खेरी आज हामी नक्सा र सबैसहित एउटा अध्ययन पुरा गरिसकेर सम्माननीय प्रधानमन्त्रीज्यूले अध्ययन गरिसकेपछि अब अरु होईन पर्यटन मन्त्री आफैं गएर चुहानडाँडा हेरेर आउनुस् भन्नुभयो ।

आज हामी यो ठाउँको स्थलगत अध्ययन गर्नको लागि आएका छौँ । स्थलगत अध्ययन यत्तिकै हेर्दा पनि अरु अध्ययनले त बताइरहेको छ । यहाँ एयरपोर्ट बनाउनको लागि उपयुक्त ठाउँ छ किनकि, यहाँ केही कुराले पनि छेक्दैन, यस्तो ठाउँ भएको हुनाले सबै हिसाबबाट यो उपयुक्त हुन्छ भन्ने हामीले ठानेका छौँ । यसै सन्दर्भमा म तपाईहरुलाई प्रधानमन्त्री ज्यूको सन्देश पनि भन्न चाहन्छु कि, सरकार यो ठाउँमा एयरपोर्ट बनाउनका लागि प्रतिवद्ध छ । त्यस कारणले हामी यसलाई अगाडि बढाउनको लागि तपाईहरुको बिच पुगेका छौँ । तपाईहरुको साथ छ, हामी सबै मिलेर यो कामलाई अगाडि बढाउने छौँ ।

दोश्रो कुरा पानी परेको छ । मौसम खराब भएको छ हामी फेरि फर्किनु पर्ने छ । सरकार अहिले आफ्ना कामहरु अगाडि बढाइरहेको छ । सधै अस्थिरताबाट फाइदा लिएकाहरु, मुलुकको अव्यवस्थाबाट फाइदा लिएकाहरु, मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि बढ्न नदिनेहरु आत्तिएका छन् । केही भएन, केही भएन भनेर कराइरहेका छन् । तर म भन्न चाहान्छु अहिले वर्तमान सरकार बनेपछि मुलुकको आर्थिक विकास र समृद्धिको यात्रा अगाडि बढेको छ । उल्लेख्य काम भएका छन् । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तीन वटै सरकारको समन्वय छ ।

यी तीन वटै सरकार जनताले निर्वाचित गरेका सरकार हुन् । यी सरकारले राष्ट्र र जनताको हितका लागि कम गरिहेका छन् । परिणामहरु देखिरहेका छन् । हामीले अझै प्रभावकारी ढंगले काम गर्नुपर्नेछ । यस कारण म के भन्न चाहान्छु भने काम भएको छैन केही भएको छैन भन्ने हल्ला गर्नेहरु छन् । म यति भन्न चाहान्छु उनीहरु किन हल्ला गरिरहेका छन्, यो सरकारले काम गरिरहेको छ । त्यसकारण उनीहरु अफबाह फैलाउनका लागि हल्ला गरिरहेका छन् । त्यसकारण भ्रम भन्न चाहान्छु कि, यस ठाउँमा मध्य पहाडि राजमार्गको प्रभावकारी ढंगले काम भइरहेको छ ।

हामी यहाँ एयरपोर्ट बनाउँदै छौँ । देशभरका एयरपोर्ट सुधार गर्दैछौँ । अन्र्तराष्ट्रिय विमानस्थल निमार्ण गर्दैछौँ । यो सँगसँगै प्रदेशका ठुलठुला रोजगारी विद्युत, आर्थिक विकास आदि सबै क्षेत्रमा काम बढाएको छ । त्यसैगरी शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम अगाडि बढाएको छ । अब मुलुकको आर्थिक विकास र समृद्धिलाई कसैले रोक्न सक्दैन । कसैले अवरोध गर्न सक्दैन । कसैका गफले रोक्न सक्दैन । यो विषयमा हामी अगाडि बढ्छौँ । यो सरकारको सन्देश हो । यो सरकारको प्रतिबद्धता हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार ०७:४०